जुम्ला-रारा अल्ट्रा म्याराथनको ४९ किलोमिटर दौडमा धिर बुढा प्रथम

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्ला-रारा अल्ट्रा म्याराथन प्रतियोगिताको जुम्लादेखि मुगुको राराताल सम्म रहेको ४९ किलोमिटर दौडमा जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ का धिर बुढाले प्रथम स्थान हासिल गरेका छन् । कर्णाली स्पोर्टस् क्लब जुम्लाद्वारा आयोजित पाँचौं संस्करणको जुम्ला‐रारा अल्ट्रा म्याराथनकाे दोस्रो स्थानमा जिल्लाको तातोपानी गाउँपालिका-७ का दल कुवर, तेस्रोमा कनकासुन्दरी-३ का शेर बहादुर बुढा र चौथौमा कनकासुन्दरी-२ का चन्द रावत रहेको क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिनुभयो ।

४९ किलोमिटर महिलातर्फ प्रथम स्थानमा खोटाङकी प्रिया राई,दोस्रोमा जुम्लाको गुठिचौर गाउँपालिकी राज्यलक्ष्मी रावत, तेस्रोमा जिल्लाको तिला गाउँपालिकाकी अनिता बुढा रहेको क्लबका अध्यक्ष शाहीको भनाइ छ । ४९ किमीतर्फ प्रथम हुने धावकलाई एक लाख, दोस्रो हुने धावकलाई ७५ हजार, तेस्रो हुने धावकलाई ५० हजार, चौथो हुनेलाई २० हजार र पाँचौँ हुने धावकलाई २० हजार पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष शाहीले जानकारी दिनुभयो ।

म्याराथनमा स्वदेशी तथा विदेशी गरि ८० जना धावकहरु सहभागी भएको क्लबले जनाएको छ । जुम्ला‐रारा अल्ट्रा म्याराथनतर्फ खुला ४९ किमी, खुला पाँच किमी, बालबालिकास्तरीय एक किमी, विद्यालयस्तरीय पाँच किमी, ज्येष्ठ नागरिक, बुबाआमा दौड एक किमी, कर्मचारीस्तरीय पाँच किमी र उद्योग तथा व्यापारीस्तरीय पाँच किमी दौड प्रतियोगिता भएको क्लबले जनाएको छ। विश्वभर खेल पर्यटनलाई चिनाउनका लागि र कर्णाली प्रदेशलाई खेलका माध्यमबाट परिचित गर्ने उद्देश्यले म्याराथन आयोजना गरिएको कर्णाली स्पोर्टस् क्लबले जनाएको छ।

विजयी हुनुभएका बुढाले भन्नुभयाे, -'स्वदेशी तथा विदेशी धावकसंग प्रतिस्पर्धा गर्न पाउँनु मेरो लागि खुसिको क्षण हो । दुई महिनाको कडा तालिमले यो सफलता मिलेको हो । मेरो दौड प्रतिको रुचि २०६६ सालमा प्रथम राष्ट्रपति रनिङ शिल्डको महादेव माविबाट सुरु भएको थियो । विशेषगरी राष्ट्रिय स्तरमा हुने दौड प्रतियोगितामा सफल भएर गाउँ र जिल्लालाई चिनाउन उद्देश्यले मेहनत गरेपछि एकपटक सफलताको काधमा पुगिने रहेछ ।'

खेलाडीलाई स्थानीय सरकारबाट जुन हिम्मत र हौसला पाउनु पर्ने हो त्याे पाउन नसकिएको म्याराथनमा प्रथम हुनुभएका धावक बुढाले हिमालय टाइम्सलाई बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?