![प्रजातन्त्रमा आत्महत्या गर्न पाइन्छ !](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Thakur-Belbase.jpg)
शास्त्रमा दानको विशेष महिमा बताइएको छ । ‘स्वस्वत्वनिवृत्तिपूर्वकं परस्वत्वापादानं दानम्’ (धर्मसिन्धु) अर्थात् श्रद्धा भक्तिपूर्वक आफ्नो अधिकारमा रहेको वस्तुलाई आफ्नो अधिकार छाडी अर्काको अधिकारमा गराउने क्रियालाई दान भनिएको छ । दान धार्मिक र लौकिक दुई प्रकृतिका पाइन्छन् । मूलतः दान सङ्कल्पपूर्वक नै हुने गर्दछन् । लौकिक दान मानसकि सङ्कल्पबाट हुन्छन् भने धार्मिक दान वाचिक सङ्कल्पपूर्वक हुने गर्दछन् । वाचिक सङ्कल्पूर्वक गरिने दानको विशेष महिमा छ । जसको प्रयोग हाम्रा धार्मिक कार्यसम्पादन गर्दा हुने गर्दछ । आध्यात्मिक फलसिद्धिका निम्ति यस्ता वाचिक सङ्कल्पूर्वक दान गरिन्छ । मानसिक सङ्कल्पपूर्वक गरिने दानले लौकिक सम्बन्ध स्थापनाका निम्ति विशेष भूमिका खेल्ने गरेको पाइन्छ । आजको चर्चा लौकिक दानादान अर्थात् आदानप्रदानमा केन्द्रित रहनेछ ।
दान र आदानमा नै हाम्रा सामाजिक मूल्य र मन्यता चल्ने गर्दछन् । हाम्रा मूल वैदिक पद्धति पनि यही दानादान प्रक्रियामा नै चलेका छन् । यज्ञमार्फत् देवतालाई हवनीय वस्तु प्रदान गर्दछौँ देवताले पानी पारिदिन्छन् । पानी परेपछि उब्जनी हुन्छ । सोही उब्जनी देवतालाई पनि अर्पण गर्दछौँ । यसरी दानादानको अर्थात् आदानप्रदानको प्राकृतिक चक्र निरन्तर चलिरहन्छ भनी गीतामा यसरी बताइएको छ " ‘अन्नाद्भवन्तिभूतानिपर्जन्यादन्नसम्भवः ।
यज्ञाद्भवतिपर्जन्यो यज्ञः कर्मसमुद्भवः।।’ (गीता, ३।१४) दान भनेको दिने र आदान भनेको लिने प्रक्रिया हो । विशेष प्रकारले दिने कार्यलाई प्रदान भनिन्छ । यो संसार यही लिने र दिने क्रममा नै निरन्तर चलिरहेको छ । लोकव्यवहारमा पनि आदानप्रदानलाई सुदृढ सम्बन्धको आधार मानिएको छ ।
धार्मिक अभीष्ट सिद्धिका निम्तिभन्दा पनि सामाजिक व्यवहार सिद्धिका निम्ति प्रयोग भएको दानादनको छुट्टै महिमा रहेको पाइन्छ । धार्मिक पुण्य प्राप्तिका निम्ति दानको छुट्टै महिमा छ । सङ्कल्पपूर्वक गरिएका दानको शास्त्रीय महिमा पाइन्छ ।
धार्मिक अभीष्ट सिद्धिका निम्तिभन्दा पनि सामाजिक व्यवहार सिद्धिका निम्ति प्रयोग भएको दानादनको छुट्टै महिमा रहेको पाइन्छ । धार्मिक पुण्य प्राप्तिका निम्ति दानको छुट्टै महिमा छ । सङ्कल्पपूर्वक गरिएका दानको शास्त्रीय महिमा पाइन्छ । विनासङ्कल्प पे्रम भावले गरिएका दानका विषयवस्तु पनि अक्षय पुण्यका साथै सम्बन्धलाई सुदृढ तुल्याउन महत्वपूर्ण रहने गर्दछन् । यसैगरी सामाजिक व्यवहार सिद्धिका निम्ति गरिने दानादान प्रक्रियाले एक आपसको सम्बन्धलाई प्रगाढ बढाउने गर्दछ । यसरी एक आसरमा दानआदान गर्नाले प्रीति बढ्छ भरेर संस्कृत सुभाषितम्मा यसरी बताइएको छ :
‘ददातिप्रतिगृहृणाति गुहृयमाख्याति पृच्छति ।
भुङ्ते भोजयते चैव षडेव प्रीति लक्षणम् ।।’ (संस्कृत सुभाषितम्)
प्रीतिका छ लक्षण मध्ये दिनु र लिनु मुख्यहुन् । एकतर्फी मात्र दिनुलाई र एकतर्फी लिनुलाई मात्र प्रेमको लक्षण बताइएको छैन । दिनु र लिनु दुवै प्रक्रियाबाट मात्र प्रेम उत्पन्न हुने गर्दछ । हाम्रो समाजमा पनि दानदानका प्रक्रिया कतै व्यक्त त कतै अव्यक्त रूपमा चलिरहन्छन् । कोसेलीलिएर जाने प्रक्रिया पनि यही दानादानको प्रक्रिया नै हो । कोसेलीले प्रीति बढाउने कार्य गर्दछ । कोसेलीको प्रतिकोसेली पनि प्रकारान्तरले र्फकिने गर्दछ । कतिपय सोही समयमा त कतिपय अवस्थामा कालान्तरमा प्रतिकोसेली मिल्ने गर्दछ । आदानप्रदानको शृङ्खला यसरी नै निरन्तर चलिरहन्छ । जब आदानप्रदानमा कमी आउन थाल्छ त्यसपछि सम्बन्धमा पनि दूरी बढ्ने गर्दछ । आदान-प्रदानमा निरन्तर अघि बढ्नु एक आपसको सम्बन्धलाई सबल तुल्याउनु हो । यसरी एक आपसमा दानादान हुन सकेन भने त्यो सम्बन्ध दीर्घकालीन हुन सक्दैन ।
दिएको लिएर त कसैलाई पुग्दैन र अरूले दिएकाले सधैँ जीवन पनि चल्दैन र पनि दान र आदान हाम्रो समाजमा निरन्तर भइरहेको छ । यसका पछाडि उही सम्बन्धलाई सुदृढ तुल्याउन नै यस्ता कार्य हुने गर्दछन् । एक अर्कामा आफ्ना भावना राख्ने, मनका वह पोख्ने, मनलाई विरेचित गर्ने कार्य पनि यस्ता दानादानका प्रक्रियाले बढाउने गर्दछन् । समाजमा एक अर्काप्रति समर्पणको भाव वृद्धिका निम्ति पनि यस्ता दानआदान हुने गर्दछन् । यसैले शास्त्रकारले पनि दान-आदानले प्रेममा वृद्धि हुन्छ भनेका हुन् ।
दानादान हाम्रा हरेक सूक्ष्मातिसूक्ष्म कार्यमा पनि भइरहेका हुन्छन् । बालकलाई केही कुरा दिने गर्यो भने उक्त बालकले पनि केही समयपछि त्यसैगरी दिन थाल्छ । बालकसँग पनि दानादानको कार्य हुन्छ जसबाट एक आपसमा खुशी हुन्छौँ । पे्रम भावको वृद्धिका साथै जीवनयापनलाई सुखद् तुल्याउन यस्ता कार्य महत्वपूर्ण रहने गर्दछन् । बाल्यकालमा राम्रा राम्रा वस्तु किनेर दिएको सम्झेर नै सन्तति ठूला भएपछि त्यसैगरी आफ्ना मातापितालाई पनि राम्रा राम्रा वस्तु प्रदान गर्दछन् । यसरी दानादान प्रक्रियालको ज्ञान पुस्तान्तरण भइरहेको हुन्छ ।
एकै घरमा, आफ्नै परिवारमा पनि दानादन प्रक्रिया चलिरहेको हुन्छ । गाईलाई घाँस दिएन भने गाईले दूध दिँदैन । किनकि, यो प्राकृतिक जगत् पनि यही आदानप्रदानमा चलेको छ । कार्य व्यापार विनिमयको मध्यम हो, आदानप्रदान प्रक्रिया जसले सम्बन्धलाई सुदृढ र प्रगाढ बनाइरहेको हुन्छ । पतिपत्नीमा, मातापिता र सन्ततिमा, दाजुभाइमा, दिदीबहिनीमा, दाजुभाइ दिदीबहिनीमा एकआपसमा सुखद् सम्बन्धका निम्ति यस्ता दानदानका कार्य दुईपक्षीय रूपमा हुनु सुदृढ सम्बन्धका निम्ति उत्तम मानिन्छ । एकपक्षीय दानमात्र वा एकपक्षीय आदनमात्र पनि दीर्घकालिक हुन सक्दैन ।
संसारमा दान र आदानको महिमा विशेष रहेको पाइन्छ । व्यक्ति समाज हुँदै देश-देशबीचको सम्बन्धलाई सुदृढ तुल्याउन दानादान वा आदानप्रदानका प्रक्रिया हुनु जरुरी हुन्छ । जुन देशका बीचमा दानादान प्रक्रिया चल्छ त्यहाँको सम्बन्ध पनि सुदृढ हुन्छ ।
लिएर दिने र दिएर लिने यी सुदृढ सम्बन्धका आधार हुन् । आपसी सम्बन्धलाई सबल तुल्याउन यस्ता कार्य विशेष महत्वका हुने गर्दछन् । छिमेकीमा पनि मीठा बनाएका वस्तु दिने गर्नाले छिमेकीले पनि मीठा वस्तु बनाएका समयमा दिने गर्दछन् । जसले एक अर्कामा आफ्ना कुरा राख्न, केही कुरा सिक्न र केही कुरा बुझ्न मद्धत पुग्ने गर्दछ । एकअर्कामा बोल्ने बाटो दानादानका वस्तुले दिइरहेका हुन्छन् । जहाँ एकले अर्कालाई दिदैनन् त्यहाँ अर्काले पनि त्यति दिन रुचाउँदैनन् । जे जस्तो छ एकआपसमा दानादान गर्नाले आदनप्रदान गर्नाले घरछिमेकको सम्बन्ध सुदृढ हुन्छ । लिने आशले दिने भने गर्नु हुँदैन । दिएर बिर्सने तर लिएर नबिर्सने प्रवृत्तिले यो सामाजिक एवं पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउने गर्दछ ।
मैले त दिएको छु तर अर्काले दिनैपर्छ भन्ने धारणा गलत हो । लिनका लागि दिनु पनि गलत हो । उत्साहले कुनै अपेक्षा नराखी दिएका वस्तुले थप महत्व राख्दछन् र सम्बन्धलाई थप सुदृढ तुल्याउने गर्दछन् । उक्त वस्तुलाई माध्यम बनाएर एकआपसका सुखदुःखका कुरा खोलिन्छन्, कुशलक्षेमका कुरा व्यक्त हुने गर्दछन् । जसले सम्बन्धलाई प्रबल तुल्याउनुका साथै सामाजिक बन्न अभिप्रेरित गर्ने गर्दछन् ।
ऐँचोपैँचो प्रक्रियाले हाम्रो समाजमा सम्बन्धलाई सुदृढ तुल्याउने गर्दछ । पैँचो भने तिर्नु अनिवार्य रहन्छ भने दानादानमा यस्तो अनिवार्य रहँदैन । आफूमा भएको वस्तु अरूलाई पनि दिएर व्यवहार चलाउनाले आफूलाई परेका समयमा अरूले साथ दिन्छन् । साथ दिएको छ भनेमात्र दिन्छन् अन्यथा दिन कर लाग्दैन । यसैले चाणक्यले पनि जहाँ दान गर्ने प्रवृत्ति हुँदैन त्यो समाजमा संगत गर्नु उपयुक्त हुँदैन भनी बताएका छन् :
‘लोकयात्राद्रभयं लज्जा दाक्षिण्यं त्यागशीलता ।
पञ्चयत्र नविद्यन्ते न कुर्यात्तत्र संगतिम् ।।’ (चाणक्य) अर्थात् जीविका, डर, लाज, कुशलता, दान गर्ने प्रवृत्ति जहाँ हुँदैनन् त्यहाँका मान्छेको संगत नगर्नू । दानलाई मुख्य मान्नुको कारण यही हो । दानादान सच्चा साथीको लक्षण हो । विदुरले पनि मान्छेमा दान दिने कार्यलाई कहिल्यै नत्याग्नु भनेका छन् : ‘षडेव तु गुणाः पुंसा न हातव्याः कदाचन । सत्यं दानमनालस्यमनसूया क्षमा धृतिः ।।’ (विदुर नीति) अर्थात् मान्छेले सत्य, दान, कर्मण्यता, अनसूया (गुणमा दोष देखाउने प्रवृत्तिको अभाव), क्षमा तथा धैर्य कहिल्यै त्याग्नु हुँदैन । दानदानको कार्यमा नित्य लाग्नु उचित हो भन्ने विदूरको अभिमत रहेको पाइन्छ ।
संसारमा दान र आदानको महिमा विशेष पाइन्छ । व्यक्ति, समाज हुँदै देश-देशबीचको सम्बन्धलाई सुदृढ तुल्याउन दानादान वा आदानप्रदानका प्रक्रिया हुनु जरुरी हुन्छ । जुन देशका बीचमा दानादान प्रक्रिया चल्छ त्यहाँको सम्बन्ध सुदृढ हुन्छ । दानादान नहुने देशबीचको सम्बन्ध पनि त्यति प्रबल रहन सक्दैन । सामान्य परिवारदेखि लिएर राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा दानादानको प्रक्रिया निरन्तर चल्न सक्नुपर्दछ । यसले सम्बन्धलाई सबल बनाउँछ ।
आफूलाई अप्ठ्यारो परेका समयमा साथ र सहयोग मिल्ने गर्दछ । हरेकका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । हरेक कुरालाई सकारात्मक पाटाबाट चिन्तन गर्नु उपयुक्त हुन्छ । स्वस्थ चित्तले प्रसन्नतापूर्वक श्रद्धा भावपूर्वक गरिएका दान अति पुण्यदायी हुन्छन् । एकआपसको सम्बन्धलाई सबल तुल्याउन आत्मीयभावको जागृत गराउन पनि आदानप्रदान हुनु आवश्यक हुन्छ । अर्थात् आदानप्रदान सुदृढ सम्बन्धको आधार हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच