रूपन्देही । उद्योगी-व्यवसायीले रूपन्देही र चितवन लगानी र पर्यटनका हिसाबले मुलुककै अग्रणी जिल्ला भएको बताएका छन् । उनीहरूले लुम्बिनी र सौराहा त पर्यटनका लागि सम्भावनै सम्भावना बोकेको क्षेत्र भएको बताएका हुन् । दुवै ठाउँलाई जोडेर पर्यटकीय विकास गरे दुवै जिल्लाले आर्थिकरूपमा अझै फड्को मार्ने उनीहरूको भनाइ छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देही र उद्योग वाणिज्य संघ, चितवन तथा सिद्धार्थ र रत्ननगर उद्योग वाणिज्य संघ, चितवनबीच भएको छुट्टाछुट्टै छलफल एवं अन्तरक्रियामा व्यवसायीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग र व्यापार सबै क्षेत्रमा सरकारबाट आवश्यक सहयोग भए दुई जिल्लाले मुलुककै नेतृत्व गर्न सक्ने दाबीसमेत गरेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले रूपन्देहीमा पछिल्लो दशकमा लुम्बिनीलाई केन्द्रमा राखेर लगानी भइरहेको जनाउँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालन हुँदा मुलुकले नै आर्थिक क्षेत्रमा थप फड्को मार्न सक्ने बताउनुभयो । बौद्धिष्ट मुलुकका पर्यटक सिधै लुम्बिनी आउन चाहने भए पनि विमानस्थल नचल्दा उनीहरूको गन्तव्य चाहे जसरी लुम्बिनी हुन नसकेको उहाँको भनाइ थियो ।
अध्यक्ष श्रेष्ठले लुम्बिनी आउने पर्यटक चितवन र चितवनमा आउने पर्यटक लुम्बिनीसहित प्रदेशका अन्य पर्यटकीय स्थलमा पुग्ने वातावरण सिर्जना गर्न दुवै जिल्लाका उद्योग वाणिज्य संघले विशेष पहल गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले चितवनका उद्योगी व्यवसायीलाई भैरहवा, लुम्बिनी, तिलोत्तमा, बुटवललगायतका ठाउँमा लगानी गर्न आहृवान गर्नुभएको छ ।
श्रेष्ठले पछिल्लो समय बिमा कम्पनीको मनपरीले आफूहरू मर्कामा परेको भन्दै सबै उद्योगी व्यवसायी वृद्धि भएको प्रिमियम घटाउनेतर्फ लाग्नुपर्ने बताउनुभयो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले तराई-पहाडको संगम जिल्ला भएकाले चितवनका हरेक क्षेत्रमा सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहाडको डाँडामा होटल खोल्दा उस्तै चल्छ, समथर भूभागमा कृषि क्षेत्रमा लगानी गर्दा उस्तै मुनाफा हुन्छ, चितवन लगानीका लागि सबै हिसाबले उत्कृष्ट छ ।’ पछिल्लोपटक भरतपुर महानगरपालिकाले ‘घुमौँ भरतपुर’ भनेर पर्यटन वर्ष मनाइरहेको भन्दै रूपन्देहीसहित मुलुकभरका नागरिकलाई चितवन आउनसमेत पनि उहाँले आहृवान गर्र्नुभयो । श्रेष्ठले भन्नुभयो, ‘यहाँ आएर नारायणीमा डुंगा सयर गर्न सकिन्छ भने सौराहा पुगेर जंगल सफारी गर्न सकिन्छ, यस्ता दर्जनौं गन्तव्य चितवनमा छन्, पर्यटक यहाँ आएर हप्ता दिनसम्म पनि रमाउने वातावरण छ ।’ चितवन शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योग व्यापारमा सम्भावना बोकेको जिल्ला रहेको र पोल्ट्रीको त राजधानी नै भएको उहाँको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य भीष्मप्रसाद न्यौपानेले सरकारको निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुने हो भने चितवन र लुम्बिनी क्षेत्रमा लगानी अझै बढ्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘लगानीका लागि मुलुकमै यी जिल्ला अग्रभागमा आउँछन्, सरकारले त्यो किसिमको वातावरण बनाउन सक्नुपर्छ, उद्योगी-व्यवसायी मैले गरेको लगानी खेर जाँदैन भनेर ढुक्क हुन सक्नुपर्छ ।’
रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले सौराहालाई केन्द्रमा राखेर आफूहरूले व्यावसायिक प्रवद्र्धनका काम गरिरहेको बताउनुभयो । सौराहा स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने महत्वपूर्ण गन्तव्य भएकाले लुम्बिनी आउने पर्यटकलाई सौराहा पठाउन आग्रहसमेत गर्नुभयो ।
संघका पूर्वअध्यक्ष ज्ञानबहादुर बिसुरालले पर्यटन, कृषि र बालबालिकाका अधिकारलाई प्राथमिकता दिएर आफूहरूले काम गरिरहेको बताउनुभयो । नारायणगढ-बुटवल सडककै कारण पर्यटकले सास्ती खेपेको सुनाउँदै सबैले दबाब दिएर समयमै सडक निर्माण सक्न पहल गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । व्यवसायी श्रीकृष्ण लम्साल, कमलप्रसाद मरासिनी, मंगल भण्डारी, प्रमोद रिजाल, पल्लभी न्यौपानेलगायतले पनि चितवन र रूपन्देही दुवै जिल्ला उद्योग, व्यापार, पर्यटन र कृषिका लागि मुटु भएको भन्दै सम्बद्ध उद्योग वाणिज्य संघहरूले सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
बुद्ध जन्मस्थल लुम्बिनीसहित रूपन्देहीका पर्यटकीय स्थलको प्रचारप्रसार, प्रवद्र्धन र सहकर्मी उद्योग वाणिज्य संघहरूको अवलोकन तथा अनुभव साटासाट गर्ने उद्देश्यले सिद्धार्थ उद्योग वाणिज्य संघको टोली पूर्वी नेपालको भ्रमणमा छ । संघका अध्यक्ष श्रेष्ठको नेतृत्वमा रहेको २७ सदस्यीय टोलीले वीरगञ्ज उद्योग वाणिज्य संघ, जनकपुर उद्योग वाणिज्य संघ, मोरङ उद्योग संघ, धरान उद्योग वाणिज्य संघ र धनकुटा उद्योग वाणिज्य संघको अवलोकन गरी व्यावसायिक अनुभव आदानप्रदान गर्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच