छ महिनामा १० खर्बको आयात

Read Time = 5 mins

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो छ महिनामा आयातनिर्यात दुवै बढेको छ । सो अवधिमा झण्डै १० खर्ब रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुससम्मको तथ्यांकअनुसार छ महिनामा नेपालबाट भारतलगायत तेस्रो मुलुकमा हुने निर्यात ९५.४८ प्रतिशतले बढेको छ । नेपालबाट एक खर्ब १८ अर्ब ८५ करोडको निर्यात भएको छ । गत आवको सोही अवधिमा ६० अर्ब ७९ करोड ९२ लाख रुपैयाँबराबरको निर्यात भएको थियो ।

त्यस्तै झण्डै १० खर्ब अर्थात् नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँको आयात भएको छ । गत आवको सोही अवधिमा छ खर्ब ६१ अर्ब २४ करोड ५३ लाखको आयात भएको थियो । चालु आवको छ महिनामा नेपालको कुल वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख पुगेको छ । गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार सात अर्ब २२ अर्ब चार करोडको थियो  । छ महिनामा आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँको व्यापारघाटा भएको छ । गत आवको सोही अवधिमा व्यापारघाटा छ खर्ब ४४ करोड ६१ लाख रुपैयाँ थियो । चालु आर्थिक वर्षको छ महिनामा पेट्रोलियम पदार्थमात्रै एक खर्बको आयात भएको छ । अन्य वस्तुसँगै कृषिजन्य उपजको पनि आयात बढ्दोक्रममा रहेको छ । छ महिनामा झण्डै एक अर्ब अर्थात ९० करोड रुपैयाँको केरा आयात भएको छ भने चामल २७ अर्बभन्दा बढीको आयात भएको छ । केरा आयातबाट सरकारले ८ करोड १७ लाख ५१ हजार रुपैयाँ राजस्व उठाएको छ ।

नेपाल राष्ट्र बैंकले विभिन्न २० वस्तु आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि विलासी वस्तुको आयातमा भने केही कमी आएको छ । राष्ट्र बैंकले गत पुसमा परिपत्र जारी गर्दै १८ वटा वस्तुको आयातमा प्रतितपत्र खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने र दुईवटा वस्तु आयातमा एलसी खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । बढ्दो आयातले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले आयात गर्दा नगद मार्जिन राख्नुपर्ने नीति अख्तियार गरेको हो । राष्ट्र बैंकले चकलेट, चुइँगम, इनर्जी ड्रिंक, चुरोट, अत्तर, शृंगार सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छा कोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचरजस्ता वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

साथै गाडी आयात गर्दा ५० प्रतिशत मार्जिन आयातकर्ताले राख्नुपर्ने व्यवस्था गरेको थियो । २० वटा वस्तुमा लागू गरेको मार्जिनले पहिलो महिनामै करिब दुई अर्बले आयात घटेको छ । कात्तिकसम्ममा मार्जिन लागू गरेका २० वस्तु ६४ अर्ब १५ करोडको ५७ लाखको आयात भएको थियो भने मंसिरसम्ममा ७६ अर्ब ५९ करोड ९३ लाख रुपैयाँको आयात भएको थियो । पुससम्ममा ८७ अर्ब २४ करोड ६२ लाख रुपैयाँको आयात भएको भन्सार विभागले जनाएको छ ।  पुसमा १० अर्ब ६४ करोड ६८ लाख रुपैयाँको आयात भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?