एसइई परीक्षाको नतिजा सार्वजनिक, गत वर्षभन्दा सुधार

३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थी साढे २२ हजार

नारायण भण्डारी
Read Time = 6 mins

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बिहीबारको बैठकले नतिजा सार्वजनिक गरेको हो । एसइईको नतिजामा गत वर्षसम्म सुधार देखिएको छ । ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या १२ हजार ८४२ ले बढेको छ । गत वर्ष ३.६ देखि ४ जिपिए ल्याउनेको संख्या नौ हजार ६३३ रहेकामा यस वर्ष २२ हजार ४७५ रहेका छन् । त्यस्तै, ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या पनि १३ हजार ४४२ ले बढेको छ । यस वर्ष ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या ५५ हजार ०६९ रहेको छ । गत वर्ष ३.२ देखि ३.६ जिपिए ल्याउनेको संख्या ४१ हजार ६२७ रहेको थियो ।

२.८ देखि ३.२ जिपिए ल्याउने विद्यार्थीको संख्या पनि दुई हजार ४६२ ले बढेको छ । गत वर्ष ६९ हजार ९०० ले २.८ देखि ३.२ जिपिए ल्याएकामा यसवर्ष ७२ हजार ३६२ रहेको छ । यस्तै, २.४ देखि २.८ जिपिए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ रहेको छ । यो संख्या भने एक हजार ४२७ ले घटेको हो । अघिल्लो वर्ष ९० हजार ७५८ ले यो जिपिए ल्याएका थिए । यसवर्ष सबैभन्दा बढी दुईदेखि २.४ जिपिए ल्याउने विद्यार्थी रहेका छन् । यसवर्ष एक लाख दुई हजार २९३ ले २ देखि २.४ जिपिए ल्याएकामा अघिल्लो वर्ष यो संख्या एक लाख १२ हजार ७३३ थियो । २ देखि २.४ जिपिएमा १० हजार ४४० घटेका हुन् ।

२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए । तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए ।

नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक भएको हो । त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो । बुधबार बैठक बसेर बिहीबार नतिजा सार्वजनिक गर्ने भनिए पनि बुधबार त्रुटि सच्याउन भन्दै बैठक बस्न सकेको थिएन । यसपालि एसइई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने निचोडमा पुगिएको हो ।

निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ । दुई विषयसम्म नन् ग्रेडिङ परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ ।

‘विद्यालय र कक्षाकोठाहरूको वातावरणमा सुधार आउँदै छ’
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गत वर्षको तुलनामा यस वर्षको नतिजा राम्रो रहेको जानकारी दिनुभयो । कोभिड–१९ को महामारी सकिएपछि विद्यार्थीले पढ्ने समय पर्याप्त पाएकाले नतिजामा सुधार भएको उहाँको भनाइ छ । विगतका वर्षहरूमा विद्यार्थीले कक्षाकोठामा नियमित उपस्थित हुन नपाएको र शिक्षक शिक्षिकासँग भौतिक रूपमा नै परामर्श गर्न नपाएकाले नतिजा कमजोर देखिएको उहाँको भनाइ छ ।

त्यस्तै, विद्यालय र कक्षाकोठाको अवस्था सुधार र परीक्षा प्रणालीमा आएको सुधारका कारण पनि नतिजा राम्रो आएको उहाँको दाबी छ । ‘कोभिड महामारी सकिनुका अलावा यो नतिजाले देखायो कि विद्यालय र कक्षाकोठाहरूको वातावरणमा सुधार आउँदै छ, त्यसपछि परीक्षा प्रणालीमा भएको सुधार, तथा उत्तर पुस्तिका परीक्षणमा भेरिएसन कम हुने गरी गरेका सुधारले गर्दा रिजल्ट राम्रो देखियो’ शर्माले भन्नुभयो । बोर्डले यस वर्षदेखि अंग्रेजी, गणित र विज्ञान विषयमा स्तरीकृत परीक्षा प्रणाली लागू गरेका कारणले नतिजा सुधार आएको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?