काठमाडौं । नेपाली कांग्रेसमा पदको भागबण्डाको लागि आन्तरिक विवाद नौलो विषय होइन । पार्टी स्थापना कालदेखि नै कांग्रेसमा भागबण्डाको लागि चरम विवाद हुँदै आएको इतिहास छ । यस प्रकारको विवाद अहिले पनि बेलाबखत प्रकट भइरहेको छ । कहिलेकाहीँ त भागबण्डाको विवादले एउटै पार्टीका नेताहरूबीच पानी बाराबारको स्थितिसम्म सृजना हुने गरेको छ । आगामी वैशाख १५ गते हुने इलाम-२ र बझाङ प्रदेशसभा-१ मा उपनिर्वाचनको लागि उम्मेदवार तय गर्ने विषयमा पनि कांग्रेसभित्र निकै रस्साकस्सी चल्यो । अरू प्रतिस्पर्धी दलका उम्मेदवार उपचुनावको दौडाहामा लागिसक्दा संसद्को ठूलो दल कांग्रेसका टिकट आकांक्षीहरू काठमाडौंमै रुमल्लिरहेका थिए । उम्मेदवार चयनमा चार दिनसम्म लम्बिएको बैठकले निष्कर्ष नदिँदा चुनाव तयारी नै प्रभावित भयो । सहमतिका लागि समय लगाएको तर्क गरिए पनि कांग्रेसले अन्ततः सभापति शेरबहादुर देउवाको इच्छा अनुसारकै व्यक्तिलाई उपनिर्वाचनको उम्मेदवार बनाएको छ ।
इलाम-२ मा डम्बर खड्का र बझाङ प्रदेशसभा (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने संसदीय बोर्डको बैठकले निर्णय लियो । पार्टीको लगातार चार दिन बैठक बोलाएर पार्टी सभापति शेरबहादुर देउवाले अपेक्षित रूपमै आफू अनुकूलका व्यक्तिलाई उम्मेदवार बनाउने निर्णय गराउनुभयो । देउवाका लागि खड्का र सिंहको पक्षमा निर्णय गराउन सहज भने भएन । खड्का र सिंहको पक्षमा आफू रहेको संकेत देउवाले १९ चैतको बैठकमै गराउनुभएको थियो । पदाधिकारी र पूर्व–पदाधिकारीको बैठकमा सभापति देउवाले कुनै उम्मेदवारको पक्षधरता लिनुभएन । तर, आफूनिकट नेता ज्ञानेन्द्रबहादुर कार्कीलाई आफ्नो चाहना अनुसारको अभिव्यक्ति दिन लगाउनुभयो । उक्त दिनको छलफलमा नेता कार्कीले विभिन्न तर्क प्रस्तुत गर्दै डम्बर खड्का र अभिषेक सिंहलाई उम्मेदवार बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
संसदीय बोर्डको बैठकअघि इलाम0२ का आकांक्षीलाई सभापति देउवानिवास बूढानीलकण्ठ बोलाउनुभएको थियो । डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल र रमेश लिङ्देन देउवा निवासमा पुग्नुभएको थियो । उक्त छलफलमा पदाधिकारीबाट सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्का मात्रै सहभागी हुनुहुन्थ्यो । उक्त बैठकमा उम्मेदवारका आकांक्षी खड्काले चुनाव सहजै जित्ने दाबी देउवासँग गर्नुभएको थियो । सभापति देउवासँग आचार्यले सिंगो संगठनको बल आफूलाई रहेकाले आफूबाहेक अरूले जित्न नसक्ने ठोकुवा नै गर्नुभएको थियो । अर्का आकांक्षी नगेन्द्र कुमालले जनजाति र युवा पुस्ता भएकाले आफ्नो उम्मेवारीले जित निकाल्न सकिने तर्क राख्नुभयो ।
मंगलबार बोलाइएको संसदीय बोर्ड र कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले पटक-पटक खड्का र सिंहको नाम दोहोर्याउनुभएको सहभागी एक नेताले जानकारी दिए । खड्का उम्मेदवार बन्ने आधार दिँदै देउवाले ११४ मतान्तरलाई पुनः उम्मेदवारीको मूल कारण देखाउनुभयो । अघिल्लो निर्वाचनमा जो पराजित भएको हो उही उपचुनावमा उम्मेदवार बन्न पाउनुपर्छ भन्ने उहाँको तर्क थियो । गत निर्वाचनमा पराजित भएकाले नलड्ने भए मात्रै अर्कोले पाउने देउवाको तर्क थियो ।
यद्यपि, बैठकमा निर्णय गराउने गरी व्यक्तिको नाम भने लिखित रूपमा बैठकमा प्रस्ताव राखेनन् । नेता शेखर-गगन पक्षले भने इलाम-२ मा भेषराज आचार्यको पक्षमा जोड दिए । भूगोलमा आचार्यको उपस्थिति बलशाली रहेकाले उनलाई उम्मेदवार बनाउने पक्षमा मत शेखर-गगन समूहका नेताहरूले राखे । लामो समय कांग्रेसको राजनीतिमा क्रियाशील र कार्यकर्ताको सहानुभूति आचार्यमा रहेको संस्थापनइतरको जिकिर थियो । मंगलबारको बैठकमा दुवै पक्ष टसमस नभएपछि देउवाले बुधबारलाई बैठक डाक्नुभयो । बुधबारको बैठकमा भने देउवाले खड्का र सिंहलाई उपनिर्वाचनको उम्मेदवार बनाउने प्रस्ताव लिखित रूपमा ल्याउनुभयो ।
देउवाको प्रस्तावलाई शेखर-गगन पक्षका नेताहरूले स्वीकार्न तयार भएनन् । बुधबार उम्मेदवार टुंगिन नसकेपछि देउवाले बिहीबार बिहान उम्मेदवारका आकांक्षी सहितको बैठक डाक्नुभएको थियो । देउवाले पदाधिकारी सहितको बैठकमा खड्काले चुनाव जितेर आउने दाबी गर्नुभयो । जिल्ला सभापति भएको र अघिल्लो पटकको उम्मेदवार भएकाले आफ्नो दाबी स्वाभाविक भएको पदाधिकारीलाई सुनाएको खड्काले बताउनुभयो । अर्का आकांक्षी आचार्यले कांग्रेसको एक सिट बढाएर देखाउने दाबी गर्नुभएको थियो । देउवाको जोडबलमा पुनः टिकट पाउनुभएका खड्का निर्माण व्यवसायी पनि हुनुहुन्छ ।
बझाङ प्रदेश सभामा १० जनाको नाम सिफारिस भएको थियो । नेताहरूको छलफल हुँदा मुख्यतः अभिषेक सिंह र जगत जोशीको नाममा छलफल केन्द्रित गरे । टिकट प्राप्त गर्नुभएका सिंह दुर्घटनामा निधन हुनुभएका सुदूरपश्चिमका तत्कालीन मन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुनुहुन्छ । पुराना नेता भएकाले जोशीलाई उम्मेदवार बनाउनुपर्ने पक्षमा संस्थापनइतरका नेताहरू थिए । दुर्घटनामा बुबाको निधन भएकाले छोरालाई टिकट दिनुपर्ने अडान देउवाले लिनुभयो । प्रदेश सभामा टिकट पाउनुभएका सिंह गत निर्वाचनमा स्थानीय तहको वडाध्यक्षमा पराजित हुनुभएको थियो । अन्ततः नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापा समूहको असहमतिबीच सभापति शेरबहादुर देउवाले आफूले चाहेका व्यक्तिहरूलाई टिकट दिलाउन सफल हुनुभयो ।
देउवाले एकलौटी आफू पक्षका नेताहरूलाई टिकट दिएकोप्रति इतर पक्ष सन्तुष्ट छैन । देउवाले एकलौटी निर्णय गराएर आफूले चाहेका नेताहरूलाई टिकट दिए पनि पार्टीको निर्णय मान्नुको विकल्प नभएको इतरपक्षका नेताहरूको निष्कर्ष छ । कांग्रेसले टिकट दिनुअघि महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्दाङ्बेलाई रियल ग्राउण्ड बुझ्न पठाएको थियो । इलाम पुगेर फर्किएका नेताहरूको कुरा सुनेपछि देउवाले गत निर्वाचनमा १४४ मतले पराजित खड्कालाई नै उम्मेदवार बनाउने अडान लिनुभएको संस्थापन पक्षका नेताहरूको भनाइ छ । शेखर-गगनले मात्रै होइन पछिल्लो समय देउवानिकट रहनुभएका शशांक कोइरालाले पनि हारेको व्यक्तिलाई टिकट दिन नहुने प्रस्ताव देउवासमक्ष राख्नुभएको थियो ।
उपनिर्वाचनमा अन्य दलसँग पनि सहकार्य हुनसक्छ : विश्वकर्मा
नेपाली कांग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीको उम्मेदवार जिताउन अन्य दलसँग पनि सहयोग माग्ने निर्णय गरेको छ । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले केही दलहरूसँग सहकार्यको वातावरण बन्नसक्ने सम्भावना रहेको संकेत गर्दै भन्नुभयो, ‘निर्वाचन जित्नको लागि सबैको सहयोग आहृवान गर्छौँ । व्यक्तिगत मतदाता र अन्य दलसँग पनि उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छौँ । अपिल गर्दै गर्दा केही दलहरूसँग त्यस्तो परिस्थिति बन्यो भने सहकार्य पनि हुनसक्छ ।’ उपनिर्वाचनको लागि उम्मेदवारीको आकांक्षा राखेका तर टिकट नपाएका आकांक्षीहरूले पार्टीका उम्मेदवारलाई इमानदारीपूर्वक सघाउने प्रतिबद्धता जनाएका छन् ।
ममाथि अन्याय भयो : नन्दकृष्ण जोशी
मैले टिकट पाउनुपर्ने हो । कांग्रेस त्याग र बलिदानीको पार्टी हो । त्यसको व्याख्या अहिले हुन सकेन । व्यवहारमा त छँदै छैन, व्याख्या पनि हुन सकेन । हामी अहिलेको होइन पञ्चायत कालदेखिको हो । लडेको मान्छे हो । राजाका विरुद्धमा मात्रै होइन पञ्चायतका विरुद्धमा पनि लडेका हौँ । ४६ वर्षको मेरो राजनीतिक जीवन छ । मेरो दाबा थियो । विडम्बना भनौँ । म मात्रै होइन अरूले पनि दुःख पाएका छन् । बझाङको सन्दर्भमा ममाथि अन्याय भएको छ । म निष्ठावान कार्यकर्ता हुँ । पार्टीले निर्णय गरिसकेपछि मेरो सहयोग र समर्थन रहन्छ नै । मबाट कुनै बदमासी हुँदैन । मेरो रगतमा बदमासीको कुनै नसा छैन । म आफैँ खटिन्छु । जिताउन खटिनेछु । कांग्रेसलाई एकजुट बनाउन पहल गर्छु । हामी जित्छौँ भन्ने लाग्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच