पार्टी विभाजनको हल्ला निराधार, कपोकल्पित र भ्रमपूर्ण : नेता खनाल

फाइल तस्बिर

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 6 mins

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पार्टी विभाजनको हल्ला निराधार, कपोकल्पित र भ्रमपूर्ण भएको बताउनु भएको छ ।

उहाँले केही अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्वले सुनियोजित रूपले छ जना सांसद लिएर आफूले संसदीय दल फुटाउन लागेको दुष्प्रचार गरिरहेको स्पष्ट पार्नु भएको छ । नेता खनालले बुधबार निकालेको प्रेस नोटमा लेखिएको छ, 'पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बनौँ, पार्टीको नीतिनिष्ठ एकतालाई खदिलो बनाऔँ ।'

नेता खनालले निकालेको प्रेसनोट:

यतिबेला मुलुकमा राजनीतिक शक्तिहरू ध्रुवीकरण हुने प्रक्रिया तीव्र रुपले अघि बढ्दै छ । यहि २१ फागुन २०८० बाट मुलुकमा नयाँ राजनीतिक समिकरणले आकार लिएको छ । हाम्रो पार्टी पनि यहि समिकरणमा संलग्न भएको कुरा सर्वविदित नै छ । केहि दिनअघि मात्र तत्कालिन “जनता समाजवादी पार्टी नेपाल” समेत विभाजित भएको छ । यहि शिलशिलामा केहि दिन देखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीब्र रुपले फैलाईएको छ । केहि अवाञ्छित, स्वार्थी र कम्युनिष्ट विरोधी तत्वहरुले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टी व्यापी रुपमा एउटा भ्रमको कुहिरो फैलाइदियो ।

देश तथा प्रवासमा कार्यरत सम्पूर्ण कमरेडहरू !
पार्टीका समर्थक तथा शुभेच्छुक साथीहरू !

हाम्रो पार्टी एउटा नवोदित क्रान्तिकारी पार्टी हो । यति बेला हाम्रो पार्टी आफ्नो पार्टीको १० औँ राष्ट्रिय महाअधिवेशनको सम्मुखमा पुगिरहेको छ । हाम्रो पार्टी कम्युनिष्ट आन्दोलनको र पार्टी पुनर्गठन पछिका अनुभवहरुका सार संकलन गर्दैछ, हाम्रो देशको प्रधान वर्गीय र राजनीतिक प्रधान अन्तर्विरोधहरू पहिचान गर्दैछ, क्रान्ति र अग्रगतिको प्रमुख बाधा के हो त्यसको पहिचान गर्दैछ, देशको समाजवादी क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरुलाई परिस्कृत र परिमार्जित गर्दैछ, क्रान्तिकारी कार्यदिशाका आधारमा पार्टी एकता र कम्युनिष्ट एकतालाई विस्तार गर्ने आधार निर्माण गर्दैछ, देशी विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्दैछ । त्यसैकारण पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्वहरू आतंकित भएका छन् । त्यसैले उनीहरु प्रतिक्रियावादीहरुका मक्किसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियारहरु लिएर हाम्रो पार्टीका विरुद्ध आइलाग्न कोशिस गर्दैछन् ।

पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, समर्थक र शुभेच्छुक कमरेडहरू तथा साथीहरू १ प्रतिकृयावादीहरू, औसरवादीहरू र पार्टी विरोधी क्षुद्र तत्वहरूका यस प्रकारका अनर्गल प्रचारबाट होसियार बनौं, वर्तमान नयाँ समिकरणमा हाम्रो समर्थन र सहभागितालाई जारी राखौं, पार्टी महाअधिवेशनको तयारीमा हरेक प्रकारले एकताबद्ध भएर जुटौं । क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तमा आधारित एकतालाई अझ खदिलो र विस्तृत बनाऔँ, पार्टी महाअधिवेशनलाई भव्यताका साथ सफल बनाऔँ, हाम्रो पार्टीलाई एउटा नयाँ, क्रान्तिकारी र समाजवादी पार्टीका रुपमा विकास गरौं र आम जनतालाई गोलबन्द गदै समाजवादको दिशामा दृढतापूर्वक अघि बढौँ ।

२६ बैशाख,२०८१
झलनाथ खनाल
पूर्वप्रधानमन्त्री
तथा
सम्मानित नेता, नेकपा (एकीकृत समाजवादी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?