
पाल्पा । पाल्पाको सदरमुकाम तानसेनको मुख्य सडक नै धुुलाम्य र कष्टकर बन्दै गएको छ । पाल्पा दरबार परिसरको शीतलपाटीदेखि जिल्ला प्रशासन गेटसम्मको सुरक्षा पर्खाल निर्माणमा निर्माण व्यवसायीले लापरबाही गर्दा सडक धुलाम्य बनेको हो । निर्माणाधीन पर्खाल र यसको दुवैपट्टि फालिएका निर्माण सामग्रीले सर्वसाधारण समस्यामा परेका छन् ।
अति व्यस्त सडकमा सवारीका साधनले उडाएको धुलोले तानसेन मखनटोलवासी मर्कामा परेका छन् । निर्माणको ठेक्का पाएको ठेकेदारले वातावरणीय सुरक्षाका लागि धुलो नउड्न सडकमा पर्याप्त पानी नहाल्ने र समयमा काम नगर्दा यस्तो अवस्था आएको स्थानीयले बताए । सडकमा धुलो उड्नुको साथै निर्माण सामग्री जथाभावी फालिएको छ । जसले गर्दा आवागमनमा समेत असहज भएको छ । बढ्दै गएको गर्मीसँगै चल्ने हावाहुरीका कारण तानसेन बजार प्रवेश गर्ने उक्त सडकमा यतिबेला हिँड्नै नसकिने गरी धुलो उड्न थालेपछि सडक छेउमा व्यवसायी गर्ने र यात्रुहरू समस्यामा परेका छन् ।
निर्माण व्यवसायीले गुणस्तरहीन काम गर्नुको साथै सडकमै धुलो तथा निर्माण सामग्री राखी अलपत्र पारेपछि स्थानीय आक्रोशित बनेका छन् । पर्खाल बनाउने क्रममा सडकबाट उडेको धुलो सडक छेउछाउका सर्वसाधारणका आवासीय घरका साथै व्यापारिक सटरमा पस्दा हैरानी खेप्नुपरेको स्थानीयको भनाइ छ । उनीहरूले तत्काल सडक व्यवस्थित गर्नका लागि पहल गरिदिन वडा नं ४ को कार्यालयलाई अनुरोधसमेत गरेका छन् । स्थानीयले एक/दुई दिनभित्र सडक सफा नभए आवतजावत तथा यातयात सेवा अवरुद्ध पार्ने चेतावनी दिएका छन् । दरबार जस्तो महत्वपूर्ण क्षेत्रमा लापरबाही तरिकाबाट काम भएको, पर्खाल लगाउँदा पुरातात्विक महत्वका ढुंगाहरू फुटाएर सानो-सानो बनाएको, सिमेन्ट सहितको सुरक्षा पर्खालमा ठेकेदारले नियमित रूपमा पानी नहाल्दा पर्खाल कमजोर भएको, बाटो क्षेत्रमा सयममै काम नगरी महिनौँसम्म धुलो तथा निर्माण सामग्रीहरू राखेर सडकलाई कुरूप बनाएको स्थानीयको आरोप छ ।
शीतलपाटीदेखि प्रशासन गेटसम्म १२० मिटर ढुंगाको पर्खाल लगाउने काम सुरु गरेको महिनौँ भए पनि अहिलेसम्म सकिएको छैन । बाटोभरी धुलो, माटो तथा निर्माण सामग्रीका कारण कैयौँपटक सवारी दुर्घटना हुनुुको साथै स्वास्थ्यमा समेत असर पुर्याएको स्थानीय दिनेश बज्राचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले तत्काल निर्माण क्षेत्रको धुलो तथा माटो सफा गर्न वडा कार्यालयमा अनुरोध गरेका छौँ, एक÷दुई दिनभित्र सफा भएन भने सवारी आवतजावत नै रोक्छौँ ।’ स्थानीयको आग्रहलाई निर्माण व्यवसायीले बेवास्ता गरेमा काम नै रोकेर सडक बन्द गरिने मखनटोल टोल विकास संस्थाकी पूर्वअध्यक्ष ज्योति राजभण्डारीले बताउनुभयो । वडा अध्यक्ष हेमन्तराज शाक्यले भने दरबार क्षेत्रमा भएको काम नगरपालिकाको नभए पनि आफूले निर्माण व्यवसायीलाई तत्काल धुलो सफा गर्न र सामान व्यवस्थित तरिकाले राख्न भनिसकेको बताउनुभयो । दरबार क्षेत्रमा पाँचवटा फरक-फरक क्षेत्रबाट काम भइरहेको छ । जिल्ला प्रशासनदेखि शीतलपाटीसम्म घरटहरा भएको क्षेत्रमा तानसेन नगरपालिकाले ढुंगा विछ्याउने र दरबार अगाडि सडकमा नाली बनाउने काम गरेको छ ।
दरबार संग्रहालय अगाडि आँगनमा ढुंगा विछ्याउने काम पाल्पा दरबार संग्रहालयले सुरु गरे पनि महिनौँ बित्दासम्म अलपत्र अवस्थामा रहेको छ । दरबार गेटदेखि जिल्ला प्रशासन कार्यालय तर्फको ५० मिटर ढुंगाको पर्खालको काम लुम्बिनी प्रदेश सरकारअन्तर्गत सहरी विकास तथा भवन डिभिजन कार्यालयले गर्दै आएको छ । दरबार गेटदेखि शीतलपाटी तर्फको ७० मिटर ढुंगाको पर्खाल सहरी विकास तथा संघीय कार्यान्वयन इकाइ भैरहवाबाट काम भइरहेको छ । दरबारको मूलढोकाको पुनर्निर्माणको काम भने पुरातत्व विभागबाट भइरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच