नेपालीहरूको धेरै ठूलो बलिदानीपूर्ण संघर्ष र योगदानबाट प्राप्त संघीयता र लोकतान्त्रिक गणतन्त्रमाथि अहिले संकट देखापरेको प्रष्ट छ । संघीयता र गणतन्त्रले स्थायित्व लिन नपाउँदै यो स्थिति आउनु विडम्बनापूर्ण हो । यसका पछाडिका कारणहरू खोज्न कतै जानै पर्दैन गणतन्त्रवादीहरूले आफैँभित्र खोजे भेटिन्छ । प्रथम जननिर्वाचित सरकार (२०१५ सालको) अपदस्त हुनुको कारण पनि आफैँभित्र थियो कि भन्ने आशंका गर्ने ठाउँ भेटिन्छ । वि.सं.२००७ को जनक्रान्तिबाट प्राप्त प्रजातन्त्र २०१७ साल पुस १ गते दलहरू बीचको असहमति र असझदारी पनि एउटा प्रमुख कारक तत्व थियो भन्न अब हिचकिचाउनु पर्दैन । नेपालको प्रथम जनक्रान्ति २००७ र २०६२/०६३ को आन्दोलन झट्ट हेर्दा सम्भव नदेखिए पनि नेपालीहरूको राजनीतिक चेतनाले सम्भव बनाएको थियो ।
तर, अहिले जसरी २०१५ को आमनिर्वाचनबाट गठित प्रथम जनताको सरकार विघटन हुन पुग्यो त्यसरी नै २०६२/०६३ को जनआन्दोलनबाट स्थापित संघीयता र गणतन्त्रको अन्त्य हुने हो कि भन्ने अवस्था नआउला भन्न सकिँदैन । पहिलो जनक्रान्तिले हासिल गरेको प्रजातन्त्रको हत्यासँगै २०१७ पुस १ गते निरङ्कुश पञ्चायती व्यवस्थाको जन्म भएको थियो । अहिलेको संघीयता र गणतन्त्रविरोधी आन्दोलनको लक्ष्य पनि पुनः निरंकुश व्यवस्थातिर केन्द्रित नहोला भन्न सकिँदैन । प्रथम जनक्रान्ति र २०६२/०६३ को जनआन्दोलनका सकारात्मक उपलब्धिमाथि तानाशाहहरूको बक्रदृष्टि लागेको अनुभूति गरिँदै छ ।
संघीयता र गणतन्त्रवादीहरू आपसमा अविश्वासको खाडल बढाउँदै जाँदा पक्कै पनि मौका कुर्नेहरूलाई सहज हुने निश्चित छ । अहिले संघीयता र गणतन्त्रवादीहरू कमजोर र निरीह देखिँदै छन् भने विरोधी शक्तिहरू सशक्त ढंगले प्रस्तुत भएको पाइन्छ ।
प्रथम जननिर्वाचित प्रजातान्त्रिक सरकार अपदस्त हुनुमा महत्वाकांक्षी राजा महेन्द्रको कदमलाई तत्कालीन राजनीतिक दलहरू र स्वयम् सत्तारूढ दल नेपाली कांग्रेसको पनि कमीकमजोर थिएनन् होला भन्न सकिँदैन । अहिलेको राजनीतिक अवस्थाको मूल्यांकन र विश्लेषण गर्दा पनि ठीक त्यस्तै प्रमुख राजनीतिकदलहरू पनि जिम्मेवार देखिन्छन् । मूलतः राजनीतिक प्रणालीका लागि हुनुपर्नेमा सत्ता केन्द्रित भएकाले आज यो अवस्था देखापरेको हो । मौका पर्खेर गौँडा कुर्नेहरू आज आफ्नो सक्कली अनुहार देखाउँदै संघीयता र गणतन्त्र विरुद्ध जनमत निर्माण गरिरहेका छन् ।
उता, संघीयता र गणतन्त्रवादीहरू आपसमा अविश्वासको खाडल बढाउँदै जाँदा पक्कै पनि मौका कुर्नेहरूलाई सहज हुने निश्चित छ । हुन पनि अहिले संघीयता र गणतन्त्रवादीहरू कमजोर र निरीह देखिँदै छन् भने विरोधी शक्तिहरू सशक्त ढंगले प्रस्तुत भएको पाइन्छ । यस परिस्थितिको सही मूल्यांकन र विश्लेषणका साथ कांग्रेस कम्युनिस्टहरूले आफू समय छँदै नसच्चिए यो व्यवस्था जोगाउन धेरै कठिन हुने देखिन्छ ।
संघीयता र गणतन्त्र विरुद्ध छर्लङ्ग देखिने गरी जनमत बन्दै गएको प्रष्ट छ । यस अवस्थालाई नजरअन्दाज गर्दै दलहरू ‘सुतुरमुर्ग’ जस्तै बने भने अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ । यो सब परिस्थिति निर्माणको मूलतः यिनै संघीयता र गणतन्त्रका हिमायतीहरू नै जिम्मेवार छन् । कांग्रेस कम्युनिष्टहरूले हाम्रा पछाडि अरू शक्तिहरू पनि उदय हुँदै छन् भन्ने हेक्का नराख्नुले आज संघीयता र गणतन्त्रका जराहरू मकाउँदै गएका छन् । एउटा दुर्गा प्रसाईं भन्ने व्यक्ति विशेषले त जनताको मन जितेर आज मेची-महाकालीका सबै जिल्लाहरूमा व्यापक जनलहर ल्याएका छन् । जनताको मन जित्नु सबभन्दा ठूलो कुरा हो जुन दुर्गा प्रसाईंले गरेर देखाइरहेका छन् ।
ठूला-ठूला राजनीतिक दलहरूलाई निस्तेज पार्दै आफ्नो शक्ति प्रदर्शन गरिरहेको अवस्थामा दलहरू निरीह बनिरहेको स्थिति छ । रैथाने राजनीतिक दलहरू (कांग्रेस कम्युनिष्टहरू) किम कर्तव्य बिमुढको अवस्थामा देखिँदै छन् । जुन–जुन जिल्लामा दुर्गा प्रसाईं पुगेका हुन्छन् त्यही–त्यही जिल्लामा मानवसागर नै उर्लिएको देख्न पाइन्छ । यस्तो अवस्थामा दलहरूले आफ्नो शक्ति प्रदर्शन गर्नसमेत हिम्मत गर्न सकेका छैनन् । यसबाट के प्रष्ट हुन्छ भने संघीयता र गणतन्त्रको भविष्य अनिश्चित छ । नेपाली जनताले गरेको ऐतिहासिक योगदानको उचित कदर र सम्मान गर्न परिवर्तनकारी शक्तिहरू चुकेकै हुन् । जसबाट आज यो परिस्थिति निर्माण हुन पुग्यो । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजाजन्त्र पार्टी र स्वयम् गद्दीच्युत राजा ज्ञानेन्द्र शाहको सलबलाहट पनि कम छैन ।
राजनीतिक पार्टीकै शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि कम आँक्न सकिँदैन । चितवन र तनहुँको उप-निर्वाचनको परिणामबाट छर्लङ्ग छ भयो कि पुराना रैथाने पार्टी कांग्रेस कम्युनिस्टको अब दिन गन्ती सुरु हुँदै छ । तथापि अझै पनि ती पुराना रैथाने दलहरू आपसमा भिडन्त गर्दै गरेको पाइन्छ । रैथाने पार्टीहरूले एक–अर्कोलाई कमजोर बनाउने कामले संघीयता र गणतन्त्रका जराहरू मकाउँदै जाने निश्चित छ । सुरुका दिनमा पञ्चहरूले भने जस्तै मुठ्ठिभरका मान्छेहरूले त निर्दलीय पञ्चायतलाई ढालेका थिए । आजको खुला राजनीतिक वातावरणको उपयोग गरेर यही व्यस्थाको खिलापमा जनमत निर्माण भइरहेको अवस्था छ ।
अहिले संघीयता र गणतन्त्रको विरोध गरे पनि अन्ततः लोकतन्त्रलाई पनि यिनीहरूले छाड्लान भन्ने लाग्दैन । गद्दिच्युत भएका ज्ञानेन्द्र शाह पुनः गद्दीआरोहण भएको खण्डमा संघीय लोकतान्त्रिक गणतन्त्र खर्लप्प ननिल्लान् भन्न सकिँदैन । ज्ञानेन्द्र शाह वीरेन्द्र पथ नभई आफ्ना बाबु महेन्द्रको पदचिहृनमा हिँड्न आतुर छन् भन्ने छनक २०६१ माघ १९ मा देखाइसकेका छन् । हाम्रो नेपाली समाजमा एउटा उखान छ ‘नपत्याउँदो खोलाले बगाउँछ’ भन्ने कुरा त सामान्य व्यक्ति (दुर्गा प्रसाईंले) ले समेत सरकारलाई आच्छुआच्छु बनाए भने पूर्वराजा त २४० वर्षभन्दा लामो बिरासत बोकेको एउटा संस्थाकै रूपमा रहेको मानिस हुन् ज्ञानेन्द्र शाह ।
रवि लामिछानेको के योगदान थियो र ती प्रजातान्त्रिक होस् वा गणतान्त्रिक आन्दोलनमा माखो नमारेका रास्वपाका सभापति बनेर यति छोटो समयमा हाई हाई भए ? यसको पछाडि कम्युनिष्ट कांग्रेस नामका नेताहरू कुशासन र भ्रष्टाचारका दलदलमा फस्नु वा डुङ्डुङ्ती गन्हाउनु नै हो ।
त्यसमा पनि राप्रपा उसैको आशीर्वादमा बनेको पार्टीको साथ र सहयोग छ भने साधन स्रोतको खोलो बग्ने प्रबल सम्भावना छँदैछ । पैसाको भेलले मानिसलाई कहाँबाट कहाँ पुर्याउँछ यसै भन्न सकिँदैन । देश आर्थिक मन्दीले छट्पटिइराखेको अवस्थामा पैसाको प्रभाव कति प्रभावकारी हुन्छ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । सर्बसाधारण जनताको मनमा खड्किराखेको आवाजलाई मुखरित गर्दै त्यसको नेतृत्व गरेकाले आज दुर्गा प्रसाईं जन–जिब्रोमा छन् । आफ्नो सम्पूर्ण उर्जाशील उमेर प्रजातन्त्र पुनरप्राप्तिका लागि समर्पित गरेका नेताहरूलाई पाखा पार्दै राजनीतिमा उदाएका नेताहरू जनताको मन/मनमा बस्न सफल भएका छन् । हिजो चाहे प्रजातन्त्र पुनःस्थापना होस् वा संघीय लोकतान्त्रिक गणतन्त्रका लागि ठूलो कुर्बानी गरेका किन नहुन उनीहरू आज जनताको नजरबाट गिरेका छन् ।
रवि लामिछानेको के योगदान थियो र ती प्रजातान्त्रिक होस् वा गणतान्त्रिक आन्दोलनमा माखो नमारेका रास्वपाका सभापति बनेर यति छोटो समयमा हाई हाई भए ? यसको पछाडि कम्युनिष्ट कांग्रेस नामका नेताहरू कुशासन र भ्रष्टाचारका दलदलमा फस्नु वा डुङडुङती गनाउनु नै हो । साथै जनताको जीवनमा कुनै सकारात्मक सुधार नहुनु पनि अर्को कारण हो । यिनै कांग्रेस कम्युनिस्टहरू नै संघीय लोकतान्त्रिक गणतन्त्रका खम्बा (स्तम्भ)हरू मकाउँदै जाँदा स्वभावैले संघीयता र गणतन्त्रका जगहरू कमजोर बन्दै गएका छन् । बढ्दो बेथिति, कुशासन, कमिसनतन्त्र र अनुचित आर्थिक लाभ लिई देशको अर्थतन्त्र धारासायी बनाउने यिनै गणतन्त्रवादीहरूबाट भएको हुँदा सर्वसाधारण नेपाली नागरिकको मानसिकता संघीयता र गणतन्त्र विरोधी हुँदै गएको छ ।
यसर्थ यो यथार्थलाई मनन गर्दै अझै समय छ सच्चिऊन् होइन भने विभिन्न कालखण्डमा नेपाली जनताको बलिदानीपूर्ण योगदानबाट पुनःस्थापित प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको भविष्य अँध्यारो बन्दै गएको कुरा कतैबाट छिपाएर छिप्नेवाला छैन । संघीयता र गणतन्त्र पक्षधर शक्तिहरू जनताको नजरबाट गिर्दै गएपछि त्यस पद्धतिको स्थायित्व नहुने निश्चित छ । त्यसैले संघीयता र गणतन्त्रका जराहरू मकाउँदै गएका त होइनन् ? भन्ने चिन्ता र चासो व्यक्त गरिँदै छ ।
यसको पछाडि खास गरेर परिवर्तनकारी राजनीतिक शक्तिहरूमा मौलाउँदै गएको सत्ता राजनीतिको लिप्सा नै हो । आज त्यसैको कारणले सत्ता राजनीतिको लुछाचुँडीमै दलहरू चुर्लुम्म डुबेका छन् र सत्ता प्राप्तिका लागि जे पनि जसो पनि गर्ने गरेका छन् तर संघीयता र गणतन्त्र खतराको निकट पुगिसकेको कुनै सुइँको नै नपाएझैँ गर्दै छन् । यो नै संघीय लोकतान्त्रिक गणतन्त्रका लागि विडम्बना हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच