
झापा । सत्ता समीकरणमा रहेका ठूला दुई पार्टीबीच कोशीमा आलोपालो मुख्यमन्त्री बन्ने सैद्धान्तिक सहमति भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच त्यस्तो सहमति भएको स्रोतले बतायो ।
यो सहमतिसँगै नेकपा माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वो हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा मन्त्री नबन्ने हुनु भएको छ । विगतमा आर्थिक मामिला (अर्थ ) मन्त्रीको जिम्मेवारी सम्हालिसकेको कारण पनि कार्की नेतृत्वको सरकारमा आङ्वो मन्त्री नबन्नु हुने भएको हो ।
आलोपालो मुख्यमन्त्री बन्ने सैद्धान्तिक सहमति अनुसार आङ्वो नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बन्नुहुनेछ । सैद्धान्तिक सहमति भएपनि कति समय, को मुख्यमन्त्री बन्ने भन्ने विषय टुंगाे भने लाग्न बाँकी रहेकाे स्रोतले बतायो ।
आङ्वोले अहिले आफू मन्त्री नबन्ने बताउनुभयो। पार्टीका तर्फबाट कुन मन्त्रालयमा को पठाउने ? भन्ने विषयमा छलफल भइरहेको आङ्वोको भनाइ छ । उहाँले कोशीमा 'कम्फर्टेवल' सरकार बन्ने स्पष्ट पार्नुभयो । माओवादी संसदीय दलका नेता आङ्वोले यसअघि नै मुख्यमन्त्री कार्कीलाई एक साता भित्रै विश्वासको मत दिन सकिने सहज वातावरण रहेको बताइसक्नु भएको छ ।
बिहीबार गठन भएको कार्की नेतृत्वको तीन सदस्यीय मन्त्रीमण्डलमा माओवादी केन्द्रबाट गणेश उप्रेतीले मन्त्रीको सपथ लिइसक्नु भएको छ । एमालेबाट राम राना मन्त्री बन्नु भएको छ । विगतमा पनि मन्त्री भइसक्नु भएका उहाँहरुको मन्त्रालय तोकिएको छैन । दुवैजना विनाविभागीय हुनुहुन्छ ।
यद्यपि, कोशी प्रदेश सरकार संवैधानिक संकटबाट पूर्णमुक्त छैन । बुधबार राति बर्खास्तमा पर्नुभएका मुख्यमन्त्री केदार कार्कीले सर्बोच्चमा रिट दायर गर्नुभएकाे छ । रिट निवेदनमा निवर्तमान मुख्यमन्त्री कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गर्नुभएको छ ।
साथै निवर्तमान मुख्यमन्त्री कार्कीले नवनियुक्त मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्रीको कामकारबाही नगर्न नगराउन समेत अन्तरिम आदेश माग गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच