भिसीको नियुक्ति प्रक्रियाबाट भएपनि अझै पूर्ण भइसकेको छैन : प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभूवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति योग्यताको आधारमा भएपनि अझै पूर्ण रुपबाट भने नभइसकेको बताउनुभएको छ ।

सोमवार त्रिभूवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै धन्यवाद व्यक्त गर्न पुगेका प्राज्ञिक समूहसँगको भेटमा प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले सबै प्राज्ञिक संस्थाहरुमा राजनीतिक हस्तक्षेप अतिक्रमण रोक्नका लागि प्राज्ञिक समूहले गराएको ध्यानाकर्षण महत्वपूर्ण रहेको बताउनु भयो ।

उहाँले यसको पहल आफूले शुरु गरेको भन्दै अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपति लगायत पदाधिकारीको नियुक्ति नभए शैक्षिक क्षेत्रको सुधार हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले भिसी नियुक्त भइसकेपछि भिसीलाई सहज हुने र टिम दिनुपर्ने र सोहीअनुसार आफूले काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सबै प्राज्ञिक संस्थाहरुमा राजनीतिक हस्तक्षेप अतिक्रमण रोक्नका लागि यो स्टेटमेण्ट छ, यो महत्वपूर्ण छ जस्तै मलाई लागेको छ । यो कहाँबाट शुरु गर्ने, कसले गर्ने ? भन्ने एउटा च्यालेन्ज जस्तो थियो, मैले यो टियुको कन्भोकेसनको बेलामा अब टियुको भिसी र पदाधिकारी मेरिटोक्रेसीको आधारमा मेरिटको आधारमा गर्छु म भनेर त्यहाँ पहिला पब्लिक घोषणा गरेँ । यहाँहरुले भनेको जस्तै सापेक्षित रुपमा भिसीको नियुक्ति एउटा प्रक्रियाबाट गर्न कोशिस गरियो, यद्यपि त्यो पूर्ण भएजस्तो मलाई नि अझै लागेको छैन । अझै त्यो सिस्टमेटाइज गर्न त अझै बाँकी छ । रजिस्टार र रेक्टरको विषय के गर्ने भन्ने आयो । भिसी नियुक्त भइसकेपछि भिसीलाई सहज हुने र टिम दिनुपर्छ र त्यसरी मात्रै विश्वविद्यालयहरुलाई ठिक ठाउँमा ल्याउन सकिन्छ भन्ने थियो ।’

प्रधानमन्त्री दाहालले देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिष्पर्धा जरूरी रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?