काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारलाई आग्रह गर्नुभएको छ । सिंहदरबारमा मंगलबार आयोजित नेपालस्थित कूटनीतिक नियोग एवं विकास साझेदारको बैठकमा उहाँले नेपाललाई लगानी गन्तव्यका रूपमा स्थापित गर्न विकास साझेदार र नेपालमा रहेका सबै देशका कूटनीतिक नियोगको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
प्रधानमन्त्रीले लगानी सम्मेलनको सफलता सम्भावित लगानीकर्ताले देखाएको चासो, कानुनी र नीतिगत सुधारहरूमार्फत् अनुकूल व्यापार वातावरणको सिर्जना गरिएको जानकारी गराउनुभएको छ ।
संघीय सरकारका मन्त्रालयसँगै प्रादेशिक र स्थानीय सरकारका परियोजनालाई समान प्राथमिकतामा राखिएको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले सरकार लगानीमैत्री वातावरण बनाउन कानुन परिमार्जन, प्रक्रियागत सुधार गर्न र परियोजना अवधिभर लगानीकर्तालाई अवरोध हुन नदिने वातावरण सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘सम्मेलनले घरेलु निजी क्षेत्र र अन्तर्राष्ट्रिय प्रतिनिधिबीचको अन्तरक्रिया र सञ्जाललाई उत्पादन मूल्य शृंखलामा लगानी बढाउन, नेपाली उत्पादन एवं सेवा विश्व बजारमा जोड्ने मञ्च प्रदान गर्नेछ, लगानी सम्मेलनको यस मञ्चले लगानीकर्ता, विकास साझेदार, वित्तीय संस्थालगायत सरोकारवालालाई एकजुट हुन, अवसर खोज्न, दीर्घकालीन साझेदारीलाई बढावा दिन सहज तुल्याउनेछ ।’
विद्यमान र सम्भावित लगानीकर्तालाई आवश्यक पर्ने कुनै पनि सहयोग उपलब्ध गराउन नेपाल सरकार तयार रहेको पनि उहाँले विश्वास दिलाउनुभयो । सरकारले विभिन्न क्षेत्रमा विदेशी तथा स्वदेशी निजी लगानी आकर्षित गर्न सम्मेलन आयोजना गरेको जानकारी दिँदै प्रधानमन्त्रीले लगानी सम्मेलनको सफलता सम्भावित लगानीकर्ताले देखाएको चासो, कानुनी र नीतिगत सुधारहरूमार्फत् अनुकूल व्यापार वातावरणको सिर्जना गरिएको जानकारी गराउनुभयो । सरकारले आगामी वैशाख १६ र १७ गते काठमाडौंमा आयोजना गर्न लागेको तेस्रो लगानी सम्मेलनको तयारी तीव्र पारेको छ । इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट-०२४ भन्ने नाराका साथ आयोजना हुने लगानी सम्मेलनमा लगानी आकर्षित गर्न आवश्यक ठानिएका नीतिगत तथा कानुनी स्पष्टता, ‘सोकेस’का आयोजनाको पूर्वतयारी, सम्मेलनको प्रचारप्रसार तथा अतिथि निम्तालगायतका कामलाई तीव्रता दिइएको छ ।
लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार लगानी सम्मेलनमा ‘सोकेस’मा लैजानका लागि एक सय २५ आयोजना पहिचान भएका छन् । जसमध्ये तीनवटाको लगानी सम्मेलनका क्रममा परियोजना विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट(पिडिए) गर्ने तयारी छ । सम्मेलनमा नेपाल–चीनमैत्री औद्योगिक पार्क, माथिल्लो मस्र्याङ्दी-२ जलविद्युत् आयोजना, कोहलपुर तथा वाणगंगा सौर्य ऊर्जा आयोजनाको पिडिए सम्झौता हुँदैछ । त्यस्तै, डाबर नेपालसँग आयोजना लगानी सम्झौता (प्रोजेक्ट इन्भेस्टमेन्ट एग्रिमेन्ट-पिआइए) को पनि तयारी छ । सम्मेलनमार्फत् विभिन्न २० आयोजनाका लागि लगानीकर्तासँग आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट-इओआई) माग गरिँदैछ भने अघि बढाउन सकिने सम्भावित आयोजनाका रूपमा ‘मार्केट साउण्डिङ प्रोजेक्ट’ छवटा, पहिचानको प्रारम्भिक चरणका ३३, वित्तीय लगानी जुटाउने अवस्थाका २० आयोजना सोकेसमा लगिँदैछ ।
निजी क्षेत्रको लगानीका १८, निजी क्षेत्रमार्फत् लगानी प्रवद्र्धन गर्न खोजिएका १२ र अन्य १२ आयोजना पनि सोकेसमा राखिँदैछन् । दुई दिनसम्म चल्ने सम्मेलनमा १० भन्दा बढी सत्र र ५० जना बढी वक्ता रहने अनुमान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच