
विराटनगर । मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान भन्ने नाराका साथ मनाइएको १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा उद्योग संगठन मोरङले श्रमिक सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।
विश्वभरिका श्रमिकको महान् दिनका रूपमा रहेको मई दिवसलाई श्रमिक र रोजगारदाताले साझारूपमा एकाकार गर्दै मनाउने सन्दर्भमा संगठनले सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योग प्रतिष्ठानमा लामो समयदेखि कार्यरत तीन श्रमिकलाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा श्री रघुपति जुट मिल्समा ३३ वर्षदेखि कार्यरत बलराम मण्डल, रियान्स स्पिनिङ मिल्समा २७ वर्षदेखि कार्यरत राम पवित्र साह र स्वस्तिक आयलमा ३६ वर्षदेखि अनवरतरूपमा कार्यरत ललनकुमार राय रहेका छन् । संगठनका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, रोजगारदाता उपाध्यक्ष विपिन कावरा र ट्रेड युनियन प्रदेश कमिटी अध्यक्षद्वयले संयुक्तरूपमा खादा, माला लगाई सम्मान–पत्र र जनही नगद ११ हजार पुरस्कारसहित सम्मान प्रदान गरेका थिए ।
संगठनका अध्यक्ष राकेश सुरानाले उद्योगको उत्पादकत्व अभिवृद्धि र उद्योगमैत्री वातावरण निर्माण गर्न श्रमिक र रोजगारदाता दुवैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उद्योगी र श्रमिकबीचको निरन्तर संवाद र सहकार्यले आपसी सम्बन्ध थप प्रगाढ भई असल श्रम सम्बन्ध विकासमा सहयोग पुग्ने भन्दै उहाँले आर्थिक क्षेत्रका चुनौती सामना गर्न सक्षम हुने गरी काम गर्न मे दिवसले सबैलाई थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
संगठनका रोजगारदाता उपाध्यक्ष विपिन कावराले श्रमिक र रोजगारदाताबीचको सहकार्यले मात्र असल श्रम सम्बन्ध विकासमा सहयोग पुग्ने बताउनुभयो । नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेशका अध्यक्ष किशोर धमला र ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेतले मई दिवसका अवसरमा श्रमिक सम्मान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै यस्ता कार्यक्रमले रोजगारदाता र श्रमिक सम्बन्धमा थप निकटता ल्याउने विश्वास व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा संगठनका पूर्वअध्यक्षहरू, पदाधिकारीहरू, कार्यसमिति सदस्यहरू, उद्योगी÷व्यवसायीहरू, नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ट, अखिल नेपाल ट्रेड युनियन महासंघलगायतका ट्रेड युनियनका प्रदेश तथा जिल्ला कमिटीका अध्यक्ष, पदाधिकारीहरू, कार्यसमिति सदस्य तथा विभिन्न उद्योग प्रतिष्ठानका श्रमिकको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच