वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिका-१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा घर जलेका छन् ।

वीरगञ्ज महानगरका वडा नं १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा रु ५३ लाख ९० हजार बराबरको क्षति भएको वीरगञ्ज महानगरपालिका-१७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताउनुभयो । “सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ”, उहाँले भन्नुभयो, “ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न सकेनौँ । फुसको घरमात्रै होइन, गाईगोठलगायत संरचना पनि नष्ट भएका छन् ।”

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले दुईवटा दमकमको सहायताले दुई घण्टामा आगो निभाइएको बताउनुभयो ।

आगलागीबाट महेन्द्र सहनीको घर, अन्नपात, लत्ताकपडा नष्ट हुँदा रु १० लाख ६३ हजार बराबरको क्षति भएको छ । सहनीको सुनचाँदी, एउटा गाई र चारवटा बाख्रासमेत जलेका छन् । आगलागीबाट सहनीका छिमेकी मैना सहनीको घरको अन्नपात, लत्ताकपडा र चारवटा चौपाया गरी रु आठ लाख ६८ हजार बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सोही ठाउँका वीरेन्द्र सहनीको घर, अन्नपात र अन्य सरसमानसहित रु चार लाख ८० हजार बराबरको क्षति भएको छ । यसैगरी तुहान सहनीको पनि घर, अन्नपात, लत्ताकपडा सुनचाँदीसहितका गरगहना जल्दा रु ११ लाख ६० हजार बराबरको क्षति भएको छ ।

पर्सा प्रहरीका अनुसार फुलदेव सहनीको घर, अनपात, लत्ताकपडा, सरसामान, सुन चाँदी गरी रु चार लाख १६ हजार बराबरको क्षति भएको छ । अभय सहनी रु सात लाख ८० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । सोही ठाउँकै अदालत साहको रु छ लाख २३ हजार बराबरको क्षति भएको छ ।

वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विषद् व्यवस्थापन समितिमार्फत तत्कालै राहत प्रक्रिया अघि बढाइने बताउनुभयो ।

यही वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका-१ भलमहिया वस्तीका १५ किसानको अन्नबालीसहितको फुसको घर जल्दा रु १२ करोड ८४ लाख बराबरको क्षति भएको थियो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?