हिल्दुम गाउँका किसान तरकारी खेतीमा आकर्षित

प्लाष्टिकको घर(ग्रीनहाउस)मा तरकारी टिप्दै कृषक । तस्बिरः दाने बोहरा/हिटा

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 6 mins

हुम्ला । हुम्लाको सिमकोट गाउँपाकिा-४ हिल्दुम गाउँका पुरै किसान यतिबेला तरकारी खेतीमा व्यस्त छन् । ५६ घरधुरी रहेको हिल्दुम गाउँका किसानले केही वर्ष यतादेखि गाउँमै तरकारी राम्रो फलाउँदै आएका छन् ।

सुरु सुरुमा गाउँका एक, दुई जना किसानले प्लाष्टिकको घर (ग्रीनहाउस) निर्माण गरी तरकारी खेती गर्दै आएका थिए । भने पछिल्ला केही वर्षहरुमा पुरै गाउँ नै तरकारी खेतीमा आर्कषित भएर राम्रो उत्पादन गर्दै आएको गुणनेवर इन्टरनेसनलका कृषि प्राविधिक जङ्ग बहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले आफ्नो संस्थाले नौ जना हिल्दुम गाउँका किसानलाई तरकारी खेतीका लागि प्लाष्टिक, हजारी, रबरको पाइप र तरकारीकाे विउ सहयोग गरेको छ ।” हिल्दुम गाउँका किसानलाई विस्तारै तरकारीमा आत्मनिर्भर बनाउने तर्फ आफु लागेकाे शाहीले बताउनुभयो ।” व्यवसायिक कृषि अँगालेका किसान मेहनत अनुसारको कमाइबाट सन्तुष्ट छन् । कृषि गर्नेमा अधिकांश पाका उमेरका छन् । बेलाबखत पाइने तालीम, अनुदान र उपकरण सहयोगले पनि किसानलाई तरकारी खेतीमा प्रोत्साहन मिल्ने गरेको शाहीले बताउनुभयो ।

हिल्दुम गाउँमा उत्पादित तरकारी खपत हुने मुख्य बजार सदरमुकाम सिमकोट हो । तरकारीसँगै अन्नबाली, खेत खनजोत, गाइवस्तु, र मौरीपालनमा समेत किसान व्यस्त छन् । तरकारी खेतीबाट आफ्नो परिवारको जीविका चलेको स्थानीय महिला धुनसुबा सुनारले बताउनुभयो । तरकारीमा साग, काउली, बन्दा, धनीयालगायत उत्पादन गर्दै आएको सुनारले जानकारी दिनुभयो । कृषक सुनारले भन्नुभयो, “एक डाेको साग र धनीयाँ सदरमुकाम सिमकोटमा विक्री भयो भने रु १२ सय देखि १५ सय सम्म आम्दानी हुने गर्दछ ।” दैनिक विक्री गर्न पाए आम्दानी राम्रो हुने सुनारको भनाई छ ।” तर हप्ताको तीन,चार दिन तरकारी विक्री गर्न सदरमुकाम सिमकोट पुग्ने गरेको उहाँले बताउनुभयो ।” बालबच्चाको कापी कलमदेखि घरमा नुन, तेल किन्न पुगेको सुनारले बताउनुभयो । उसो त तरकारी खेती गर्दा रोग लागेमा स्थानीय प्रविधिबाट औषधि बनाएर रोग नियन्त्रण गर्ने गरेको उहाँले बताउनुभयो ।

४५ वर्षिय सकुन्तला शाही पनि कृषि काममा व्यस्त हुनु हुन्छ । यतिबेला ग्रीनहाउसमा तरकारी फलाउनमा व्यस्त देखिनुभएको छ । हिउँदको समयमा गाउँमा उत्पादीत तरकारीले बजार राम्रो पाउने गरेको कृषक शाहीको भनाई छ । वर्षायामको सिजनमा सबैले तरकारी खेती गरेर उत्पादन गर्ने हुने हुँदा खपत कम हुने गरेको शाहीले बताउनुभयो । हिउँद याममा आफु जस्ता किसानका लागि आम्दानीको श्रोत राम्रो हुने भएको उहाँले बताउनुभयो । आजभोली सदरमुकाममा लिएर एक मुठा साग र धनियाँको रु तीस रुपैयाँ र काउली, बन्दाको रु चालीस रुपैयाँमा विक्री गर्दै आएको उहाँको भनाई छ । एक दिनमा रु दुई हजारसम्म आम्दानी हुने गरेको शाहीले बताउनुभयो ।

हिल्दुम गाउँका किसानले कसैले विभिन्न कृषिसम्बन्धि काम गर्ने संघ संस्थाबाट प्लाष्टिकको पाल सहयोग पाएका छन्, भने कसैले आफ्नै व्यक्तिगत लगानी गरेर पाल किनेर तरकारी खेतीमा रमाउँदै आएका छन् । गाउँका सबैले यतिबेला आफ्नो घर अगाडी रहेका खेतबारीमा तरकारी फलाउँदै आएका छन् । गाउँमा फलाएको तरकारी विक्री गर्न सदरमुकाम सिमकोट लिन ३० मिनेट समय लाग्ने गरेको छ ।

गाउँमा सडकले नछोएको भएपनि कृषकले तरकारी डोकामा बोकेर विक्री गर्न सिमकोट पुग्ने गर्दछन् । युवा पुस्तामा तरकारी खेतीको आकर्षण नदेखिएपनि गाउँमा रहेका उम्मेर छिपिएका महिला पुरुषले यो व्यवसाय गर्दै आएका छन् । गाउँमा सिँचाइ नभए पनि वर्षायाममा यहाँका किसानले आकाशे पानीको भरमा तरकारी फलाउँदै आएका छन् । हिउँदयाममा भने प्लाष्टिकको घर निर्माण गरी तरकारी फलाउँछन् ।

जिल्लाका अन्य वस्तीमा कमै मात्र किसान तरकारी खेतीमा लागेको पाइन्छ । तर हिल्दुम गाउँका ५६ घरधुरी सबैले तरकारी फलाउँछन् । गाउँमा फलेको साग, धनियाँ, काउली, बन्दाले सदरमुकाम सिमकोटमा राम्रो बजार पाउनुका साथै विक्री हुने गरेको छ । किसानी काममा पुरुषको रुची कमै देखिने गरेपनि महिलाको आकर्षण बढ्दो देखिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?