काठमाडौं । समाजवादी मोर्चामा आबद्ध दलहरूले संसदीय व्यवस्थाबाटै समाजवादमा पुग्न सकिने धारणा राखेका छन् । मंगलबार काठमाडौंमा भएको ‘नेपाली विशेषताको समाजवाद’ नामक अन्तरक्रियामा सहभागी मोर्चाका शीर्ष नेताहरूले समाजवादले मात्र मुलुकको समृद्धि सम्भव भएको धारणा राखेका हुन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समाजवादी मोर्चा नेपालमा आबद्ध छन् । मोर्चाका शीर्ष नेताहरूले मुलुकमा समाजवादको अपरिहार्यतामा एकमत देखिए । तर, समाजवादमा पुग्ने बाटोमा भने फरक-फरक धारणा देखिएको छ । सहभागी कतिपय नेताहरूले वर्तमान सुधारिएको संसदीय व्यवस्थाबाटै समाजवादमा पुग्न सकिने धारणा राखेका छन् भने कतिपय नेताहरूले यही अवस्थाबाट समाजवादमा पुग्न नसकिने तर्क गरेका छन् ।
पुरानो गठबन्धनबाट समृद्धिको वेग हान्न नसकेपछि नयाँ जोखिम उठाएँ : प्रचण्ड
प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेससँगको पुरानो गठबन्धनबाट समृद्धिको वेग हान्न नसकेपछि नयाँ समीकरण बनाउने जोखिम उठाएको बताउनुभएको छ । समाजवादी मोर्चाले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘नेपालको आर्थिक विकास र समृद्धिका लागि जुन वेगका साथ जानुपर्ने थियो, पुरानो गठबन्धनबाट सम्भव भएन । जे कदम योपटक चालेको छु, प्रधानमन्त्री पदका लागि होइन, समाजवादको आधार तयार गर्न इमानदार भएर जोखिम र चुनौती देख्दादेख्दै चालिएको हो ।’ समाजवादको जन्म सडक, सदन या सरकारबाट हुन्छ भन्ने प्रश्नको जवाफमा प्रचण्डले भन्नुभयो, ‘समाजवाद जन्मिने भनेको सडकबाटै हो । समाजवादको तयारी गर्न सदन, सरकार र सदनबाट तयारी गरेर सडकबाट निर्णायक ढंगले समाजवाद जन्माउने हो ।’
‘समाजवादलाई अघि बढाउन नेपाल उर्वर भूमि’
अध्यक्ष प्रचण्डले समाजवादलाई अघि बढाउन नेपाल उर्वर भूमि रहेको बताउनुभएको छ । हालको संविधानमा समाजवाद र पुँजीवादको समान विशेषता रहेको बताउँदै प्रचण्डले भन्नुभयो, ‘यो संविधान पूर्ण भनेर हामीले भनेका छैनौँ, यो सम्झौताकै दस्ताबेज हो । त्यहाँ थुप्रै पुँजीवादका विशेषताहरू पनि छन् । थुप्रै समाजवादका विशेषताहरू पनि छन् । नेपाल मात्रै अहिले त्यस्तो परिस्थितिमा छ, यहाँका समाजवादीहरू, यहाँका देशभक्तहरू अझै पनि एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सम्भावना भएको देश नेपाल नै हो ।’
आवश्यक परे संविधान पनि संशोधन गर्नुपर्छ : नेपाल
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विगतको अनुभवका आधारमा आवश्यक परे देश र जनताका लागि संविधान पनि संशोधन गर्नुपर्ने बताउनुभएको छ । समाजवादी मोर्चाले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले विकास र समृद्धिका लागि कुनै विषयले बाधा पु¥याएको खण्डमा त्यसलाई सुधार गरेर जानुपर्ने भन्दै आवश्यक परेको खण्डमा संविधान पनि संशोधन गर्नुपर्ने बताउनुभएको हो । उहाँले निर्वाचन प्रणालीमा पूर्ण रूपमा त्रुटि नरहेको भन्दै यसमा विकृतिको अन्त्य गर्नु जरुरी रहेको बताउनुभयो । आमरूपमा उठेको विषयलाई संवाद र छलफलका माध्यमबाट निष्कर्ष निकाल्नुपर्ने भन्दै उहाँले देश र जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अगाडि बढाउनैपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष नेपालले जनताबाट अलग भए समाजवादको बेहाल हुने भन्दै यसप्रति सचेत रहनुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार नरोक्ने, जनताका कुरा नसुन्ने हो भने समाजवाद आउन नसक्ने स्पष्ट पार्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘जनताबाट जब हामी अलग हुन्छौँ, अलग भइसकेपछि समाजवादको बेहाल हुन्छ । समाजवादी पार्टीहरूको बिजोग हुन्छ । विभिन्न देशहरूको अनुभवले बताएको छ । समाजवादका ठूला ठूला कुरा गरेर हुँदैन । समाजमा विद्यमान अन्याय, अत्याचार, थिचोमिचो, भेदभाव र छुवाछुत त्यसले हामीलाई पिरोल्छ कि पिरोल्दैन ?’
बालुवाटार र संसद्बाट समाजवादी क्रान्ति सम्भव छैन : खनाल
पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसद्बाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने बताउनुभएको छ । समाजवादीको लागि सबैभन्दा ठूलो माध्यम सडक रहेको र सडकबाट जनताका आवाज बुलन्द गरी एकत्रित बनाएर आन्दोलित हुनु जरुरी रहेको उल्लेख गर्दै खनालले भन्नुभयो, ‘वर्ग संघर्षमा विकास गरौँ । बिनासंघर्ष केही पनि हुनेवाला छैन । खाली बालुवाटार र संसद्बाट क्रान्ति हुँदैन । नेपाली विशेषताको समाजवादी त्यहाँबाट मात्रै आउँदैन । हामीले सडकबाट संघर्ष गर्नुपर्छ । सदन र सडकलाई हामीले उपयोग गर्नैपर्छ ।’ उहाँले अहिलेको सरकार विचार मिल्नेहरूको सरकार भएकाले प्रगतिशील नीतिका कार्यक्रमहरू अघि बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बिनासंघर्ष केही पनि हुनेवाला छैन । खाली बालुवाटार र संसद्बाट क्रान्ति हुँदैन । नेपाली विशेषताको समाजवादी त्यहाँबाट मात्रै आउँदैन । हामीले सडकबाट संघर्ष गर्नुपर्छ । सदन र सडकलाई हामीले उपयोग गर्नैपर्छ । सदनको पनि उपयोग गर्नैपर्छ तर सडक प्रमुख कुरा हो ।’ उहाँले भ्रष्टाचारलाई उन्मूलन गर्न सरकारले आवश्यक पहल गर्नुपर्ने जिकिर गर्नुभयो ।
यथास्थितिमा क्रमभंग गर्न जरुरी छ : विप्लव
समाजवादी मोर्चाका संयोजक एवं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले यथास्थितिमा क्रमभंग गर्न जरुरी रहेको बताउनुभएको छ । मंगलबार मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले जनतातिर फर्कने कानुन संरचना निर्माण गर्नुपर्ने आफूहरूको दृष्टिकोण रहेको सुनाउनुभयो । ‘यथास्थितिमा क्रमभंग गर्न जरुरी छ । संकट र सम्भावनाको कुरा गरिरहेका छौँ । हामीले कुनै न कुनै तरिकाले क्रमभंग गर्दै जनतातिर फर्कने व्यवस्था, जनतातिर फर्कनुपर्ने संरचना, कानुन, प्रशासन निर्माण गर्दै अघि बढ्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ ।’
चन्दले अहिलेका असन्तुष्टिहरूलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने दाबी गर्नुभएको छ । वर्तमान सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव रहेको उल्लेख गर्दै महासचिव चन्दले भन्नुभयो, ‘हामीले विभिन्न उपलब्धि हासिल गरेको कुरा साँचो हो तर पूर्ण भएका छैनन् । जनतालाई कसरी सुरक्षित गर्ने ? यो विषयमा हाम्रो समाजवादी मोर्चाले एउटा स्पष्ट दृष्टिकोण दिएको छ कि आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव छ ।’ उहाँले समाजवादी मोर्चाले अस्थिरता ल्याउँछ भन्ने तर्कमा कुनै सत्यता नभएको जिकिर गर्नुभयो ।
यो तमासाबाट समाजवादमा पुगिँदैन, संविधान संशोधन गरौँ : यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्न प्रस्ताव गर्नुभएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले संविधानमा समाजवाद उन्मुख लेखे पनि शासकीय स्वरूप र निर्वाचन प्रणाली नफेरेसम्म समाजवादमा पुग्न नसकिने तर्क गर्दै भन्नुभयो, ‘अहिलेको संविधानमा समाजवाद उन्मुख लेखेको भए पनि अहिलेको संविधान र संवैधानिक व्यवस्था समाजवादको बाधक छ । यसलाई संशोधन गरौँ । अहिलेको शासकीय स्वरूपबाट समाजवाद हुनै सक्दैन । हामी गरिरहेका छौँ तपाईंहरूले तमासा हेरिराख्नु भएकै छ । यो तमासाबाट समाजवाद हुँदैन ।’
स्वार्थ त्यागेर समाजवादी शक्तिहरू एक हुनुको विकल्प छैन : भट्टराई
नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले समाजवादी शक्तिबीच एकता नहुँदा प्राप्त उपलब्धि समाप्त पार्न हिजोका पराजित शक्तिहरूले टाउको उठाउन थालेको टिप्पणी गर्नुभएको छ । समाजवादी मोर्चाले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख भट्टराईले भन्नुभयो, ‘समाजवादी शक्तिहरू विभाजित हुँदा पराजित भएका व्यवस्था विरोधी शक्तिहरूले टाउको उठाउन खोजिरहेका छन् । ती शक्तिलाई पराजित गर्न समाजवादी शक्तिहरूबीच एकता आवश्यकता छ । मिलेर नै हामी अगाडि बढ्नुको विकल्प छैन ।’ नेपालको विशेषतामा आधारित समाजवादको लक्ष्य प्राप्तिका लागि उत्पादन, आर्थिक गतिविधि सहितको कार्यक्रममा स्पष्ट हुनुपर्ने उहाँको मत छ ।
१६ वर्षसम्म संक्रमणकालीन न्यायसम्बन्धी विधेयक कसले रोक्यो ?
क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता एवं वरिष्ठ अधिवक्ता एकराज भण्डारीले संविधान संशोधन गरी समाजवादी व्यवस्था लागू गर्न समाजवादी मोर्चाका नेताहरूलाई चुनौती दिनुभएको छ । मंगलबार समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा १६ वर्षसम्म संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्बाट पारित गर्न कसले रोक्यो ? भन्ने प्रश्न गर्नुभएका भण्डारीले भन्नुभयो, ‘१६ वर्ष बित्यो विधेयक पारित गर्न कसले रोक्यो ? सबैले पास गर्छु भन्छन् । तर, अहिलेसम्म पास भएको छैन । अदृश्य शक्तिले रोक्यो ? यो संसदीय शासन प्रणालीलाई संशोधन गरी समाजवादी व्यवस्था लागू गर्न सक्नुहुन्छ ? सारंगी र्याइँर्याइँ गरेर काम छैन ।’
समाजवादको लक्ष्य एउटै भए पनि देशहरूपिच्छे मोडल फरक छ : अर्थविद् क्षेत्री
अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीले विभिन्न देशहरूले लिने समाजवादको उद्देश्य एउटै भए पनि त्यसको मोडल भने फरक भएको बताउनुभएको छ । समाजवादी मोर्चाले मंगलबार काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै क्षेत्रीले भन्नुभयो, ‘पुँजीवादको आफ्नै चरित्रका कारण यो भत्किन्छ र समाजवाद आउँछ भनेर एउटा कुनामा बसेर, गाँजा खाएर बसेर मात्र समाजवाद आउँछ भन्ने हुँदैन । निरन्तर रूपमा त्यसलाई अभियानका रूपमा लैजानुपर्छ । क्रान्ति निरन्तर अघि बढ्छ भन्ने कुरा पनि समाजमा छ । हाम्रो छिमेकी देश चीनमा आफ्नै किसिमको समाजवाद, उत्तर कोरियामा छुट्टै छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच