काठमाडौं । रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका छन् । रुसी सेनामा भर्ती भएका नेपालीका परिवारलाई साथमा लिएर अभियानकी संयोजक कृतु भण्डारीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । अभियानले प्रधानमन्त्री प्रचण्डलाई रुसी सेनामा भर्ती भएका नेपालीको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आफ्नो १३ बुँदे मागपत्र बुझाएको छ । अभियानकी संयोजक भण्डारीका अनुसार हालसम्म रुसी सेनामा भर्ती भएका ६९१ जना नेपालीको विवरण संकलन गरिएको छ ।
अभियानले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘जसमध्ये ३९ जना मृतक, ४० जना मृत्यु भयो भनिएको तर पुष्टि हुन बाँकी, पाँचजना युक्रेनको कब्जामा रहेका, ११७ जना घाइते, २७२ जना सम्पर्कविहीन, १५ जना करार सम्झौता रद्द गरेका, ११ जना रुसी राहदानीका लागि आवेदन दिएका र ३१ जना रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका र बाँकी व्यक्तिहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ ।’
नेपाल सरकारले भने हालसम्म अवैध रूपमा रुसी सेनामा भर्ती भएकामध्ये १९ जनाको मृत्यु भएको जनाउँदै आएको छ । योबाहेक मृत्यु भएको आशंकामा थप १५ जनाको डिएनए परीक्षण कार्य भइरहेको सरकारले बताउँदै आएको छ । सरकारले प्रस्तुत गर्ने तथ्यांक र अभियानले सार्वजनिक गरेको तथ्यांकमा धेरै भिन्नता देखिएको छ । ‘रुसी सेनामा कार्यरत रही फर्किएका नेपाली युवाहरूले १४ हजार ७०० नेपाली रहेको दाबी गरिरहँदा त्यहाँको अवस्था निकै भयावह रहेको अनुमान गर्न सकिन्छ । प्राप्त अपुष्ट सूचनाका आधारमा यो संख्या यतिमा सीमित छैन भन्ने देखाउँछ,’ अभियानले ध्यानाकर्षण पत्रमा भनेको छ ।
रुसी सेनामा भर्ती भएका आफन्तलाई फिर्ता गर्नुपर्ने लगायतका माग राखी आमरण अनशन बसेका पीडित परिवारले १७औँ दिन गत आइतबार अनशन तोडेका थिए । त्यसपछि उनीहरूले (मंगलबार) प्रधानमन्त्रीलाई भेटेका हुन् । उनीहरूले रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षाको पहलका लागि प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका छन् ।
वैदेशिक रोजगारीको प्रलोभनमा परी थुप्रै नेपाली रुसी सेनामा भर्ती भएको दाबी अभियानकी संयोजक भण्डारीको छ । ‘हामीसँग हृवाट्सएप गु्रपमा जोडिएका ४२१ जना रुसी सेनामा आबद्ध नेपालीले प्रत्येक दिन युद्ध मैदानबाट त्यहाँको विवरण, वस्तुस्थिति श्रव्यदृष्य सामग्रीहरू पठाउने गर्नुहुन्छ । ती सामग्रीहरू देख्दा त्यहाँको अवस्था भयावह रहेको सहजै अनुमान लगाउन सकिन्छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
फिर्ता गर्ने प्रधानमन्त्रीको आश्वासन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताउनुभएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यले गरेको भेटमा प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने बताउनुभएको हो । ‘तपाईँहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री कार्यालय प्रतिबद्ध छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयोे, ‘सरकारले लगातार कूटनीतिक पहल गरिरहेकै छ, कूटनीतिक नोटमार्फत पहल लिइएको छ ।’ नेपाली नागरिकको जीवनरक्षाका लागि सरकार निरन्तर लागिपरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा कार्यरत नेपालीहरूका परिवारको माग सम्बोधन गन आफू प्रतिबद्ध रहेको दोहोर्याउनुभयो । ‘उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैँले थप पहल गर्छु,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयोे । युद्ध मैदानमा रहेका नेपालीहरूसँग आफूले फोनमा कुरा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरूको अवस्थाबारे कूटनीतिक च्यानलमा निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो ।
रुसी सेनामा कार्यरत नेपालीका परिवारले युद्धमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै काठमाडौंमा धर्ना दिएका थिए । प्रधानमन्त्री प्रचण्डका जनसम्पर्क विज्ञ बुिद्ध जिसीले उनीहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेसँगै धर्ना स्थगित भएको थियो । सोही प्रतिबद्धताअनुसार मंगलबार प्रधानमन्त्री प्रचण्डले ती परिवारका सदस्यलाई भेटेर उच्चस्तरीय पहल गरेर युद्धमा रहेका नेपाली स्वदेश फिर्ता ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
रुसी सेनामा रहेका नेपालीलाई फिर्ता ल्याउन तत्काल पहल गर्नुपर्छ : पौडेल
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रुसी सेनामा रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउन सरकारले तत्काल पहल गर्नुपर्ने माग गर्नुभएको छ । संसदीय अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद पौडेलले रुसी सेनामा कार्यरत रहेका नेपाली युवाहरूलाई फिर्ता ल्याउन माग गर्नुभयो । ‘रुसी सेनामा भर्ना भएका कतिपय नेपालीको मृत्युसमेत भइसकेको र धेरै बेपत्ताको खबरहरू आइरहेका छन्,’ उहाँले भन्नुभयोे, ‘यस्तो गम्भीर अवस्थामा सरकारले आफ्नो नागरिक फिर्ता ल्याउन प्रभावकारी कदम चाल्न जरुरी छ ।’ उहाँले ठूलो संख्यामा नेपाली रुसी सेनामा भर्ती भएको अवस्थामा पनि सरकारसँग यकिन तथ्यांक नहुनुले कूटनीतिक पहलमा कमजोरी देखिएको समेत बताउनुभयो । पौडेलले परराष्ट्र मन्त्रालयलाई समितिमा बोलाइ गम्भीर पहल गर्न र घाइते तथा मृतकका परिवारलाई सहयोग गर्न निर्देशन दिन सुझाव दिनुभयो । प्रतिनिधि सभाबाट समेत यस विषयमा पटक-पटक कुरा उठिरहेको भए पनि सरकार गम्भीर नभएकाले समितिबाट निर्देशन दिनुपर्ने बताउनुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच