शून्य समयमा सांसदहरु : समसायिक विषयमा सरकारको ध्यानाकर्षण

हिमालय टाइम्स
Read Time = 14 mins

काठमाडाैं । प्रतिनिधि सभाको शुन्य समय सांसदहरुले वैवाहिक समारोहमा हुने तडकभडक रोक्नुपर्ने देखि सहरकारी ठगी गर्ने मन्त्रीहरुको विषयमा छानविन गर्न माग गरेका छन् ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले यस्तो माग गरेका हुन् । उनीहरुले किसानको दुधको भक्तानी गर्न, जोखिमपूर्ण सडक सुधार गर्न,सहकारी ठगि प्रकरण छानविन अगाडि बढाउन,वीर अस्पालतमा आवश्यक जनशक्ति पूर्ति गर्न भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । शुन्य समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले वैवाहिक समारोह संस्कृतिभन्दा पनि तडकभडकतिर गइरहेको बताउनु भयो । उहाँले फिल्मी तरिकाले हल्दी, मेहन्दी लगात बाहिरी संस्कृति भित्रिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले मधेसमा जन्ती हेलिकप्टरमा जाने विकृति बढेको भन्दै त्यसलाई रोक्न सम्बन्धित निकायसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ मधेसमा जन्ती बेहुली कहाँ हेलिकोप्टरमा जाने विकृति बढ्दैछ । त्यसले तीन वटा कुरामा जोखिम बढाएको छ । यसको आर्थिक भार बेहुलीको माईतीतर्फ पर्ने, बस्तीको छाना जोखिमपूर्ण हुने, होलिकोप्टर ल्याण्ड गर्दा व्यवस्थित हेलिप्याड नहुँदा जोखिमपूर्ण हुन्छ । त्यसैले सबै साझेदारको ध्यानाकर्षण गराउन चाहन्छु । यो विकृतिलाई रोक्न आवश्यक पहलकदमी होस् ।’

नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले वीर अस्पातलमा जनशक्ति अभावको कारण देखाउँदै आकस्मिक कक्षलाई गोदाम बनाउने काम भएको भन्दै तत्काल आवश्यक जनशक्ति पूर्ति गर्न सरकारसँग माग गर्नुभयो । उहाँले आवश्यक जनशक्ति पूर्ति गरी वीर अस्पतालमा आकस्मिक कक्ष लगायत उपचारलाई निरन्तरता दिन माग गर्नुभयो । उहाँले बिरामीहरुले अस्पतालमा सास्ती भोग्नुपर्ने अवस्थाको अत्य गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो,‘गरिबको लागि भनेर चिनिएको वीर अस्पतालको आकस्मिक बेडमा तीन जनासम्म राखी सास्तीका साथ उपचार गराई रहेका छन् । अस्पतालमा आइसियु नभएर विभिन्न अस्पतालमा भौँतारिनुपरेको छ । महँगा निजी अस्पतालमा आइसीयुमा खोज्नुपर्ने अवस्था भएको छ । तर वीर अस्पतालको आकस्मिक कक्षको कोठा गोदाममा परिणत भएको छ । सघन अति सघन कक्षको कोठा घटाईएको छ । जुन जनशक्तिको अभाव भनेको पाइन्छ । वीर अस्पतालमा काम डाक्टर नर्स सहितका करिव दुई सय जना कर्मचारी हटाउँदा अस्पतालका कोठाहरु गोदाम घरमा परिणत भएका छन् । वीर अस्पतालमा जनशक्ति अभाव तत्काल पूरा गरी सबै सेवा सुचारु गर्न माग गर्दछु ।’

प्रतिनिधि सभा सांसद महेन्द्रकुमार रायले महोत्तरी जिल्लाको भिटामोर भन्सार कार्यालयमा तेस्रो मुलुकबाट आउने समानहरुको भन्सार काट्ने अनुमति दिन माग गर्नुभयो । उहाँले उक्त भन्सारमा ड्राइपोर्ट निर्माणको लागि आगामी आर्थिक वर्षमा बजेटमा सुख्खा बन्दरगाह निर्माणको लागिसम्बन्धित निकायसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘महोत्तरी जिल्लाको भिटामोर भन्सार कार्यालयमा तेस्रो मुलुकबाट आउने समानहरुको भन्सार काट्ने अनुमति दिन र ड्राइपोर्ट निर्माणको लागि आगामी आर्थिक वर्षमा बजेट निर्माणको लागि सभामुखज्युमार्फत सम्बन्धित निकायसँग माग गर्न चाहन्छु ।’

बैठकमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानहरुले लामो समयदेखि दुध भुक्तानीको रकम नपाएको भन्दै तत्काल उपलब्ध गराउन माग गर्नुभयो । उहाँले देशभर करिव ५ अर्ब भन्दाबढी दुधको मूल्य भुक्तानी सरकारले गर्नुपर्नेमा मकवानपुर जिल्लाका किसानहरुलाई मात्रै करिव ६० करोड रहेको बताउनु भयो । उहाँल नेपाल कृषिप्रधान देश भएकाले कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान जान आवश्यक रहेको बताउनु भयो । उहाँले किसानको दुधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषिमन्त्रीले पहल कदमी लिन आग्रह गर्नुभयो । उहाँले खेतीपातिको समय शुरु भएको भन्दै किसानहरुले रासायनिक मल सहजता रुपमा उपलब्ध गराउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘किसानहरुले लामो समयदेखि दुधको मूल्य पाएका छैनन् । देशभर करिव ५ अर्ब भन्दाबढी दुधको मूल्य भुक्तानी गर्नुपर्ने छ । मकवानपुर जिल्लाका किसानहरुलाई मात्रै करिव ६० करोड छ । कृषि मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु । नेपाल कृषि प्रधान देश हो । सरकारले बजेट बनाउँदै छ । कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान पुगोस् । किसानको दुधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषिमन्त्रीले पहल कदमी लिनुहोस् । माग गर्नु चाहन्छु । साथै खेतीपातिको समय शुरु भएको छ । किसानहरुले रासायनिक मल पाउने कुरामा सहजता भएको छैन । विचौलिया हाबी भइरहेका छन् । रासायनिक मल किसानहरुले सहज रुपमा पाउने व्यवस्था गरियोस् ।’

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले अरनिको राजमार्ग अन्तर्गत जुरे पहिरोदेखि तातोपानी लिपिङसम्मको सडक खण्डको यात्रा कष्टकर रहेको बताउनु भयो । उहाँले उक्त सडक वर्षातमा भयावह र जटिल हुने निश्चित रहेको भन्दै मर्मतको लागि सरकारको ध्यानकर्षण गराउनु भयो। उहाँले प्रधानमन्त्रीको चीनको भ्रमणका बेलामा दुईपक्षीय वार्ता नेपालको आवश्यकतालाई मध्यनजर गर्दै अरनिको राजमार्ग मर्मत सभार शुरु गर्न चिनियाँ पक्ष तयार भएको उल्लेख भएको भन्दै अर्थमन्त्रालय वैदेशिक साहयता महाशाखा लगायत सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउनु भयो । उहाँले मंसिरदेखि यताको किसानलाई सरकारले दिनुपर्ने भुक्तानी वक्यौता नपाएको बताउनु भयो। उहाँले डिडिसी र निजी क्षेत्रले उत्पादन गरेका दुग्धजन्य पदार्थको ७ अर्बको गोदाम भएर बसेका सामानहरु सरकारले आयात प्रतिस्थापन गर्ने,गोदाम भएर बसेका वस्तुहरुको बजारिकण गर्ने डिमाण्ण र सप्लाईको वैज्ञानिक व्यवस्थापन गर्ने योजना बनाउन माग गर्नुभयो ।

उहाँले भन्नुभयो,‘अरनिको राजमार्ग अन्तर्गत जुरे पहिरोदेखि तातोपानी लिपिङसम्मको सडक खण्डको यात्रा कष्टकर छ । वर्षातमा भयाभह र जटिल हुने निश्चित छ । प्रधानमन्त्रीको असोजमा चीनको भ्रमणका बेलामा प्रधानमन्त्रीका समकक्षी दि छ्याङसँग दुईपक्ष वार्ता भएको थियो । वार्तामा नेपालको आवश्यकतालाई मध्येनजर गर्दै अरनिको राजमार्ग मर्मत सभार शुरु गर्न चिनियाँ पक्ष तयार भएको उल्लेख थियो । अर्थ मन्त्रालय वैदेशिक साहयता महाशाखा लगायत सम्बन्धित सबै पक्षलाई के भइरहेको छ । मंसिरदेखि यताको किसानलाई सरकारले दिनुपर्ने भुक्तानी वक्यौता बाँकी छ । डिडिसी र निजी क्षेत्रले उत्पादन गरेका दुग्धजन्य पदार्थको ७ अर्बको गोदाम भएर बसेका सामानहरु छन् । आयात प्रतिस्थापन गर्ने,गोदाम भएर बसेका वस्तुहरुको बजारिकण गर्ने डिमाण्ण र सप्लाईको वैज्ञानिक व्यवस्थापन गर्ने योजनाका साथ बाँकी रकमको भुक्तानी दिन माग गर्दछु ।’

नेपाली काँग्रेकी सांसद रमा कोईराला पौड्यालले सहकारी ठगी प्रकरणका सरकारका गृहमन्त्रीदेखि श्रम मन्त्रीसँग जोडिएको बताउनु भयो । उहाँले सरकारले सहकारी ठगिको छानविन गर्ने बाटो बन्द गरेको भन्दै तत्काल छानविन प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो । उहाँले ऊर्जामन्त्री शक्ति बस्नेतको पनि नाम जोडिएको भन्दै अब सांसदहरुले सार्वजनिक सवारी साधनमा हिँड्दा सांसदको लोगो लगाएर हिँड्न गाह्रो भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘सहकारी ठगि प्रकरणका सरकारका गृहमन्त्रीदेखि श्रम मन्त्रीसँग जोडिएका छन् । सरकारले सहकारी ठगिको छानविन गर्ने बाटोमा जाँदैन । ऊर्जामन्त्री शक्ति बस्नेतको पनि नाम जोडिएको छ । सांसदहरुले सार्वजनिक सवारी साधनमा हिड्दा सांसदको लोगो लगाएर हिड्न ग्राँहो भएको छ । सम्मानित भएर हिँड्यौ की नहिड्यौं ?’

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले गृहमन्त्रालय पिएसोको आतंक बनेको बताउनु भयो । उहाँले पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीका पीएसोहरु जतिसुकै नम्बरमा भएपनि प्रमोसन भइहाल्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले दक्षता,क्षमता योग्यताको बदर नहुने परिपार्टी विकास भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘गृहमन्त्रालय पिएसोको आतंक बनेको छ । पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीका पीएसोहरु जतिसुकै नम्बरमा भए पनि प्रमोसन भइहाल्नु पर्ने भएको छ । दक्षता,क्षमता योग्यताको बदर नहुने परिपार्टी विकास भयो । मन्त्रीहरु प्रशिक्षण लिईरहेका छन् । प्रतिक्षार्थी मन्त्री प्रतिक्षार्थी नै कर्मचारी नियुक्त गर्ने परिपार्टी भयो भने देश कहाँ जाला ? परराष्ट्र मन्त्री सात दिनसम्म चीनमा गएर जिब्रो परिवर्तन गरेर आउनुभएको छ । देशले केही पायो की संसदलाई जानकारी दिन अनुरोध गर्दछु । संसदमा मानमर्यादा हनन् भएको छ । संसदमाथि चिठ्ठी लेख्ने काम प्रहरी प्रशासनले गरेको छ । संविधानविपरित अनुसन्धानमा छ भनेर संसदमाथि चिठी लेख्ने परम्परा अहिलेदेखि शुरु भयो । किन गरिन्छ ।’

उहाँले मन्त्रीहरु प्रशिक्षण लिईरहेको अवस्था प्रतिक्षार्थी मन्त्रीले प्रतिक्षार्थी नै कर्मचारी नियुक्त गर्ने परिपार्टी मुलुक बन्न नसक्ने दाबी गर्नुभयो । उहाँले सरकारले संसदको मानमर्यादा हनन् गरेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?