म्याग्दी । समुदायको इच्छाशक्ति र सरकारको सहयोग हुने हो भने ऐतिहासिक र सामरिक विरासतका प्राचिन सम्पदाहरु पनि पर्यटकहरुका लागि आकर्षणका केन्द्र बन्न सक्ने रहेछन् भन्ने उदाहरण म्याग्दीको ज्यामरुककोटस्थित ऐतिहासिक खड्गभवानी कोत बनेको छ ।
तत्कालिन पर्वत राज्य अन्तर्गतको प्रमुख सामरिक स्थल ज्यामरुकोट स्थित खड्गभवानी कोतको इतिहास १५औं शताब्दीका थापा राजाहरुसँग जोडिएको छ ।
विसं १२४६ देखि १५४५ सम्म थापाले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ ।
करिव ६ सय वर्ष पुरानो इतिहास रहेको म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पर्ने तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र खड्गभवानी कोतमा पछिल्लो समय समुदाय र गण्डकी प्रदेश सरकाको पहलमा धमाधम पूर्वाधारहरु निर्माण भए पछि यहाँ पर्यटकहरु आउन थालेका छन् । विकासको उज्यालोले यो ऐतिहासिक स्थल उज्यालिदै गएको स्थानीयले बताएका छन् ।
अहिले यो पुरानो सम्पदाको मौलिक स्वरुप नविग्रने गरी पुनः निर्माण गरिने भएको छ । सामरिक स्थलको मौलिकस्वरुप नबिग्रने गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।
नगरपालिकाले ऐतिहासिक कोतको मौलिकस्वरुप यथावत रहनेगरी पुनः निर्माण गर्नका लागि डिपिआर तयार गरेको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।
“पुनः निर्माणका लागि नगरपालिकाले डिपिआर तयार गरेको छ । पालिकाको बजेटले मात्र पुनःनिर्माण सम्भव नहुने भएकाले प्रदेश र सङ्घीय सरकारसँग पनि अनुरोध गर्ने भएका छौँ”, वडाध्यक्ष कार्कीले भन्नुभयो, “ऐतिहासिक कोतको गर्वगृह र अन्य पुरातात्विक सम्पदा यथावत रहनेगरी पुनःनिर्माण गर्नेछौँ ।”
खड्गभवानी कोत पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यस्थल बन्दै गएको छ । ज्यामरुककोटको छिमिकी बागलुङको पञ्चकोटमा धार्मिक पर्यटक वृद्धि भएसँगै ऐतिहासिक ज्यामरुककोटमा समेत सकारात्मक प्रभाव परेको वडाध्यक्ष कार्कीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय खड्गभवानी कोत परिसरमा विभिन्न पूर्वाधार निर्माण भएका छन् ।
समुद्री सतहदेखि एक हजार ६४८ मिटर उचाइमा रहेको करिब छ सय वर्ष पुरानो इतिहासको आँखीझ्याल मानिने ज्यामरुककोटको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदा पर्यटक र विकाससँग जोडिएका कार्कीको भनाइ छ ।
पन्ध्रौँ शताब्दीमा प्रारम्भसँगै थापाहरूले राज्य गरेको ज्यामरुकोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले बेनी नगरपालिका र वडा कार्यालयले पूर्वाधार निर्माणमा तीव्रता दिएको उहाँले बताउनुभयो ।
वडाअध्यक्ष कार्कीका अनुसार यहाँ मल्ल कालमा प्रयोग भएका अत्यन्त दुर्लभ हातहतियारहरू समेत रहेका छन् । सदरमुकाम बेनीबजारबाट छ किलोमिटर टाढा रहेको ज्यामरुककोट पछिल्लो समय पर्यटक र पैदलयात्रीको रोजाइमा पर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
दिनप्रतिदिन यहाँ घुम्न पुग्नेको सङ्ख्या बढिरहेको छ । परम्परागतरूपमा बनेका घर, यहाँ बस्ने ब्राह्मण, क्षेत्री र दलित समुदायको बोलीचाली तथा सरल व्यवहारले आगन्तुकलाई स्वागत गरिरहेको स्थानीय बताउँछन् ।
“उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायत नौ वटा हिमशृङ्खला छन् । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्य देख्न सकिन्छ । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको रमणीय दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउन थालेको छ”, वडाध्यक्ष कार्कीले भन्नुभयो ।
शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक महत्वले युक्त ऐतिहासिक खड्गभवानी कोतको पुनःनिर्माणको तयारी सुरु भएको उहाँले जानकारी दिनुभयो ।
करीब ६ सय वर्ष पुरानो इतिहास बोकेको ज्यामरुककोटको पुरातात्विक र पर्यटकीय महत्व बढ्दै गएको छ । समुद्री सतहदेखि १ हजार ६ सय ४८ मिटर उचाइमा रहेको ज्यामरुककोटमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माण र यातायात तथा सञ्चार लगायतका क्षेत्रमा विकास हुन थालेको छ । १५औं शताब्दीमा थापाहरूले राज्य गरेको ज्यामरुककोटको (खड्गभवानी कोत) परिसरलाई धार्मिक र प्राकृतिक पर्यटकीयस्थल बनाउने उद्देश्यले गण्डकी प्रदेश, बेनी नगरपालिका, वडा कार्यालय र स्थानीयले पूर्वाधार निर्माणमा तीव्रता दिएका छन् ।
थापा र मल्लकालीन विरासत बोकेको ऐतिहासिक र पुरातात्विक महत्वले युक्त खड्गभवानी कोत परिसरका सम्पदाहरू विकाससँग जोडिन थालेका छन् । बेनी नगरपालिका र गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको सहयोगमा आर्थिक वर्ष रू. २१ लाख लगानीमा मन्दिरसम्म पुग्ने ३ सय ५० मिटर पदमार्ग र रेलिङ निर्माण गरिएको छ ।
यसैगरी बेनी नगरपालिकाले पर्यटनतर्फबाट ५ लाख र वडा कार्यालयको २ लाख बजेटबाट कोत परिसरमा २१० मिटर घेराबार, दुई सय मिटर बाटो ढलान, पटाङ्गिनी निर्माण, नाग थान र मौलो राख्ने बेनी निर्माण गरेको बेनी नगरपालिका वडा नं २ का अध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । वडाध्यक्ष कार्कीका अनुसार जिल्लाकै महत्वपूर्ण ऐतिहासिक स्थल खड्गभवानी कोत परिसर पर्यटकीय स्थलको रूपमा परिचित हुँदै गएको छ । यस ठाउँको महत्त्व उजागर गरेर प्रचारप्रसार गर्नुका साथै आवश्यक पर्यटकमैत्री पूर्वाधार निर्माण गर्न सकेमा उल्लेख्य पर्यटक आउन सक्ने उहाँको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच