-राजेन्द्र गौतम
झापा । सूचना प्रविधि तथा सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सबै समस्याको हल संवाद र छलफलबाट सम्भव भएपनि राजतन्त्र ल्याउँछु भन्नेसँग वार्ता नहुने बताउनु भएको छ ।
बुधबार झापाको बिर्तामोडमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले पश्चागामी सोच र उद्देश्य प्रेरित आन्दोलनको कुनै अर्थ नहुने स्पष्ट पार्नुभयो।
"अग्रगमनले मात्रै समाज रुपान्तरण र मुलुकको विकास सम्भव छ " उहाँले भन्नुभयो," राष्ट्रिय प्रजातन्त्र पार्टीको एजेन्डा र आन्दोलन पश्चागामी चरित्रको हो, त्यस्तो एजेन्डा बोकेर आन्दोलन गर्नेसँग सरकारले वार्ता गर्दैन ।"
सरकारको प्रवक्ता समेत रहनु भएको उहाँले निषेधित एरिया तोड्ने प्रयास भएपछि मंगलबार प्रहरीले बल प्रयोग गरेको बताउनुभयो। " आफैँ नियम बनाउने, आफैँ मान्दिनँ भन्न पाइदैन" राप्रपाका सांसद ज्ञानेन्द्र शाहीमाथि भएको प्रहरी हस्तक्षेप तर्फ लक्ष्य गर्दै उहाँले भन्नुभयो, " सांसदले बढी जिम्मेवार हुनुपर्छ, नियम पालना गर्नुपर्छ। " यद्यपि, सो घटनाका बारेमा सरकारले बुझ्ने बताउनु भयो।
उहाँले अग्रगामी चेतनासाथका सडकमा आउने , लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन गर्ने छुट सबैलाई हुनेमा शंका नगर्न आग्रह गर्नुभयो। स्वतन्त्रताको आडमा नियम कानुन मिच्ने छुट सांसद, मन्त्री वा जो कसैलाई नहुने र पदीय जिम्मेवारीमा रहेको व्यक्ति बढी जिम्मेवार हुनु पर्नेमा मन्त्री शर्माले जोड दिनुभयो ।
प्रेस सेन्टर झापाले आयोजना गरेको सो पत्रकार भेटघाटमा उहाँले इलाममा जनाधार नभएर नभै, सहकार्य र नयाँ सत्ता समीकरणलाई नयाँ शिराबाट अघि बढाउने दीर्घकालीन सोच र योजनाका साथ नेकपा माओवादी केन्द्रले उम्मेदवार नउठाएको बताउनु भयो ।
" पार्टी अभिमतबाट भागेको, डराएको केही पनि होइन, हाम्रो त्यहाँ राम्रै जनाधार छ, " उहाँले भन्नुभयो," सुवास नेम्वाङ सधैं राजनीतिक एकता र सहकार्यमा जोड दिइरहनु हुन्थ्यो, उहाँकै सम्मानमा पार्टीले सुहाङलाई समर्थन गर्ने निर्णय गरेको हो ।" इलाममा पार्टीको उम्मेदवार नरहेको कुरामा त्यहाँभन्दा बढी नबुझ्न र अन्यथा लिन नपर्ने धारणा उहाँको थियाे ।
मन्त्री शर्माले गृहमन्त्रीको रवि लामिछाने लक्षित संसद र सडकमा भइरहेको विरोधलाई राजनीतिक पूर्वाग्रहको संज्ञा दिनुभयो। उहाँले दूरसञ्चार , सुन, शरणार्थी, सहकारी काण्डमा दोषी देखिए सरकारले कसैलाई नछाड्ने जिकिर गर्नुभयो।
मन्त्री शर्माले मुलुकमा आमसञ्चार र सूचना प्रविधिलाई समेट्ने कानुन नै नभएकोले आफ्नो मन्त्रालय सो काममा जुटेको बताउनु भयो । उहाँले मिडिया काउन्सिल ऐन भोलि संसदमा दर्ता हुने बताउनु भयो ।
साइबर सुरक्षा केन्द्र स्थापना र सामाजिक सञ्जाल निर्देशिका प्रस्तुत भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले प्रेस काउन्सिललाई विस्थापित गरेर मिडिया काउन्सिल बन्नु पर्नेमा जोड दिनु भयो।
मन्त्री शर्माले फरक प्रसंगमा आवश्यकता परे संविधान संशोधनका लागि दलहरू तयार हुनुपर्ने बताउनुभयो । देश विकास, व्यप्त निराशा हटाउन र चित्तबुझ्दो परिणामका लागि कम्युनिष्ट एकता जरुरी भएको उहाँको तर्क छ।
माओवादी केन्द्रको स्थायी कमिटी सदस्य समेत रहनु भएको उहाँ पार्टीको महिला संगठन अनेमसंघको जिल्ला बेलालाई सम्बोधन गर्न झापा आउनु भएको हो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच