नेपाली राजनीतिमा फेरि अर्को उथलपुथलको चर्चा चुलिएको छ । यो चर्चा अरूबाट नभई स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट भएको हो । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाको यही कार्यकालभित्रै तेस्रो पटक विश्वासको मत पाउनुभएको छ । निर्वाचनपछि सबैभन्दा पहिले एमालेसँग त्यसपछिलगत्तै नेपाली कांग्रेससँग र हालै फेरि एमालेसँग सत्ता गठबन्धन गर्नुभएका दाहालले छोटो अवधिमा तीन पटक विश्वासको मत लिएर नयाँ रेकर्ड बनाइसक्नुभएको छ ।
हालका दिनमा पनि यस्तै भइरहेको छ । संसद्मा चाहे कुनै पार्टीको एकल बहुमत होस् वा नहोस् यस्ता दुवै अवस्थामा राजनीतिमा स्थायित्व देख्न नेपाली जनताले पाएनन् । राजनीतिमा स्थायित्व नहुनु भनेको देशको विकासको गतिसमेत अगाडि बढ्न नसक्नु हो । प्रजातन्त्रको पुनप्र्राप्ति भएको ३३ वर्ष पूरा भइसक्दा पनि नेपाली जनताका आकांक्षा पूरा हुन नसक्नुको कारण यही अस्थिर राजनीति नै हो । नेपाली कांग्रेस र माओवादीबीचको सहकार्य अगाडि बढ्न नसक्नुका भित्री अनेकौं कारण होलान् तर बाहिर प्रधानमन्त्री र तत्कालीन अर्थमन्त्रीले एकअर्कालाई दोष लगाउनुभएको छ ।
नेपाली कांग्रेसका तर्फबाट अर्थमन्त्री बन्नुभएका प्रकाशशरण महतले प्रधानमन्त्री दाहालले उहाँका पार्टीका मानिसहरूलाई बाँड्नका लागि ठूलो परिमाणमा पैसा निकासा गर्न आफूलाई दबाब दिनुभएको तर आफूले नमानेको खुलासा गर्नु भएको छ । हाल प्रधानमन्त्री दाहालले पनि उक्त कुरा उजागर गर्नुभएको छ । तत्कालीन अर्थमन्त्री र आफ्नो ट्युनिङ नमिलेको उहाँले बताउनुभएको छ । उहाँले ‘म एकातिर र प्रकाशशरणजी अर्कोतिर दगुर्दा तालमेल मिलेन’ भन्नुभएको स्वीकारोक्तिबाट उहाँहरूबीच काम गराइमा मतमतान्तर भएको प्रष्ट देखिन आएको छ । तथापि प्रधानमन्त्रीले आफूले अवैधानिक रूपमा रकम निकासाका लागि दाबाब दिएको वा नदिएको सन्दर्भको कुनै अभिव्यक्ति दिनुभएको छैन । यसलाई ‘मौनं सम्मति लक्षणम्’ का रूपमा बुझ्न सकिन्छ । प्रधानमन्त्रीले अर्थमन्त्री एकातिर कुद्ने र आफू अर्कातिर कुद्ने भएका कारण अघिल्लो सरकारमा काम हुन नसकेको तर अब भने काम हुने बताउनुभएको छ ।
वर्तमान सरकारका अर्थमन्त्री उहाँकै पार्टीका र उहाँकै प्रियपात्रसमेत हुनुभएका कारण उहाँले वर्तमान सरकारमा रहेर काम गर्न सहज नहुने कुरै भएन । तर, हालका अर्थमन्त्री वर्षमान पुनका सम्बन्धमा पनि अनेकौं लाञ्छनाहरू लागिरहेका छन् । वर्तमान समयमा सुन तस्करीका प्रकरण सतहमा आइरहेका छन् । अरू प्रकरणहरू बिस्तारै सेलाउँदै गइरहेका बेला सुन तस्करी प्रकरण बाहिर आएको र यससँग माओवादीका धेरै नेता कार्यकर्ताहरू जोडिन आएका छन्, जसमा वर्षमान पुनको समेत नाम जोडिने गरेको छ । प्रधानमन्त्रीलाई अर्थमन्त्रीको सहयोगमा रकम निकासा गर्नुपर्ने र अर्थमन्त्रीलाई आफूमाथि लागेको अभियोगबाट जोगिन प्रधानमन्त्रीको सहयोग चाहिने भएका कारण अब महतसँग जस्तो असजिलो उहाँलाई हुनेछैन भन्ने प्रष्ट छ ।
तर, अर्कातिर सरकार बनेको एक महिना बित्दानबित्दै सरकारमा सामेल भएका नेता र दलहरूबीच खटपट सुरु भएको बताउन थालिएको छ । यस्ता केही संकेतहरू समेत देखिन थालेका छन् । नेताहरूको व्यवहार र अभिव्यक्ति दुवैबाट यस्ता संकेतहरू बाहिर आउन थालेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक हप्तामा दुई पटक प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जानुभएको छ । उहाँकी श्रीमती आरजु देउवा भारतमा बसेर उपचार गराइरहनु भएको छ । तर, यसलाई वर्तमान सरकारका गृहमन्त्रीले सुन तस्करी तथा अन्य अनियमितताहरूमा संलग्न भएका मानिसलाई पक्राउ गर्ने अभियान चलाउनुभएका कराण उहाँ भारततिर लाग्नुभएको हो भन्ने अड्कलबाजीहरू समेत भइरहेका छन् र यस्ता कार्यबाट आफ्नी पत्नीलाई जोगाउनका लागि देउवा बालुवाटार जानुभएको हो भन्ने अनुमान पनि गरिएको छ ।
यसका साथै अर्को अनुमान भने सत्ता परिवर्तनकै प्रयासमा नेताहरूको दौडधुप चलेको हो भन्ने छ । नेताहरूको पटक-पटकको भेटको संकेत यस्तो होइन भन्ने आधार पनि छैनन् । प्रधानमन्त्री दाहालले नै पहिलेको सरकारका मन्त्रीहरूले जस्तो असहयोग गरे फेरि उथलपुथल गर्न बेर नलाग्ने बताउनुभएको सन्दर्भले यस्तो अर्थ लाग्न सक्छ । केही विकसित घटनाले सत्ता गठबन्धनमा खटपट सुरु भएको जस्तो पनि देखिएको छ । बझाङ र इलाममा हुन लागेको उपनिर्वाचनमा गठबन्धनमा रहेका पार्टीहरू एक हुन सकेका छैनन् । तिनले एकजनामात्र साझा उम्मेदवार खडा गर्न सकेका छैनन् । यसले गर्दा तिनका बीचमा एकता हुन नसकेको प्रष्ट हुन्छ ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी नेपाली कांग्रेस केही समयपछि फेरि सरकारमा आउँछ भन्नुभएको छ । यसबाट नेपाली कांग्रेस पनि सरकार बाहिर बस्न सक्दैनसक्ने पार्टी हो भन्ने देखिन्छ । २०४६ सालपछि धेरैजसो समय सरकारमै रहँदै आएको यस पार्टीलाई सरकारकै आशक्ति छ र जसरी भए पनि सरकारमा पुग्ने प्रपञ्चमा यो पार्टी रहेको छ भन्ने प्रष्ट भएको छ । नेपाली कांग्रेसका लागि संगठन सबल बनाउने मौका हो यो समय तर त्यसतर्फ नलागेर कांग्रेस सत्ताकै खेलमा लागेको छ । अरू पार्टीहरूको पनि अर्जुनदृष्टि सरकार नै हो भन्ने देखिएकै छ । नेपाली कांग्रेसलगायत ती पार्टीहरूका लागि यस्तो अभियान हितकारी हुनसक्ला तर देश र जनताका लागि यस्तो अस्थिर अभियान कसै गरे पनि हितकारी हुन सक्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच