झापा । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) लाई मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण सोधेको तथ्य बाहिरिएको छ ।
कोशीका मुख्यमन्त्री केदार कार्कीले लेखेको पत्र सार्वजनिक भएसँगै बस्नेतलाई २४ घण्टे स्पष्टीकरण सोधेको तथ्य बाहिरिएको हो ।
वैशाख २३ गते लेखिएको पत्रमा पदमा बस्न मिल्छ कि मिल्दैन ? भनिएको छ । बस्नेत तत्कालीन मुख्यमन्त्री भीम आचार्यको पालामा २०७८ असोज २४ गते बोर्डको सदस्य सचिव नियुक्त हुनु भएको थियो ।
तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईको पालामा बस्नेत २०७८ चैत २२ गते पदमुक्त हुनुभएको थियोे । पदमुक्त भएसँगै त्यसबेला बस्नेतले न्यायालयको धोका ढक्ढक्याउनु भएको थियो। बस्नेतलाई उच्च अदालत विराटनगरले २०८१ साल वैशाख १७ गते सदस्य सचिवमा पुनर्वहाली गरेको थियोे ।
बस्नेत सदस्य सचिवमा पुनर्वहाली हुँदा प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १२ (ङ), दफा १३ तथा प्रदेश खेलकुद ऐन २०७६ को २७ प्रतिकुल हुने देखिएको भन्दै मुख्यमन्त्री कार्यालयले स्पष्टीकरण बुझाउन २४ घण्टे आदेश दिएको हो । मुख्यमन्त्री कार्यालयको आदेश अनुसार बस्नेतले सोमबार कार्यालय समय भित्र स्पष्टीकरण बुझाउनु पर्नेछ।
सरकारी लाभको पदमा रहेको व्यक्तिले निर्वाचनमा भाग लिनुअघि सो पदबाट राजीनामा दिनु पर्ने कानुनी प्रावधान छ । सो कानुनी प्रावधान विपरीत बस्नेत २०७९ मंसिर ४ को निर्वाचनमा मोरङबाट प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नु भएको थियो । उहाँले चुनाव हार्नु भएको थियोे ।
'तपाईंले आफू सदस्य सचिव नै छु, मलाई सदस्य सचिव कायमै गरियोस् भन्नु र पुनर्वहाली भई हालसम्मको तलब पनि पाउने व्यवस्था भइरहँदा त्यो कानुनी रूपमा वैद्य हुन्छ कि हुन्न स्पष्ट पार्नु होला' सामाजिक विकास मन्त्रालयको जिम्मेवारीसमेत निर्वाह गरिरहनु भएका मुख्यमन्त्री कार्कीले हस्ताक्षर गरेको पत्र सदस्य सचिव बस्नेतलाई आइतबार थमाइएको हो ।
प्रदेशसभा सदस्यमा बस्नेतले उम्मेदवारी दर्ता गर्ने बित्तिकै सदस्य सचिवबाट स्वतः पदमुक्त हुने कानुनी व्यवस्था छ । मुख्यमन्त्री कार्यालयले यस्तो अवस्थामा सदस्य सचिवले निरन्तरता पाउने हो होइन भनी बस्नेतलाई स्पष्टीकरण सोधेको हो ।
आज कार्यालय समय भित्र सदस्य सचिव बस्नेतले चित्तबुझ्दो स्पष्टीकरण नबुझाए नियमानुसार हुने मुख्यमन्त्री कार्कीले काटेको पत्रमा लेखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच