काठमाडौं । दुई दिने ‘इमर्जिङ नेपाल लगानी सम्मेलन २०२४’ सम्पन्न भएको छ । काठमाडौंमा आइतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा सरकारले १५० वटा परियोजना ‘सोकेस’मा राखेको थियो । ५० भन्दा बढी देशका झण्डै दुई हजार प्रतिनिधिसामु सरकार, विपक्षी दल र निजी लगानीकर्ताहरूले नेपालमा लगानीको वातावरण बनेको, लगानीको लागि नीतिगत सुधार गरेको भन्दै विदशी लगानीकर्ताहरूलाई एकस्वरमा लगानीको आहृवान गरेका छन् । विदेशी लगानी भित्र्याउन सरकारले लगानी सम्मेलन गरेको हो । यस अघिका दुईवटा सम्मेलनको निरन्तरताकै रूपमा सरकारले लगानी सम्मेलन आयोजना गरेको हो । दुई दिनको अवधिभर नेपालले लगानी भिœयाउन चाहेका परियोजनाका विषयमा विदेशी र स्वदेशी लगानीकर्तालाई जानकारी गराइएको थियो । सोकेसका रूपमा रहेका परियोजनाको प्रदर्शनीबाहेक सम्मेलनभर विभिन्न १० वटा विषयगत छलफल सत्र, नेपालमा लगानीको सम्भावना, विदेशी लगानीकर्ताको अनुभव र सार्वजनिक निजी साझेदारीका विषयमा समेत छुट्टै बृहत् छलफलसमेत गरिएको थियो ।
कानुनी र प्रक्रियागत सुधारले मात्रै लगानी वातावरण बन्ने विकास साझेदारहरूको सुझाव
विकास साझेदार संस्थाहरूले नेपालमा लगानीको वातावरण बन्दै गए पनि कानुन र प्रक्रियामा रहेका समस्या हटाउन सरकारलाई सुझाव दिएका छन् । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)सहित विकास साझेदार संस्थाका प्रतिनिधिले सोमबार कार्यक्रम स्थल होटल सोल्टीमा अर्थमन्त्री वर्षमान पुनसँग भएको साइडलाइट वार्तामा यस्तो सुझाव दिएका हुन् । त्यस क्रममा उनीहरूले कानुनी र प्रक्रियागत सुधारबाट लगानीको वातावरण बन्ने बताए । सत्तारूढ र प्रतिपक्षी दलबीच विकास बारेको समान धारणाले समेत यस्तो वातावरण बनाउने उनीहरूको भनाइ छ ।
लगानी सम्मेलन सफल भयो : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन-२०२४ भव्य रूपमा सफल भएको बताउनुभएको छ । सम्मेलनमा सहभागी हुन आएका विश्व बैंक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) तथा नेपालका लागि विभिन्न देशका राजदूतहरू सँगको साइडलाइन बैठकमा बोल्दै मन्त्री पुनले लगानी सम्मेलनमा विकास साझेदारहरूको सक्रिय सहभागिताले आफूहरू उत्साहित भएको उल्लेख गर्नुभएको हो । विकास साझेदार, लगानीकर्ता र सरोकारवालाहरूको उल्लेख्य उपस्थितिले लगानी सम्मेलन सफल भएको उहाँको भनाइ छ । लगानी सम्मेलनमा भएको उपस्थितिले नेपाल लगानीका लागि विश्वकै उत्कृष्ट मध्येको लगानी गन्तव्य भएको पुष्टि गरेको दाबी गर्दै मन्त्री पुनले भन्नुभयो, ‘जुन स्तरमा लगानीकर्ता, विकास साझेदार र सरोकारवालाहरूको उपस्थिति देखिएको छ, त्यसबाट लगानी सम्मेलन सफल भएको छ । नेपाल लगानीका लागि उदीयमान र आकर्षक गन्तव्य हो र यहाँ लगानीका प्रशस्त अवसरहरू छन् भन्ने तथ्यलाई स्थापित गर्न हामी सफल भएका छौँ । सरकारका तर्फबाट मात्र नभई प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति र प्रतिबद्धताले लगानी वातावरण बनाउने सन्दर्भमा सिङ्गो देश एक ढिक्का रहेको सन्देश विश्वभर प्रवाह भएकामा खुसी छु ।’ यस्तै, मन्त्री पुनले सरकार नीतिगत सुधार र नीतिगत स्थायित्व कायम गर्न तथा काम गर्ने सिलसिलामा आइपरेका समस्या समाधान गरी लगानी अनुकूल वातावरण तयार गर्न प्रतिबद्ध रहेको सन्देश लगानीकर्तालाई दिन विकास लगानीकर्तालाई आग्रह गर्नुभयो । बैठकमा मन्त्री पुनसँगै मुख्यसचिव बैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व सचिव डा.रामप्रसाद आचार्य, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र मन्त्रालयका सह-सचिवद्वय श्रीकृष्ण नेपाल र धनीराम शर्मालगायत सहभागी थिए ।
चार परियोजनाको लागि नौ अर्ब लगानी स्वीकृत
उद्योग विभागले चारवटा परियोजनाको लागि नौ अर्ब १३ करोड बराबरको लगानी स्वीकृत गरेको छ । भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि ६ अर्ब, काठमाडौंमा व्यावसायिक भवन निर्माणका लागि तीन अर्ब लगानी स्वीकृत गरिएको विभागले जानकारी गराएको छ । त्यस्तै, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि सात करोड ६६ लाख स्वीकृत गरिएको छ । ललितपुर जिल्लामा होटल तथा रेष्टुरेण्ट निर्माणका लागि ६ करोड २५ लाख बराबर लगानी स्वीकृत भएको छ ।
चीनको सिमेन गोल्ड ड्रागनले नेपालमै विद्युतीय गाडी उत्पादन गर्न तीन अर्ब लगानी गर्ने
चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा विद्युतीय गाडी उत्पादनका लागि तीन अर्ब रुपैयाँ वैदेशिक लगानी गर्ने सम्झौता गरेको छ । यो कम्पनीले लगानी सम्मेलनको अवसर पारेर नेपालको कोशी एनके मोटर्स सँगको सहकार्यमा वार्षिक ५००० थानभन्दा बढी गाडी उत्पादन गर्ने योजना सार्वजनिक गरेको हो । कम्पनीले सुरुमा व्यावसायिक प्रयोजनमा प्रयोग हुने चारपांग्रे सवारीसाधन उत्पादनमा जोड दिने जनाएको छ । कोशी एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीका अनुसार यहीँ वर्षबाट गाडी उत्पादन सुरु गर्ने योजना छ । प्लान्टका लागि कम्पनीले विराटनगरको बूढीगंगामा १५ बिगाहा जग्गा लिइसकेको पुरीले जानकारी दिनुभयो । कम्पनीले १४, १८ र १२ सिट क्षमताको कमर्सियल गाडी उत्पादन गर्ने बताइएको छ ।
विदेशी लगानीको लागि अटोमेटिक रुट प्रणाली सञ्चालनमा
विदेशी लगानीको लागि स्वचालित माग (अटोमेटिक रुट) प्रणाली सञ्चालनमा आएको छ । लगानी सम्मेलनको अवसरमा उद्योग विभागले स्वचालित मार्ग (अटोमेटिक रुट)बाट विदेशी लगानी स्वीकृत गर्ने विद्युतीय प्रणाली सञ्चालनमा ल्याएको हो । विभागका अनुसार विदेशी लगानीकर्ताले प्रणालीमार्फत कुल पुँजी ५० करोड रुपैयाँसम्म हुने उद्योग व्यवसाय र विदेशी लगानी गर्न सकिने उद्योग व्यवसायका क्षेत्रमा आवेदन दिन सक्नेछन् । अटोमेटिक रुटबाट विदेशी लगानी स्वीकृतिसम्बन्धी सेवा उपलब्ध गराउने प्रयोजनका लागि विभागले ऐन तथा नियमावलीबमोजिम विदेशी लगानी स्वीकृतिका लागि पेस गर्नुपर्ने विवरण तथा कागजात विद्युतीय प्रणालीबाट पेस गर्न सक्नेछन् ।
विदेशी लगानी स्वीकृति लिन चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणालीमा लगइन गरी त्यसले माग गरे बमोजिमको विवरण तथा कागजात त्यस्तो प्रणालीमा प्रविष्ट गर्नुपर्ने विभागले जनाएको छ । नेपाल सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्ने व्यवस्थाको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ को पहिलो संशोधन गरी वैशाख ७ गते प्रकाशित भएको राजपत्रअनुसार शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्न वा विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेको कम्पनीमा विदेशी लगानीकर्ताले पुँजी वृद्धिका लागि लगानी गर्न स्वचालित मार्गमार्फत निवेदन दिने तथा स्वीकृत गर्ने व्यवस्था कायम रहेको छ । सूचना प्रविधिमा आधारित उद्योगहरूको लागि स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृत गर्दा लगानीको न्यूनतम सीमा लागू गरिएको छैन ।
सार्वजनिक-निजी साझेदारी प्रवद्र्धन गर्ने समझदारी
तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी साझेदारी (पिपिपी) प्रवद्र्धनका लागि वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एण्ड प्रोफेसनल्स (वाप) र नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिसनर्स (नाप)बीच महत्वपूर्ण समझदारी भएको छ । उक्त समझदारी पत्रमा वापका तर्फबाट अध्यक्ष जियाद-अलेक्स्याण्डर हायक र नापका तर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गर्नुभयोे । उक्त समझदारीमा दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक-निजी साझेदारी (पिपिपी)सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ । नेपालमा भौतिक पूर्वाधार तथा पिपिपी पाइपलाइन सुदृढीकरण, पिपिपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रि असल अभ्यास प्रवद्र्धनका लागि सहकार्य, संयुक्त रूपमा सभा सम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन् ।
नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण भएन : नेपाल
सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लगानी गर्नका लागि उत्साहित हुने वातावरण नभएको टिप्पणी गर्नुभएको छ । नेपालमा अनावश्यक पैसाको खर्च र गुण्डागर्दीबाट बचाउने हो भने जति पनि लगानी गर्न आफूहरू इच्छुक रहेको विदेशी लगानीकर्ताहरूले आफूलाई समेत भन्ने गरेको उल्लेख गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘स्वदेशी, विदेशी दुवै लगानी । वैदेशिक लगानी मात्रै होइन, स्वदेशी पनि । नेपालमा लगानी गर्न चाहन्छन् । अनि लगानी गर्न आउनेहरू उत्साहित हुँदैनन् । कारण के हो ? मसँगै भनेका छन् कतिले-हामी नेपाललाई कुनै नोक्सान नहुने गरी, नोक्सान हामी बेहोर्ने गरी हामी विभिन्न कारखाना खोल्न चाहन्छौँ । तर, हामीलाई गुण्डाबाट बचाउनुपर्यो । डनबाट जगाउनुपर्यो । अनावश्यक पैसाको खर्च हुने कुराबाट जोगाउनुपर्यो । हामीलाई अरू किसिमको झन्झटबाट मुक्त गरिदिनु पर्यो ।’
लगानी सम्मेलनबाट अपेक्षाकृत फाइदा हुँदैन : कोइराला
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिले गरिएको लगानी सम्मेलनबाट अपेक्षा गरिए अनुसारको लगानी नआउने दाबी गर्नुभएको छ । राजनीतिक स्थायित्वबिना नेपालमा कुनै पनि देश लगानी गर्न इच्छुक नरहेको र यो लगानी सम्मेलनबाट परिणाम नआउने जिकिर गर्दै कोइरालाले भन्नुभयो, ‘कुनै पनि देशले लगानी गर्नुपूर्व त्यो देशमा राजनीतिक स्थायित्व छ कि छैन, ऐन कानुन कस्तो छ र सुशासनको अवस्था कस्तो छ, भन्ने कुरा हेर्छ । ती सबै कुरा नभएको देशमा कसरी लगानी भित्रिन्छ ?’
चीन र भारतको बीचमा बृहत् लगानी तथा उत्पादनको अवसर : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ठूला अर्थतन्त्र चीन र भारतको बीचमा रहेर बृहत् लगानी तथा उत्पादन गर्ने अवसर नेपालसामु रहेको बताउनुभएको छ । तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन-२०२४ लाई सोमबार सम्बोधन गर्दै मन्त्री भण्डारीले विश्वका दुई ठूला अर्थतन्त्रको बीचमा रहेकोले आन्तरिक बजारको साथै ती मुलुकको बजार र विश्व बजार केन्द्रित रहेर बृहत् लगानी तथा उत्पादन गर्ने अवसर हाम्रोसामु रहेको बताउनुभएको हो । औद्योगिक क्षेत्रको विकास तथा विस्तार गर्न नेपाल सरकारले विभिन्न नीतिगत कानुनी र प्रक्रियागत सुधार गरेको जानकारी दिँदै मन्त्री भण्डारीले भन्नुभयो, ‘औद्योगिक व्यवसाय ऐनमा आयकर भन्सार महसुल लगायतका कर छुटको व्यवस्था गरिएको छ । नेपाल सरकारले महिला तथा लघु उद्यमीहरूको लागि विशेष सहुलियत, औद्योगिक तथा लगानी प्रवद्र्धन कोष, प्रदेश औद्योगिक तथा लगानी प्रवद्र्धन कोष, एकल बिन्दु सेवा केन्द्र लगायतका व्यवस्था कार्यान्वयनमा ल्याएको छ । राजस्व नीतिलाई उत्पादन एवं लगानीकर्तामैत्री बनाउँदै लगिएको छ । नवप्रवर्तनको प्रवद्र्धन, बौद्धिक सम्पत्तिको विकास र संरक्षण गर्न बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन तर्जुमा कार्य भइरहेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच