स्वदेश फर्कियो यू-२० टोली

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट खेलेर नेपाली यू-२० टोली मंगलबार बिहान स्वदेश फर्किएको छ । नेपाली टोली प्यालेस्टाइनबाट जोर्डन हुँदै मंगलबार बिहान २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । प्यालेस्टाइनमा भएको छनोटमा नेपाल दुई खेल जित्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ ।

नेपालले पहिलो खेलमा आयोजक प्यालेस्टाइनलाई ६-० ले पराजित गर्दा नर्दन मारियाना आइल्याण्डमाथि ६-० कै जित निकाल्दै दोस्रो चरणमा छनोट हुन सफल भएको थियो । लगातार दोस्रो जितसँगै समूह ‘बी’ मा नेपालले दुई खेलबाट ६ अंक जोड्यो । प्यालेस्टाइन तीन अंक जोडेर दोस्रो स्थानमा रहँदा नर्दन मारियाना आइल्याण्ड अंकविहीन हुँदै पुछारमा रहृयो । यो समूहबाट संयुक्त अरब इमिरेट्स (युएई) ले अन्तिम समयमा नखेल्ने घोषणा गरेको थियो ।

छनोटमा नेपालकी दीपा शाहीले ६ तथा गरिमा राईले दुई गोल गर्नुभएको थियो । यस्तै, सारा बज्राचार्य, सरस्वती हमाल, प्रीति राई र जेनिफर राणाले समान एक गोल गर्नुभएको थियो । पहिलो चरणबाट आठ समूहको विजेता टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो चरणमा आठ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । जसबाट उत्कृष्ट चार टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कप खेल्नेछन् ।

एएफसी यू-२० महिला एसियन कप सन् २०२४ को मार्च ३ देखि १६ सम्म उज्वेकिस्तानमा हुँदैछ । आयोजक उज्वेकिस्तानसहित २०१९ को विजेता जापान, दोस्रो भएको उत्तर कोरिया र तेस्रो भएको दक्षिण कोरिया गरी चार टोली छनोट भइसकेका छन् ।

दोस्रो राउण्डका खेलहरू ३ देखि ११ जुनसम्म हुनेछन् । पहिलो चरणबाट चीन, नेपाल, अष्ट्रेलिया, लेवनान, चाइनिज ताइपेई, भियतनाम, म्यानमार र इरान छनोट हुन सफल भएका छन् । पोट १ मा अष्ट्रेलिया र चीन, पोट २ मा भियतनाम र म्यानमार, पोट ३ मा इरान र नेपाल तथा पोट ४ मा लेवनान र चाइनिज ताइपेई रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?