काठमाडौं । चितवन जिल्ला अदालतले काठमाडौंको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा १५ वर्षपछि पक्राउ परेका माओवादीका पूर्वडिभिजन कमान्डर कालीबहादुर खामलाई थुनामा पठाउन आदेश गरेको छ । बिहीबारदेखि सुरु भएको बहस सकिएसँगै न्यायाधीश दयाराम ढकालको इजलासले खामलाई पुर्पक्षमा थुनामा पठाउन आदेश दिएको जिल्ला अदालत चितवनका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले बताउनुभयो ।
बुधबार साँझ मिसिल आइपुगेपछि बिहीबार खामको बयान सुरु भएको थियो । तर, वादीका तर्फबाट तीन र प्रतिवादी खामका तर्फबाट दुईजना अधिवक्ताले बहस गर्नुभएको थियो । त्यसपछि यो मुद्दा हेर्दाहेर्दैमा राखेर शुक्रबार आदेश भएको हो ।
खाम चैत २० गते काठमाडौंबाट पक्राउ परेका हुन् । उनलाई चैत २१ गते बयानका लागि चितवन अदालतमा उपस्थित गराइएको थियो । काठमाडौं कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठलाई २०६५ वैशाख १५ गते राति २ बजे माओवादी कार्यकर्ताले केही बुझ्ने भन्दै लगेका थिए । त्यसको केही दिनपछि उनको हत्या भएको थियो । हत्या गरेपछि रामहरिको शव त्रिशूलीमा फालेको भेटिएको थियो ।
आज मैले जितेको महसुस गरेको छु : रमिला
व्यापारी रामहरि श्रेष्ठ हत्यामा १५ वर्षपछि पक्राउ परेका माओवादी जनमुक्ति सेनाका तत्कालीन डिभिजन कमान्डर कालीबहादुर खाम पुर्पक्षका लागि थुनामा गएपछि पीडितकी श्रीमती रमिलाले केही जितेको महसुस भएको बताउनुभएको छ । शुक्रबार मृतककी श्रीमती रमिलाले पत्रकारसँग कुरा गर्दै भन्नुभयो, ‘आज मैले अलिकति जितेको महसुस गरेको छु । मैले भर्खरै पहिलो खुड्किलो चढेँ ।’ रामहरिका छोरा रोमनले पनि आफू न्याय पाउन नै लण्डनको बसाइ छाडेर नेपाल आएको बताउनुभयो । ‘म आठ वर्षदेखि बस्दै आएको लन्डन छाडेर वान वे टिकट लिएर यहाँ आएको छु । आज पहिलो सफलता प्राप्त भएको छ’, उहाँले भन्नुभयो ।
रोमनले खामविरुद्ध दायर मुद्दामा राजनीतिक हस्तक्षेपबिना न्याय सम्पादन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले माओवादीकै सरकार भए पनि प्रधानमन्त्री प्रचण्डसँग न्यायका लागि आग्रह पनि गर्नुभयो । चितवन जिल्ला अदालतले शुक्रबार खामलाई थुनामा पठाउने थुनछेक आदेश गरेको छ ।
२०६५ साल वैशाख १५ गते जनमुक्ति सेनाको तेस्रो डिभिजन शक्तिखोरले अनुसन्धानका लागि भन्दै लिएर गएका रामहरिको शव झण्डै एक महिनापछि जेठ १२ गते त्रिशूली नदी किनारमा भेटिएको थियो । शक्तिखोर डिभिजनका तत्कालीन कमान्डर खामको निर्देशनमा ब्रिगेडियर कमान्डर गोविन्दबहादुर बटालासहितको टोलीले यातना दिएर श्रेष्ठको हत्या गरेको आरोप लागेको थियो । खामलाई त्यतिबेला प्रतिवादी बनाएर अदालतमा अभियोगपत्र दायर गरिए पनि उनी पक्राउ पर्न नसकेका कारण मुल्तबीमा राखिएको थियो ।
जन्मकैद सजाय पाएकालाई सफाइ दिएको भन्दै जनकपुर उच्च अदालतमा नाराबाजी
जन्मकैदको सजाय पाएकाहरूलाई सफाइ दिइएको भन्दै उच्च अदालत जनकपुरमा आफन्तले नाराबाजी गरेका छन् । सबैला नगरपालिकास्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समिति गठनको क्रममा २०७१ साल चैत ८ गते भएको घटनामा उच्च अदालत जनकपुरले प्रतिवादीलाई सफाइ दिएको थियो । जिल्ला अदालत धनुषाबाट जन्मकैदको सजाय पाएका तीनजना र एक वर्षको कैद सजाय पाएका बाँकी प्रतिवादीलाई उच्च अदालत जनकपुरले सफाइ दिएपछि फैसलाप्रति असन्तुष्टि जनाउँदै अदालत परिसरमा आफन्तले नाराबाजी गरेका हुन् ।
मृतक रामसेवक राउतका छोरा सञ्जीव राउत र सोही घटनामा घाइते भएका रामसागर साहले अदालत परिसरमै अदालतको फैसलाविरुद्ध नाराबाजी गरेका हुन् । अदालत परिसरमै नाराबाजी गरेको भन्दै प्रहरीले राउत र साह दुवै जनालाई पक्राउ गरेको छ ।
यसअघि, चैत २२ गते जिल्ला अदालत धनुषाबाट जन्म कैदको सजाय पाएका महेन्द्र यादव, महेश यादव र रासबिहारी भन्ने लालविबहारी यादवसहित एक वर्षको कैद सजाय पाएका १९ जनालाई उच्च अदालत जनकपुरले जिल्लाको फैसला उल्ट्याउँदै अभियोग दाबीबाट सफाइ दिएको हो । उच्च अदालत जनकपुरको इजलास नम्बर ४ मा न्यायाधीशहरू किरणकुमार पोखरेल र ओमप्रसाद अर्यालको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै प्रतिवादी सबैलाई सफाइ दिने फैसला सुनाएको हो । सबैला नगरपालिका १ स्थित मदन आश्रित निम्न माध्यमिक विद्यालय व्यवस्थापन समिति गठन विवादमा २०७१ साल चैत ८ गते राति भएको दुईतर्फी भिडन्तको क्रममा स्थानीय रामसेवक राउत गडेरी र रामप्रकाश यादवको मृत्यु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच