काठमाडौं । नेपालीहरूलाई लक्षित गरी मेरो जब लिमिटेड र गुगल एलएलसीको सहकार्यमा मेरो जबले गुगल करियर सर्टिफिकेट छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ । प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्न आवश्यक कौशलसहित विश्वव्यापी दक्षता प्रदान गर्ने उद्देश्यले आइटी र प्रविधि क्षेत्रमा रुचि भएका व्यक्तिलाई केन्द्रित गर्दै कम्पनीले यस्तो कार्यक्रम ल्याएको हो ।
जुन पहलले दक्षता र योग्यता विशेषगरी गतिशील सूचना प्रविधि क्षेत्रमा अगाडि बढाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ । यस कार्यक्रमले पाँच सय आवेदकलाई गुगल प्रमाणित करियर सर्टिफिकेट पाठ्यक्रममा छ महिनाको व्यापक अनलाइन प्रशिक्षणका लागि छात्रवृत्तिमा भर्ना गर्ने योजना बनाएको छ । आर्थिक पत्रकारलाई समेत उक्त कार्यक्रममा सहभागिता गराउने उद्देश्यले कम्पनीले नेपाल आर्थिक पत्रकार समाज(सेजन)सँग सहकार्यका लागि सम्झौता गरेको छ । सेजन अध्यक्ष सुजन ओली र मेरो जबका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
अनलाइन माध्यमबाट सञ्चालन हुने छात्रृवृत्ति कार्यक्रममा कुल छवटा क्षेत्रमा पाठ्यक्रम सञ्चालन हुनेछन् । सामान्यतया आइटी, डाटा एनालिटिक्स, परियोजना व्यवस्थापन, प्रयोगकर्ता अनुभव युएक्स डिजाइन, डिजिटल मार्केटिङ र साइबर सुरक्षाजस्ता क्षेत्रका लागि आवश्यक प्राविधिक सीप र ज्ञानमा केन्द्रित रहने बताइएको छ । छात्रवृत्ति कार्यक्रममा छनोट हुनेले छ महिना अवधिको पाठ्यक्रम र त्यसमा लिइने परीक्षा तथा मूल्यांकनमा उत्तीर्ण भएपछि प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रमाणपत्र अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त हुने बताइएको छ ।
यस कार्यक्रममा सहभागी प्रतिक्षार्थीले छात्रवृत्ति कार्यक्रमअन्तर्गत अनलाइनबाट सञ्चालन हुने पाठ्यक्रममा नियमित सहभागी हुनुपर्छ । साथमा पाठ्यक्रममा लिइने परीक्षा, सामूहिक छलफल र अन्तरक्रियामा भाग लिनुपर्छ । त्यसरी नियमित सहभागी नहुने गुनासो भएमा त्यस्ता प्रशिक्षार्थीलाई कार्यक्रमको बीचबाटै निष्कासनसमेत हुनसक्ने प्रबन्ध निर्देशक गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार गुगलबाट आउने कन्टेन्टलाई नेपाली परिवेश सुहाउँदो बनाउन बीच–बीचमा कम्पनीले नेपाली विज्ञबाट समेत वेबिनार गराउने योजना बनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच