ललितपुर । विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै सातौँ संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२४ ललितपुरमा सम्पन्न भएको छ । समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोललाई सम्मान गरिएको छ । पावर इन्टरनेसनल मिडिया नेपाल (पिम नेपाल)द्वारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले अग्रज संगीतकार डंगोललाई सो सम्मान अर्पण गर्नुभएको थियो । कार्यक्रममा संगीतकार डंगोलको सम्मानमा गायिका निशा देशारले जुगलकै संगीतको गजल ‘साउनको भेल जस्तो’ प्रस्तुत गर्नुभएको थियो भने बाँसुरीवादक नगेन्द्र राईले जुगलकै संगीतमा बाँसुरी धुन सुनाउनुभएको थियो ।
समारोहमा संस्कृतिकर्मी चन्द्रकुमार राई, साहित्यकार हरिसिंह थापालगायत पनि सम्मानित हुनुभएको थियो । कार्यक्रममा पाँच हजार ५५५ राशिको यो वर्षको संगीत पत्रकारिता पुरस्कार रंग पत्रकार हरि दुलाललाई प्रदान गरिएको थियो ।
संगीतमय बनेको समारोहमा ४२ विधामा विभिन्न अवार्ड प्रदान गरिएको थियो । जसअन्तर्गत आधुनिक गीततर्फ नवगायकको अवार्ड राजु भट्टले, नवगायक जुरी अवार्ड सन्तबहादुर दराईले, नवगायिकाको अवार्ड प्रिजा मिश्रले प्राप्त गर्नुभयो । आधुनिक विधातर्फ नै गायकको अवार्ड यश कुमारले, गायिकाको अवार्ड निता आचार्यले, संगीतकारको अवार्ड नरहरि प्रेमीले, गीतकारको अवार्ड टेक तामाङले र आधुनिक महिला गीतकारको अवार्ड सविता पोख्रेलले चुम्नुभयो ।
यस्तै, राष्ट्रिय भाव गीतको अवार्ड कर्माले, गजलतर्फको अवार्ड रुद्रशेखर शर्माले, गजलकै जुरी अवार्ड संगीता राना प्रधान र युगल गायनको अवार्ड मोहन श्रेष्ठ/सहिमा श्रेष्ठले संयुक्तरूपमा प्राप्त गर्नुभयो । यसैगरी पप गायनतर्फ गायकको अवार्ड डेविड शंकरले, गायककै डायस्पोरा अवार्ड चेष्टर लिम्बूले, लोक पपतर्फ गायनको अवार्ड नवीन कार्कीले, गीतकारको अवार्ड अनिल तिखत्रीले, संगीतकारको अवार्ड मानस राजले हासिल गर्नुभयो ।
यस्तै, लोकदोहोरीतर्फ नै पुरुष मोडलको अवार्ड सागर लम्साल (बले)ले, महिला मोडलको अवार्ड एन जेड सालुले, महिला मोडलको जुरी अवार्ड प्रमिता राजघतानीले, नवमोडल पुरुषको अवार्ड वसन्त उदासले र नवमोडल महिलाको अवार्ड मिशेल घिमिरेले हासिल गर्नुभयो । निम अवार्ड समारोहमा लोकगीततर्फ मौलिक गीतको अवार्ड हेमन्त कान्छा रसाइली र उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड कमल एक्चै मगरले प्राप्त गर्नुभयो ।
कार्यक्रममा लोकदोहोरीतर्फ गीत रचनाको अवार्ड सागर बाँस्तोलाले, लयको अवार्ड ऋषि खड्काले, गायकको अवार्ड रामकुमार नेपालीले, गायिकाको अवार्ड सञ्जु न्यौपानेले हासिल गर्नुभयो ।
कार्यक्रममा अनिल तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको अवार्ड प्रदान गरिएको थियो । ‘तिमीलाई हेरेर’बाट तिखत्रीलाई सर्वोत्कृष्ट लोक पप गीतकारको अवार्ड प्रदान गरिएको हो ।
नवमहिला मोडलतर्फ नै पब्लिक च्वाइस अवार्ड पुनम श्रेष्ठले, कोरियोग्राफरको अवार्ड राहुल बराइलीले, म्युजिक एरेन्जरको अवार्ड सुदिप सागरले प्राप्त गर्नुभयो । सो क्रममा आधुनिक/पप गीततर्फ भिडियो निर्देशकको अवार्ड केशवराज भट्टले, पुरुष मोडलको अवार्ड राज टाइगरले, महिला मोडलको अवार्ड अश्विनी शाहीले र लोकदोहोरी भिडियो निर्देशकको अवार्ड सृजन बरालले हासिल गर्नुभयो ।
प्राविधिक विधातर्फ ध्वनि मिश्रणको अवार्ड नरेन्द्र वियोगीले, छायाँकारको अवार्ड मुकेश हुमागाईंले, म्युजिक भिडियो सम्पादकको अवार्ड अमृत चापागाईंले प्राप्त गर्नुभयो ।
समावेशीतर्फ देउडा गीतको अवार्ड शान्ति शाहीले, मैथली भोजपुरीतर्फ गीतको अवार्ड प्रेमनारायण झाले, गायनको अवार्ड वीरेन्द्रकुमार झाले, म्युजिक भिडियो अवार्ड मुन्ना कुमार र जुरी अवार्ड बद्री शाहले हासिल गर्नुभयो । यस्तै, नेपाल भाषातर्फ गीतकारको अवार्ड नातिकाजी महर्जनले, संगीतकारको अवार्ड मनराज नकर्मीले, गायनको अवार्ड मोहन शाक्यले, नेपाल भाषा म्युजिक भिडियोको अवार्ड दर्शनवीर शाक्यले प्राप्त गर्नुभयो ।
कार्यक्रममा मन्त्री भानुभक्त जोशीले यस्ता कार्यक्रमहरूले प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीत संगीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै, बागमती प्रदेशका श्रम तथा यातायातमन्त्री लक्ष्मण लम्सालले राज्यले गर्नुपर्ने यस्ता महत्वपूर्ण कार्यहरू पिम नेपालले आयोजना गरेर निकै प्रशंसनीय कार्य गर्दै आएको बताउनुभयो ।
विगत सात वर्षदेखि आयोजना हुँदै आएको निम अवार्डले नेपालमा बोलिने विभिन्न भाषाभाषीहरूमा बनेका गीत र गीतका भिडियोहरूलाई प्रोत्साहनस्वरूप अवार्ड तथा सम्मान प्रदान गर्दै आइरहेको आयोजक संस्था पिम नेपालका अध्यक्ष माधवराज खरेलले बताउनुभयो ।
यस्तै, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले पहिलो शृंखलादेखि नै आफू सल्लाहकारका रूपमा रहँदै आएको र निम अवार्ड समावेशी अवार्डका रूपमा स्थापित भएको जानकारी गराउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य रंग पत्रकार एवं गीतकार शान्तिप्रियले व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा अवार्ड संयोजक कमला जोशीले कार्यक्रममा सो अवार्डका बारेमा प्रकाश पार्नुभएको थियो । सनम कठायतको व्यवस्थापन रहेको सो कार्यक्रमको निर्देशकमा राजन थापा र सल्लाहकारमा व्याकुल माइला रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच