काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा जनप्रदर्शन गरेको छ । राजसंस्था पुनःस्थापनासहित विभिन्न ४० बुँदे माग राखेर राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो । राप्रपाले राजसंस्था पुनःस्थापना, हिन्दूराष्ट्र कायम, संघीयता खारेजीलगायत ४० बुँदे मागपत्र गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको थियो । प्रधानमन्त्री प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाब सिर्जनाका लागि जनप्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा ठाउँठाउँमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग घम्साघम्सी भएको थियो । निषेधित क्षेत्र तोडेर सिंहदरबारको मूल गेटतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीले पानीको फोहोरा, अश्रुग्यास र लाठीचार्जसमेत गरेको थियो । काठमाडौंको भृकुटीमण्डपबाट सुरु भएको राप्र्रपाको प्रदर्शन भद्रकाली हुँदै सिंहदरबारतर्फ अघि बढेको थियो । सिंहदरबार गेट अगाडिबाट प्रहरीले बल प्रयोग गरेर हटाएपछि उनीहरू माइतीघर र बानेश्वरतर्फ अघि बढेका थिए । त्यहाँ पनि प्रहरीले बल प्रयोग गरेर हटाएको थियो । प्रदर्शनकारी र प्रहरीबीच ठाउँठाउँमा दोहोरो झडपको स्थिति बनेको थियो । त्यसक्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो भने प्रहरीको लाठी लागेर केही घाइतेसमेत भएको राप्रपाले जनाएको छ ।
प्रहरीले राप्रपा महामन्त्रीसमेत रहनुभएका सांसद ज्ञानेन्द्र शाहीलाई केहीबेर नियन्त्रणमा लिएर छोडेको थियो । राप्रपाको जनप्रदर्शनका कारण मंगलबार दिनभर काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दा सर्वसाधारणले दिनभर दुःख पाएका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न स्थानमा गत फागुन ५ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । काठमाडौंको माइतीघर, नयाँ बानेश्वर, शीतल निवास (राष्ट्रपति कार्यालय), सभामुख निवास, प्रधानमन्त्री निवास बालुवाटार र ललितपुरको पुल्चोकस्थित मन्त्री निवासलगायत क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ ।
राप्रपाले राखेको ४० बुँदे मागपत्रमा सरकारी कर्मचारी तथा पेशागत दलीय भ्रातृ संगठनहरूको खारेजी हुनुपर्ने, संवैधानिक नियुक्तिहरूमा दलीय भागबण्डा नहुने संवैधानिक सुनिश्चितता हुनुपर्ने, शिक्षा र स्वास्थ्य सुधार हुनुपर्नेलगायत उल्लेख छ । यस्तै, सहकारी तथा लघुवित्तको समस्या समाधान हुनुपर्ने, ललितानिवास, वाइडबडी, नक्कली भुटानी शरणार्थी, ठूलो सुनकाण्ड लगायतको निष्पक्ष छानविन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग पनि राप्रपाको छ ।
गृहमन्त्रीको चर्को आलोचना
आफूहरूको जनप्रदर्शनमा दमन गरेको भन्दै राप्रपाले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री लामिछानेको राजीनामा माग्नुभएको हो । पार्टीको जनप्रदर्शनमा प्रहरीमार्फत व्यापक दमन गरिएको भन्दै उहाँले गृहमन्त्रीको राजीनामा माग्नुभयो । प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै उहाँले गृह प्रशासन र मन्त्रीको भत्र्सना गर्नुभयो । ‘म गृहमन्त्री रवि लामिछानेलाई चेतावनी दिएर भन्न चाहन्छु । आजको दिनलाई हामी सम्झनामा राख्छौँ । अब हामी गृहमन्त्रीको राजीनामा माग्छौँ । ४० बुँदे मागमा एउटा यो बुँदा थपिएको छ,’ उहाँले भन्नुभयो । प्रहरीको बल प्रयोगबाट आफ्ना थुप्रै नेता कार्यकर्ता घाइते भएको लिङ्देनले बताउनुभयो ।
गृहमन्त्री लामिछानेलाई उहाँले निर्मला पन्तको हत्या गर्ने व्यक्ति को हो ? भनी प्रश्नसमेत गर्नुभयो । उहाँले सहकारीको रकम ठगी प्रकरणमा लामिछानेमाथि छानविन नै गर्न नहुने कुन देशको व्यवस्था हो ? भन्दै प्रश्न गर्नुभयो । ‘सुशासनको कुरा अरूलाई मात्र लागू हुने, तपाईंलाई लागू नहुने भन्ने हुन्न गृहमन्त्रीज्यू । देशले प्रश्न उठाइराखेको छ । सहकारीको विषयमा तपाईंले सफाइ दिनुपर्दैन ?,’ उहाँले प्रश्न गर्नुभयो, ‘तपाईंले छानविनका लागि बाटो खोलाउनु पर्दैन ? रवि लामिछानेलाई छानविन नै गर्नु नपर्ने कुन देशको व्यवस्था हो ?’ कुकर्म ढाकछोप गर्न वर्तमान सत्ता गठबन्धन बनाइएको उहाँले आरोप लगाउनुभयो । २०४६ सालपछिका राजनीतिक नेताहरूको सम्पत्ति छानविन गर्नुपर्ने उहाँको माग थियो ।
‘प्रधानमन्त्री विदेशीको चाकडीमा व्यस्त’
राप्रपा अध्यक्ष लिङ्देनले प्रधानमन्त्री विदेशीको चाकडीमा लिप्त भएको आरोप लगाउनुभयो । जनप्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै उहाँले नेपालका राजनीतिक दलहरू विदेशीको इसारामा चलिरहेको आरोप लगाउनुभयो । ‘अहिले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुहुन्छ । तर, उहाँलाई देशको भन्दा गोरखा-२ को चिन्ता छ । अहिलेको प्रधानमन्त्री एउटा निर्वाचन क्षेत्रको हुन्छ । तर, सिंगो देशवासीले चुनेको प्रधानमन्त्री भयो भने त्यो प्रधानमन्त्रीले देशको बारेमा चिन्ता गर्छ,’ उहाँले भन्नुभयो, ‘त्यो देशप्रति उत्तरदायी प्रधानमन्त्रीले विदेशीहरूसँग कुरा गर्दा पनि हैसियतमा कुरा गर्छ । अहिले कुन पार्टी कुन विदेशीहरूले चलाइदिएको छ भन्ने कुरा भन्ने थाहा हुँदैन । कुन पार्टीलाई कहाँ छुटाइदेला, सरकारबाट लडाइदेला भनेर प्रधानमन्त्री विदेशीको चाकडीमा व्यस्त हुनुहुन्छ ।’
लिङ्देनको चुनौती- नयाँ सम्झौताका लागि तयार नभए भाग्न तयार हुनुस्
पहिलो दिनको कार्यक्रममा बल प्रयोग गरिए पनि आफूहरू पछि नहट्ने उहाँले बताउनुभयो । आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै बरु मर्न तयार हुने तर आन्दोलनबाट पछि नहट्ने उहाँले बताउनुभयो । मंगलबारको प्रदर्शनलाई गणतन्त्रप्रतिको ‘टेष्ट’ भन्दै योभन्दा कडा आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो । आफूहरूले देशलाई पछाडि फर्काउने कुरा नगरेको उहाँको भनाइ थियो । नयाँ सम्झौताका निम्ति तयार रहन उहाँले सरकारलाई आग्रह गर्नुभयो । ‘नयाँ सम्झौताका लागि तपाईंहरू तयार हुनुुस् । होइन भने तपाईंहरू भाग्न तयार हुनुस्,’ उहाँले भन्नुभयो, ‘देशले यो स्थिति धान्न सक्दैन । आफ्ना युवा बेचेर देश कसरी चलाउनुहुन्छ ?’ ठूला भनिएका सबै पार्टीले मिलेर भ्रष्टाचार गरेको आरोपसमेत उहाँले लगाउनुभयो । राजसंस्था हुँदाजस्तो गौरव राष्ट्रपति हुँदा नभएको लिङ्देनको दाबी छ । ‘राष्ट्रपति न राष्ट्रिय एकताको प्रतीक हुनुहुने रहेछ न त हामी सबैको अभिभावक हुने रहेछ । दलबाट निर्वाचित हुने राष्ट्रपति दलकै कारिन्दा हुने रहेछ भन्ने घटनाक्रमले देखाएको छ,’ उहाँले भन्नुभयो ।
आज ट्रेलर देखायौँ, अब फिल्म सुरु हुन्छ : मिश्र
राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रले आफूहरूले ‘ट्रेलर’ मात्रै देखाएको दाबी गर्नुभएको छ । मंगलबार जनप्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै उपाध्यक्ष मिश्रले अब ‘फिल्म’ देखाउने बताउनुभयो । ‘आज ब्लकबस्टर फिल्मको ट्रेलर मात्रै देखाएका छौँ,’ उहाँले भन्नुभयो, ‘फिल्म अब सुरु हुन्छ ।’ उहाँले गृहमन्त्री लामिछानेको पनि चर्को आलोचना गर्नुभयो । लामिछाने सञ्चारकर्मी भएको भए प्रहरीको ‘दमन’ हेरेर गृहमन्त्रीलाई नालायक घोषणा गर्ने उहाँको भनाइ थियो । ‘सञ्चारकर्मी भएको भए रवि लामिछानेले ठूलो स्वरमा भन्नुहुने थियो- नालायक गृहमन्त्रीले मात्र यस्तो दमन गर्छ,’ मिश्रले भन्नुभयो, ‘तर, उहाँ आफैँ गृहमन्त्रीको कुर्सीमा बसेर जनताको स्वतन्त्रतामाथि दमन हुँदै छ । उहाँ के भन्नुहुन्छ ?’ ३० हजार रुपैयाँ तलबमा खाने, लाउने, सन्तान पाल्ने, पढाउने अवस्था नभएको भन्दै उहाँले प्रहरीलाई समेत व्यवस्था बदल्ने अभियानमा साथ दिन आहृवान गर्नुभयो । ‘तपाईंहरू (प्रहरी) हिजो माओवादी युद्धमा माओवादीसँग लड्नुभयो, अंगभंग भयो, ज्यान गुम्यो । कांग्रेस, एमालेले गरेको आन्दोलनमा लड्नुभयो, घाइते हुनुभयो । तपाईंहरूको अवस्था कहिले परिवर्तन हुन्छ ?,’ मिश्रले भन्नुभयो, ‘अब नागरिक देशमा बस्न नसक्ने, देशप्रति आशा नजाग्ने यो व्यवस्था ढाल्न साथ दिनुहोस् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच