‘मुटुसँग सहयात्रा’ डा.अवनिभूषण उपाध्यायको आत्मवृत्तान्तमूलक कृति हो । उपाध्याय नेपालमा नाम चलेका चिकित्सकहरूमध्ये एक हुनुहुन्छ । उहाँ हृदयरोग अर्थात् मुटुरोगको विशेषज्ञ चिकित्सक हुनुहुन्छ । लामो समयदेखि मुटुरोगीहरूको उपचार गर्दै आएनुभएका उपाध्यायले आफ्नो विशेषज्ञता र अनुभवलाई सार्थकता दिँदै यो पुस्तक लेख्नुभएको हो । यस कारण यसको दोहोरो उपयोगिता हुने निश्चित छ । पहिलो कुरा यसको अध्ययनबाट पाठकहरूले मुटुरोग बारे जानकारी लिन सक्छन् र मुटुरोग प्रभावितहरूले आफैँ पनि सतर्कता अपनाउन सक्छन् । अर्को कुरा यसको साहित्यिक महत्व पनि रहेको छ । एक जना अनुभवी चिकित्सकका मष्तिष्कको उपज यो पुस्तक साहित्यिक महत्वसमेत बोकेर सार्वजनिक भएको छ ।
यस पुस्तकको अध्ययनबाट पाठकहरूले मुटुरोग बारे जानकारी लिन सक्छन् र मुटुरोग प्रभावितहरूले आफैँ पनि सतर्कता अपनाउन सक्छन् । अर्को कुरा यसको साहित्यिक महत्व पनि रहेको छ । एकजना अनुभवी चिकित्सकका मष्तिष्कको उपज यो पुस्तक साहित्यिक महत्वसमेत बोकेर सार्वजनिक भएको छ ।
गत वर्ष होटल मेरिटको भव्य सभाकक्षमा भव्य समारोह आयोजना गरी सार्वजनिक भएको यस पुस्तकको आकार प्रकारमात्र पनि निकै आकर्षक रहेको छ । विधागत रूपमा आत्मवृत्तान्तक बनेर आएको यस पुस्तकको भाषा सम्पादन लक्ष्मण अधिकारीले गर्नुभएको छ भने यसको प्रकाशक ईदा उपाध्याय हुनुहुन्छ । लेखकमै सर्वाधिकार रहेको यो पुस्तकको भाषाशुद्धि रोहिणीप्रसाद घिमिरेबाट भएको छ । लामा क्रिएसन (नरेन्द्र एन्ड लिना स्याङ्बो)बाट आवरण डिजाइन र लेआउटको काम भएको छ भने यसको बजार व्यवस्थापन मञ्जरी प्रकाशन बागबजारबाट भएको छ । डिएमआई साइजको यो पुस्तक ४५२ पृष्ठको छ र यसको मूल्य पातलो आवरणको ६७५ रुपैयाँ र कडा आवरण (हार्ड कभर) को ११७५ रुपैयाँ छ ।
पहेंलो हलुका कागजको प्रयोग भएको यस पुस्तकको छपाइ स्तरीय छ भने अशुद्धिहरू कमै भेटिन्छन् । आवरणमा डा.उपाध्यायको पूर्णपृष्ठको फोटो राखिएको छ । तल ठूला सेता अक्षरमा पुस्तकको शीर्षक ‘मुटुसँग’ र त्यसमुनि साना पहेंला अक्षरमा ‘सहयात्रा’ लेखिएको छ । त्यसमुनि लेखकको नाम दिइएको छ । पृष्ठ आवरणमा यस पुस्तकका बारेमा केही व्यक्तिहरूको धारणा दिइएको छ । जसमा रामचन्द्रमान सिंह, डा.प्रचण्ड प्रधान, डा.प्रकाशराज रेग्मी, दिनेश अधिकारी र लक्ष्मण अधिकारीका विचार राखिएका छन् । पुस्तकको भूमिका खण्डको सुरुमा लेखकले पुस्तक उहाँका पिता अम्बिकाप्रसाद उपाध्याय र माता ज्यानुनानी उपाध्यायमा समर्पण गर्नुभएको छ ।
त्यसपछि नेपाल सरकारका पूर्वस्वास्थ्यसचिव रामचन्द्रमान सिंहको ‘अथक यात्रा एक मुटुरोग विशेषज्ञको’, डा.प्रचण्ड प्रधानको ‘जीवनयात्राका महत्वपूर्ण झलकहरू’, डा.प्रकशराज रेग्मीको ‘एक नेपाली डाक्टरको जीवनकथा’ र लेखक उपाध्यायको ‘अनुभव र अनुभूति’ छन् । विषयसूची छ । यहाँबाट यो पुस्तकको संरचना बारे जानकारी पाउन सकिन्छ । पुस्तक विभिन्न २३ खण्ड र त्यसअन्तर्गत विभिन्न उपखण्डमा विभक्त भएको पाइन्छ । जसमा पुस्तकको विहंगम खाका कोरिएको पाइन्छ । लेखक उपाध्यायले बाल्यकालदेखि अध्ययन गरेका विभिन्न विद्यालय तथा विश्वविद्यालय, उहाँले अध्ययन गर्नुभएका विषय, समेटिएका अनुभव र अनुभूतिका साथै केही काम गर्न खोज्दाका बाधा-अड्चन, कानुनी अप्ठ्यारा र व्यक्तिका विभिन्न प्रवृत्तिको चित्रण भएको छ ।
उहाँको सेवा र कार्यमा अड्चन पुर्याउनेप्रतिको कटाक्ष पुस्तकमा पाइन्छ । उहाँले आफ्नो मूल्याङ्कन पनि गर्नुभएको छ । पुस्तकको अन्तिम खण्डमा उहाँको सरोकार र संलग्नता भएका केही तस्वीर समेटिएका छन् । उहाँका बारेमा समाचार छापिएका पत्रपत्रिकाका कटिङ, अध्ययन गरेका संस्थाहरूका गुरु र साथीहरू, आफ्ना विभिन्न अवसरका पारिवारिक तथा पेशागत फोटा, पाएका पुरस्कार, मानपदवि र मानपदवी पाउँदाका विभिन्न विशिष्ट व्यक्तिसँगको उहाँको उपस्थितिका तस्वीर समेटिएका छन् । यो छोटो आलेखमा यति गहन पुस्तकको समालोचकीय विश्लेषण सम्भव नभएकाले जानकारीमूलक चित्रणमात्र भएको छ । कतै यसको समालोचकीय विश्लेषणसमेत गरौँला । यस नवीनतम कृतिका लागि डा.उपाध्यायलाई बधाई तथा पुस्तकको सफलताको शुभकामना । यस्ता अन्य पुस्तक पनि आइरहून् जसले नेपाली समाजलाई बाटो देखाउन सकोस् उहाँलाई अग्रिम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच