काठमाडौं । एसियाली विकास बैंक(एडिबी)ले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बिहीबार काठमाडौं मा ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गर्दैै नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने जनाएको हो । एडिबीले गत आर्थिक वर्ष २०७९/०८० मा नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको भए पनि वास्तविक वृद्धिदर १.८६ प्रतिशत कायम भएको थियो । यस वर्षको उत्साह आगामी वर्ष पनि कायम रहँदै सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत हासिल हुने एडिबीको प्रक्षेपण छ । चालु आर्थिक वर्ष धान उत्पादनका साथै ऊर्जा उत्पादन सकारात्मक रहेको देखिएको एडिबीले जनाएको छ ।
निर्माण र व्यापार केही सुस्ताए पनि सो क्षेत्रमा सुधार भए अर्थतन्त्र अझ धेरै विस्तार हुने बताइएको छ । यसअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत् छ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको थियो । केद्रीय तथ्यांक कार्यालयले गत साता आर्थिक वर्षको दोस्रो त्रैमासमा चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको थियो ।
यस वर्षको उत्साह आगामी वर्ष पनि कायम रहँदै सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशत हासिल हुने एडिबीको प्रक्षेपण छ ।
समग्र दक्षिण एसियाको वृद्धिदर भने छ प्रतिशत रहने बताइएको छ । जसमा सबैभन्दा धेरै भारतमा सात प्रतिशत र अन्य छ देशको सकारात्मक भए पनि अफगानिस्तानको भने शून्य हुने एडिबीले जनाएको छ ।
साथै एडिबीले नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन व्यापार सहजीकरणको प्रयास बढाउनुपर्ने सुझावसमेत दिएको छ । यस वर्ष नेपालको मूल्य वृद्धिदर ६.५ प्रतिशत रहने अनुमान गर्दै एडिबीले नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०८०/०८१ मा क्रमशः सुधार हुँदै जाने जनाएको छ ।
मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको छ ।
कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले गति लिने अध्ययनको निष्कर्ष रहेको छ । आर्थिक वर्ष २०८०/०८१ को पहिलो छ महिनामा बचत रहे पनि चालु खाता पुनः घाटामा जान सक्ने अध्ययनले देखाएको छ ।
अघिल्लो आर्थिक वर्षको पहिलो छ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा आर्थिक वर्ष २०८०/०८१ मा ४.७ प्रतिशतले घटेको छ भने सो अवधिमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले बढेको छ । चालु खाता बचत १.२ बिलियन अमेरिकी डलर पुगेको छ । तर, चालु आर्थिक वर्षको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले आर्थिक वर्ष २०८०/०८१ मा चालु खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ०.७ प्रतिशत पुग्ने प्रक्षेपण छ । अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै एडिबीका सिनियर इकोनोमिक अफिसर मानवर एस खड्काले यस आर्थिक वर्षमा कृषिको उत्पादन सन्तोषजनक रहने बताउनुभयो । मलखाद व्यवस्थापनमा विगतमा जस्तो समस्या नरहेको र विपद्बाट पनि धेरै क्षति नभएकाले कृषि उत्पादन सन्तोषजनक रहने उहाँको भनाइ थियो । ऊर्जा क्षेत्रमा सबस्टेसन, ट्रान्समिसन लाइन बनिरहनुले पनि अर्थतन्त्रमा सकारात्मक ऊर्जा प्रवाह गरेको उहाँले बताउनुभयो ।
खड्काले भन्नुभयो, ‘पर्यटन क्षेत्र महत्वपूर्ण छ । कोरोनाभन्दा धेरै नै राम्रो भएको छ । होटलहरू बन्ने क्रम जारी छ, पर्यटकीय गन्तव्य बढिरहेका छन्, यसले सकारात्मक ऊर्जा पैदा भइरहेको छ । विदेशी पर्यटक आगमनले स्थानीय अर्थतन्त्रमा पनि सहयोग भइरहेको छ ।’
एडिबीले गरिबी निवारणको आफ्नो पहल कायम राख्दै समृद्ध, समावेशी, उत्थानशील र दिगो एसिया प्रशान्त क्षेत्र हासिल गर्न प्रतिबद्ध रहेको जनाएको छ । हालसम्म एडिबीले नेपालका लागि चार सय ९४ सरकारी ऋण, अनुदान तथा प्राविधिक सहायता गरी कुल ७.७ बिलियन डलरको प्रतिबद्धता जनाएको छ । सञ्चित ऋण र अनुदान गरी नेपाललाई कुल ४.९१ बिलियन डलर निकासा गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच