सुर्तीजन्य पदार्थका कारण वार्षिक ८० लाखको मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ भन्ने नाराका साथ नेपालमा पनि मे ३१ अर्थात् मंगलबार विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइएको छ । यस वर्षको नाराले सुर्तीजन्य पदार्थले मानव स्वास्थ्यमा मात्र नभई वातावरणमा पनि गम्भीर असर पार्दछ भन्ने विषय समेटेको छ ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका अनुसार विश्वभर वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १० लाखको सँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारण मृत्यु हुने गर्छ ।

नेपालमा हरेक वर्ष २७ हजार एक सय ३७ को मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ, जुन संख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो । सुर्तीजन्य पदार्थ सेवनले विभिन्न नसर्ने रोगहरूः क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्छ ।

सुर्तीजन्य पदार्थले वातावरणमा पनि गम्भीर असर गर्छ । सुर्तीजन्य पदार्थको खेती र उत्पादन गर्ने क्रममा, प्रयोग/सेवन गर्दा र प्रयोगपछिका फोहोरले पानीका स्रोत, माटो, वायु र शहर नै प्रदूषित भइरहेको छ । विश्वमा उत्पादन गरिने सुर्तीजन्य पदार्थमध्ये ९० प्रतिशत विकासोमुख देशमा उत्पादन गरिन्छ ।

न्यून तथा मध्यम वर्गीय देशका किसान तथा सरकारले सुर्तीजन्य पदार्थ उत्पादनलाई राम्रो आयस्रोतका रूपमा लिने गरेको तर भविष्यमा निम्त्याउने गम्भीर समस्या जस्तैः खाद्य असुरक्षा, रोग, गरिबी र वातावरणीय असरबारे ध्यान नदिइएको केन्द्रद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?