
काठमाडौं । सत्तारूढ नेकपा (एमाले)ले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिनुभएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउ गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्ष दल नेपाली कांग्रेससँग लामिछानेमाथि प्रश्न उठाउने नैतिक अधिकारसमेत नभएको टिप्पणी गर्नुभएको छ । शनिबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले अचानक सत्ताबाट बाहिरिनुपर्दा कांग्रेसमा आक्रोश, क्षुब्ध र हतास देखिएको उल्लेख गर्नुभएको छ । ‘समीकरणलाई सफल हुन नदिन र भत्काउन उसले हरसम्भव प्रयास गर्यो । त्यसका लागि उसले रास्वपा र अन्य कतिपय दलका नेताहरूलाई प्रधानमन्त्री पदको समेत प्रस्ताव गर्यो । तर, कांग्रेसको प्रस्ताव अस्वीकार गर्दै ती दलहरू नयाँ राजनीतिक समीकरणमा संलग्न हुनासाथ यतिबेला हतास मनस्थितिका साथ विरोध र सदनमा अवरोध गरिरहेको छ । यसका पछाडि प्रतिशोधबाहेक कुनै तर्कसंगत आधार छैनन्,’ प्रतिवेदनमा भनिएको छ । अध्यक्ष ओलीले सहकारी क्षेत्रमा गम्भीर समस्या देखापरेको उल्लेख गर्दै बचतकर्ताहरूको अर्बौं रकम हिनामिना भएको विषयमा गम्भीर छानविन गरी दोषीहरूलाई कानुनी कारबाही गरिनुपर्ने बताउनुभयो । ‘निश्चित व्यक्तिलाई निशाना बनाएर राजनीतिक प्रतिशोधको भावनाले अगाडि सारिएका र पुष्टि नभएका विषयमा प्रवेश गर्न सकिँदैन । सरकारमा रहँदा अख्तियारले बयानमा बोलाएका, अदालतले पुर्पक्षका लागि थुनामा राखेका र गम्भीर अनियमिततामा संलग्न भएका मन्त्री र नेताहरूलाई राजीनामा गराउन तयार नहुने कांग्रेसले यतिबेला अरूमाथि प्रश्न उठाउने नैतिक आधारसमेत राख्दैन,’ उहाँले प्रतिवेदनमा भन्नुभएको छ ।
रविको बचाउ गर्दै कांग्रेसको चर्को आलोचना गर्नुभएका ओलीले सत्तारूढ नेकपा एकीकृत समाजवादीको पनि चर्को आलोचना गर्नुभएको छ । त्यस्तै, उहाँले रास्वपालगायत राजावादी दलहरूसमेत विकल्प हुनै नसक्ने बताउनुभयो । बैठकको उद्घाटन गर्नुभएका ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गरी छोड्ने दृढता व्यक्त गर्नुभयो । बैठकमा विभिन्न प्रतिवेदनहरू पेस भएका छन् । एमाले अध्यक्ष ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । यस्तै, अन्य विभिन्न आयोगका प्रतिवेदन पनि प्रस्तुत भएका छन् । केन्द्रीय लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय निर्वाचन आयोगले पनि प्रतिवेदन प्रस्तुत भएका छन् ।
बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जना सहभागी छन् । आयोगका प्रतिवेदनबाहेक एमालेले पार्टीका केन्द्रीय सदस्यहरूको कार्य विभाजनको समीक्षा गर्ने, मिसन ग्रासरुट, मंसिरमा गरेको झुलाघाट चिवाभञ्याङ संकल्प यात्राको समीक्षा गर्दै त्यसका आधारमा पार्टीको आगामी कार्यदिशाबारे छलफल गर्नेछ । एमालेले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसर पारेर वैशाख १० गते हीरक महोत्सव मनाउन लागेको छ । हीरक महोत्सवमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूलाई निम्ता गरिएको छ ।
केन्द्रीय नेताहरूकै कारण पार्टीभित्र गुटगत गतिविधि
एमालेको केन्द्रीय अनुशासन आयोगले केन्द्रीय नेताहरूकै कारणले पार्टीभित्र गुटगत गतिविधि बढेको रिपोर्टिङ गरेको छ । आयोगका अध्यक्ष केशवप्रसाद बडालले पेस गरेको प्रतिवेदनमा प्रदेश र जिल्ला तहका केही नेताहरूले समेत कार्यकर्ताको झुण्ड निर्माण गरेको उल्लेख गर्नुभएको छ । ‘गुटगत गतिविधिको स्रोत मुख्यगरी केन्द्रीय नेताहरू भएको देखियो । प्रदेश र जिल्ला तहका केही नेताहरूले समेत कार्यकर्ताको झुण्ड निर्माण गरेको देखियो । प्रदेश अधिवेशन भइरहँदा, उद्घाटन समारोहमा नेताहरूले विचार प्रस्तुत गर्दा पार्टीको संस्थागत भावनाअनुरूप नै विचार प्रस्तुत गरेको पाइयो,’ प्रतिवेदनमा भनिएको छ । अधिवेशनको दौरान प्रतिवेदनहरूमा साझा दृष्टिकोण हुँदाहुँदै पनि खासगरी नेतृत्व चयन गर्ने समयमा अधिकांश ठाउँहरूमा कतिपय केन्द्रीय नेताहरू समूहगत रूपमा विभाजित देखिएको प्रतिवेदनमा उल्लेख छ । यस्तो गुट वैचारिक नभई आत्मकेन्द्रित रूपमा निर्माण भएको प्रतिवेदनमा उल्लेख छ ।
रास्वपा पपुलिष्ट, कांग्रेस परम्परावादी दक्षिणपन्थी शक्ति
ओलीले रास्वपाको उदय र कांग्रेसको शक्ति विस्तारलाई विवेचनायोग्य घटनाको रूपमा चित्रण गर्नुभएको छ । ओलीले रास्वपालाई प्रियतावादी शक्तिको रूपमा र कांग्रेसलाई परम्परावादी दक्षिणपन्थी शक्तिको रूपमा उल्लेख गर्नुभएको हो । ‘निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रूपमा रहेका छन् । असन्तुष्टिलाई एकातिर पपुलिज्म र अर्कोतिर दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको देखिन्छ । उनीहरूले यस्ता समस्यालाई उजागर र उपयोग गर्न त सक्छन् । तर, उनीहरूसँग यसको समाधान भने छैन,’ उहाँले भन्नुभएको छ ।
स्वार्थको लागि अस्थिर शक्ति विकल्प हुन सक्दैन
अध्यक्ष ओलीले रास्वपालाई लक्षित गर्दै आफ्ना स्वार्थको लागि अस्थिर र डोलायमान रहने शक्तिहरू विकल्प हुन नसक्ने टिप्पणी गर्नुभएको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकल्प भनिएका शक्तिहरूले समस्या उजागर गरे पनि तिनीहरूसँग समाधान नभएको दाबी गर्नुभयो । ‘असन्तुष्टिलाई एकतिर पपुलिजमले उजागर गर्न सक्छन्, तर त्यसको समाधान भने छैन । सही दर्शन र विचारधारा नभएको अर्थ राजनीतिक कार्यदिशा स्पष्ट नभएको र आफ्ना स्वार्थको लागि अस्थिर र डोलायमान रहने शक्तिहरू विकल्प हुन सक्दैन,’ उहाँले भन्नुभयो । आफ्नै कर्मका कारण जनताबाट विस्थापित राजतन्त्रलाई फर्काउने प्रयास सफल नहुने उहाँको भनाइ थियो । ‘आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्रलाई फर्काउने प्रयास सफल हुने कुनै सम्भावना छैन । यसबाट ढुक्क भए हुन्छ, अब इतिहासको चक्र पछाडि फर्किने छैन,’ उहाँले भन्नुभयो ।
दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत
अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीलाई लक्षित गर्दै अवसरवाद जनमतबाट अस्वीकृत भएको टिप्पणी गर्नुभएको छ । गत निर्वाचनमा कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पुँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद जनमतबाट अस्वीकृत भएको टिप्पणी गर्नुभएको हो । घेराबन्दीका बाबजुद पनि समानुपातिकतर्फ सर्वाधिक मत ल्याएर एमाले जनताको रोजाइको पहिलो पार्टी बनेको उहाँले बताउनुभयो । ‘गठबन्धनको बलमा पहिलो पार्टी बने पनि कांग्रेसको जनाधार विगतमा भन्दा खस्किएको छ । कांग्रेससँगको मतान्तर दोब्बरभन्दा बढी बढेको छ । कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्ने, वामपन्थी सरकार ढाल्ने र पुँजीपति वर्गको नेतृत्वमा सरकार बनाउन निर्णायक भूमिका खेल्ने दक्षिणपन्थी अवसरवाद निकै कमजोर भयो र जनमतबाट अस्वीकृत भयो,’ उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीविरुद्ध प्रयोग गर्न खोजिएको कथित प्रतिगमनको भाष्य झुटो थियो खण्डित भयो ।’ ओलीले पार्टीलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्दै आज तुलनात्मक रूपमा अनुकूल परिस्थिति आइपुगेको बताउनुभयो । दशौँ राष्ट्रिय महाधिवेशन यताका २९ महिना अत्यन्तै चुनौतीपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो ।
दक्षिणपन्थी शक्ति वैकल्पिक शक्ति हुन सक्दैन
ओलीले दक्षिणपन्थी दल राप्रपा वैकल्पिक राजनीतिक शक्ति हुन नसक्ने टिप्पणी गर्नुभएको छ । ओलीले निर्वाचनमा प्रियतावादी अथवा पपुलिष्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय घटनाका रूपमा रहेको उल्लेख गर्नुभएको छ । हाल बढिरहेको चरम राजनीतिक विकृति, आर्थिक र व्यावसायिक क्षेत्रमा परेको संकट, रोजगारीको क्षेत्र साँघुरिँदै गएको अवस्था, सुशासन एवं सेवा प्रवाहमा उत्पन्न समस्याका कारण समाजमा निराशा बढेको र ती समस्यालाई दक्षिणपन्थी शक्तिले प्रयोग गर्न एक हदसम्म सफल भएको दाबी गर्नुभएको छ । ‘उनीहरूले यस्ता समस्यालाई उजागर र उपयोग त गर्न सक्छन् तर, उनीहरूसँग यसको समाधान भने छैन । सही दर्शन र विचारधारा नभएको, अर्थ राजनीतिक दिशा स्पष्ट नभएको र आफ्नो स्वार्थका लागि अस्थिर र चलायमान रहने शक्तिहरू विकल्प हुन सक्दै सक्दैनन्,’ उहाँले भन्नुभएको छ । आजको समयमा पनि जन्मजात श्रेष्ठतालाई बोक्ने, आफ्नै अयोग्यता, कमजोरीका कारण जनताबाट विस्थापित राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना नभएको उल्लेख गर्नुभयो ।
१२ करोड रुपैयाँभन्दा बढी मौज्दात, प्रदेश कमिटी घाटामा
एमालेको बैंक खातामा १२ करोड ६९ लाख रुपैयाँभन्दा बढी मौज्दात देखिएको छ । परिषद् बैठकमा प्रस्तुत प्रतिवेदनअनुसार बैंक खातामा र नगद गरी १२ करोडभन्दा बढी रकम मौज्दात देखिएको हो । यो २०८० सालको असार मसान्तसम्मको अवधिको सम्पत्ति हो । यसबाहेक सोही अवधि सम्ममा एमालेसँग स्थिर तथा अन्य सम्पत्ति (भवन निर्माणसमेत) पाँच करोड ९२ लाख ५४ हजार रुपैयाँ सम्पत्ति देखिएको छ । बैठकमा प्रस्तुत लेखा आयोगको प्रतिवेदनअनुसार पार्टीका विभिन्न कोषमा पाँच करोड १३ लाख रुपैयाँ छ । यसमध्ये कार्यकर्ता संरक्षण कोषमा एक करोड ३५ लाख र अन्य कोषमा तीन करोड ७७ हजार रुपैयाँ छ । आर्थिक वर्ष २०७८/७९ मा पार्टीले २२ करोड ८० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो । यसमध्ये २१ करोड ६५ हजार रुपैयाँ खर्च भएको थियो । एमालेको सबैजसो प्रदेश कमिटी घाटामा देखिएका छन् । सात प्रदेश र एक विशेष प्रदेशमध्ये दुईवटा कमिटी मात्रै नाफामा छन् । विशेष प्रदेश कमिटी २०८० असार मसान्त सम्ममा सात लाख ९४ हजार रुपैयाँ नाफामा हुँदा सुदूरपश्चिम प्रदेश कमिटी दुई लाख रुपैयाँले नाफामा छ । यद्यपि, यी प्रदेश कमिटीहरूले केन्द्रीय कार्यालयलाई बुझाउनुपर्ने कुल रकम भने करोडौँमा छ । सदस्यता शुल्क र लेबी नबुझाएरै २४ जिल्लाले महाधिवेशनमा सहभागिता जनाएको पाइएको प्रतिवेदनमा उल्लेख छ । केन्द्रमा लेबी नबुझाए पनि जिल्लामा भने यो शीर्षकमा रकम उठिरहेको लेखा आयोगले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
पाँच लाख सदस्य थप्ने लक्ष्य
एमालेले पाँच लाखभन्दा बढी पार्टी सदस्य थप्ने लक्ष्य निर्धारण गरेको छ । प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष ओलीको प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ०८४ को निर्वाचनमा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने उल्लेख छ । ‘हाम्रो पार्टीबाहिर पनि राष्ट्रिय शक्तिका पक्षधर छन्, तर तिनीहरू बलिया, प्रभावकारी वा अगुवाइ गर्नसक्ने भूमिकामा छैनन्,’ प्रतिवेदनमा भनिएको छ, ‘बलियो एमालेको नेतृत्वमा मात्र तिनीहरूलाई राष्ट्र निर्माणका काममा गोलबद्ध गर्न सकिन्छ ।’ बलियो पार्टी निर्माणका लागि हरेक जिल्ला र पालिका तहमा कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउनुपर्ने महासचिव शंकर पोखरेलले बताउनुभयो । ‘पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न जिल्ला तथा पालिका तहमा कुल मतदाताको ६ प्रतिशत प्रत्येक वडामा न्यूनतम तीन प्रतिशत पार्टी सदस्यता विस्तारको योजना बनाउनु पर्दै छ’ प्रतिवेदनमा भनिएको छ । पोखरेलको सांगठनिक प्रतिवेदनअनुसार हाल एमालेमा दुई लाख ७७ हजार ४०० संगठित सदस्य छन् । पार्टी सदस्यको संख्या भने पाँच लाख ७६ हजार ६० छ । कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउन पाँच लाख दुई हजार ६६८ सदस्य थप्नुपर्ने भन्दै पोखरेलले प्रदेश र जिल्लागत रूपमा लक्ष्य निर्धारण गर्नुभएको छ ।
विचार मिल्नेहरू क्रमशः एकैठाउँ हुँदै जानेछन् : ओली
ओलीले मुख्य विषयमा प्रमुख दलबीच संवाद र न्यूनतम समझदारी आवश्यक रहेको भन्दै वामपन्थी एकता वा ध्रुवीकरण उचित नभएको बताउनुभएको छ । ओलीले गम्भीर समस्या समाधानमा सबै दलबीच संवाद आवश्यक भएको बताउनुभयो । ‘मुलुकमा जस्ता गम्भीर समस्याहरू छन्, तिनको समाधानका लागि सबै राजनीतिक पार्टीमाझ निरन्तर संवाद आवश्यक छ । मुख्य प्रश्नहरूमा न्यूनतम समझदारीको खाँचो छ । अनि, विचार मिल्नेहरूमाझ सहकार्य आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसैले यति नै बेला निश्चित दल, विचार या शक्तिलाई निषेध गर्नेगरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यावहारिक र लाभदायी हुँदैन ।’ सहकार्य र विश्वासको वातावरण बने विचार मिल्ने एक ठाउँमा आउनसक्ने ओलीको भनाइ छ । ‘सहकार्य गहिरो र विश्वासको वातावरण निर्माण हुँदै जाँदा भोलि विचार मिल्नेहरू क्रमशः एकैठाउँ हुँदै जानेछन्,’ उहाँले भन्नुभएको छ, ‘त्यसो हुनु पनि पर्छ । तर, आजका दिनमा भने सबै सकारात्मक शक्तिलाई साथ लिएर अगाडि बढ्नु बढी महत्वपूर्ण छ ।’ सत्ता सहकार्य मुलुकका समस्या समाधानका लागि मात्रै भएको भन्दै सत्ता परिवर्तन या प्राप्तिका लागि मात्रै नभएको बताउनुभयो ।
प्रमुख दलहरू सत्तामा मात्रै केन्द्रित भए : रावल
एमाले नेता भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले संविधानको कार्यान्वयनका लागि आवश्यक कानुन नै बनाउन नसकेको र दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको बताउनुभयो । कम्युनिष्ट पार्टीले सरकारको नेतृत्व गर्दा पनि नेपालको संविधानमा उल्लेखित समाजवादउन्मुख प्रणालीको रूपरेखा समेत ल्याउन नसकेको उहाँको भनाइ थियो । ‘संविधानमा राष्ट्रिय स्वतन्त्रताको व्याख्या गरे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन कानुनसमेत बनाउन सकिएको छैन’, नेता रावलले भन्नुभयो, ‘अहिले कम्युनिष्ट पार्टीको नेतृत्व गर्नेले कम्युनिष्ट विरोधीहरूसँग साँठगाँठ गर्दैन भनेर परिकल्पना गर्ने स्थिति नै बनेन ।’ देश र जनताको गम्भीर समस्याबारे परामर्श नगर्ने तर, प्रतिक्रियावादी भनिएकाहरूसँग राज्यबाट लाभ र सुविधा भागबण्डा गर्न सक्रिय रहेर अवसरवादी क्रियाकलाप देखिएको उहाँले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच