✍️ मुना धिताल कोइराला
नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले ‘अग्र अनुहार’ कथा अग्रजको गाथा महासङ्घको नामक पुस्तक प्रकाशनमा ल्याएको छ । प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीको सम्पादनमा प्रकाशन भएको यो पुस्तक झट्ट हेर्दा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति/अध्यक्षको जीवनी जस्तो देखिन्छ । तर, यो पुस्तकमा नेपाल पत्रकार महासङ्घको इतिहास समेटिएको छ । २०१२ सालमा तत्कालीन नेपाल पत्रकार सङ्घ स्थापनादेखि वर्तमानको नेपाल पत्रकार महासङ्घसम्म जान्न यो पुस्तक सहयोगी हुनेछ । त्यतिमात्र होइन विश्व र नेपालको पत्रकारिताका बारेमा केही हदसम्म जानकारी पुस्तकमा छ ।
पत्रकारहरूको हकहित र अधिकारका लागि सन् १९४६ मा प्रागमा इन्टरनेसनल आर्गेनाइजेसन अफ जर्नलिस्ट्स नामक सङ्गठन स्थापना भएको कुरादेखि नेपालमा पनि विसं १९५० मा पण्डित मोतीकृष्ण शर्माले ठहिटीमा स्थापना गरेको पाशुपत प्रेसलाई फसिकेबमा सारेर मोतीराम भट्ट र पण्डित नरदेव पाण्डेले साहित्यिक र सांस्कृतिक अभियान चलाएको सम्मका कुरा पुस्तकमा भेट्न सकिन्छ । विसं १९५५ ‘सुधा सागर’ नेपालमा प्रकाशित भयो भने विसं १९५८ वैशाख २४ गते सोमबारका दिन गोर्खापत्रको पहिलो अङ्क प्रकाशित भएको, राणातन्त्रका विरुद्ध आन्दोलनका क्रममा नारदमुनि थुलुङ र जयन्द्रबहादुर थपलियाले २००७ मङ्सिर २९ गते भोजपुर जिल्लामा पहिलो पटक रेडियो फ्रिक्वेन्सीको पहिचान गरेको कुरा पुस्तकमा उल्लेख छ । भोजपुरमा पहिचान भएको यो रेडियो २००७ फागुन ७ सम्म विराटनगरबाट प्रसारण गरियो ।
पुस्तकमा कृष्णप्रसाद भट्टराईलाई पत्रकारदेखि प्रधानमन्त्रीसम्म, दातारामलाई तीन युगका साक्षी, सिंहलाई पत्रकारिताका उज्याला व्यक्तित्व, पशुपतिदेवका बारेमा पत्रकारितादेखि प्रशासकसम्म, श्रेष्ठलाई उद्देश्यमूलक पत्रकारिताका हिमायती, गोपालदासलाई अङ्ग्रेजी पत्रकारिताका आरम्भकर्ता, पाण्डेलाई पञ्चायतका पक्षपातीको शीर्षक दिएर लेखिएको छ ।
प्रजातन्त्रको स्थापनापछि, २००७ चैत २० गते यसलाई काठमाडौं ल्याएर ‘नेपाल रेडियो’ को प्रसारण सुरु भएको इतिहास पुस्तकमा समेटिएको छ । प्रजातन्त्र स्थापनासँगै आएको खुलापनासँगै पत्रकारितामा आएको बहारदेखि प्रेमराज शर्मा, भोजबहादुर न्यौपाने, रामहरि जोशी, रामराज शर्मा, नारायणप्रसाद भट्टराई, देवेन्द्रराज शर्मा, भीमभक्त जोशी र प्रकाशचन्द्र टण्डनसहित २१ जना पत्रकारहरूले २००८ जेठमा सत्यनारायणबहादुर श्रेष्ठको अध्यक्षतामा नेपाल पत्रकार सङ्घ स्थापना गरेको कुरा पुस्तकमा लेखिएको छ ।
श्रेष्ठ नेतृत्व समितिले निरन्तरता नपाएपछि २०१२ पुस १९ गते नेपाल समाचारका प्रकाशक उदयराज शास्त्रीको अग्रसरतामा भएको भेलाले पत्रकारलाई सङ्गठित गर्न संस्था स्थापना गर्ने संकल्प गरेको र २०१२ चैत १६ गते बसेको अर्को भेलाले कृष्णप्रसाद भट्टराई (उपाध्याय) को अध्यक्षतामा नेपाल पत्रकार सङ्घको स्थापना गरेको थियो । भट्टराई नेतृत्वको सोही सङ्घले अविछिन्न उत्तराधिकार दिँदै आजको नेपाल पत्रकार महासङ्घ हुन आएको हो भन्ने पुस्तकमा उल्लेख छ ।
पत्रकार संघ हुँदै अहिलेको महासङ्घसम्म आइपुग्दा उक्त सङ्गठनले ६८ वर्ष पूरा गरेको छ । त्यस क्रममा २३ जनाले यसको नेतृत्वमा पुगेका छन् । सिङ्गो पत्रकार महासङ्घको इतिहासलाई लिपिबद्ध नभएको अवस्थामा प्रतिष्ठान प्रदेश समितिले पूर्वसभापति/अध्यक्षहरूको जीवनी लेखेजस्तो गरेर महासङ्घ र नेपाली पत्रकारिताको एकसरो इतिहास कोर्ने काम गरेका छन् । प्रतिष्ठान प्रदेश समिति र अन्य गरी १७ पत्रकारले २३ जनाका बारेमा लेखेका छन् ।
सम्पादकीयसहित अधिकारीले नै कृष्णप्रसाद भट्टराई, फत्तेबहादुर सिंह, मनिन्द्रराज श्रेष्ठ, गोकर्णदेव पाण्डे, इन्दुकान्त शर्मा, मञ्जुरत्न शाक्य, निर्मलकुमार अर्याल र विष्णु निष्ठुरीका बारेमा लेखेका छन् । यम बिरहीले दाताराम शर्मा, चेतन पाण्डे र पोषनाथ अधिकारीले पशुपतिदेव पाण्डे, भाषा शर्माले गोपालदास श्रेष्ठ, शेखर अधिकारीले मणिराज उपाध्याय, विष्णु नेपालले गोविन्द वियोगी र रुक्मिणी पोखरेलले होमनाथ दाहालका बारेमा लेखेका छन् ।
त्यस्तै, हरिहर विरहीबारे शिवहरि घिमिरे, किशोर नेपालको केशव बोहोरा, सुरेश आचार्यको सुभाषप्रसाद साह, तारानाथ दाहालको शिवराज रेग्मी, धर्मेन्द्र झाको अशोक घिमिरे, शिव गाउँलेको अनिताकुमारी घिमिरे, महेन्द्र विष्टको नरेन्द्र मानन्धर, गोविन्द आचार्यको वीरेन्द्र ओलीले र वर्तमान अध्यक्ष बिपुल पोखरेलको देवेन्द्र बस्नेतले लेखेका छन् ।
पुस्तकमा भट्टराईलाई पत्रकारदेखि प्रधानमन्त्रीसम्म, दातारामलाई तीन युगका साक्षी, सिंहलाई पत्रकारिताका उज्याला व्यक्तित्व, पशुपतिदेवका बारेमा पत्रकारितादेखि प्रशासकसम्म, श्रेष्ठलाई उद्देश्यमूलक पत्रकारिताका हिमायती, गोपालदासलाई अङ्ग्रेजी पत्रकारिताका आरम्भकर्ता, पाण्डेलाई पञ्चायतका पक्षपातीको शीर्षक दिएर लेखिएको छ ।
त्यस्तै, शर्मालाई साहित्यिक पत्रकारिताका प्रवर्तक, शाक्यबारे छ दशकदेखिको उद्बोधन यात्रामा, अर्याललाई सङ्घर्षशील प्राज्ञिक पत्रकार, उपाध्यायलाई स्वनामधन्य व्यक्तित्व, वियोगीलाई अविचलित साधक, होमनाथलाई प्रजातन्त्रको पैरवीकर्ता, विरहीलाई विद्रोहका पर्याय, नेपाललाई जुझारु कलमजीवी, सुरेशलाई दृढ निश्चयी नेतृत्व, दाहाललाई पेसागत मर्यादाका पक्षपाती, निष्ठुरीलाई स्वतन्त्रताका पक्षधर, झालाई शान्ति प्रक्रियाका साक्षी उल्लेख गरिएको छ ।
गाउँलेलाई शब्दका ज्यामी, विष्टलाई व्यावसायिकताका पक्षधर, आचार्यलाई सङ्घीयताका सारथि र पोखरेललाई मोफसलका अगुवा शीर्षक पुस्तकमा दिइएको छ । पुस्तकमा उनीहरू व्यक्तिगत जीवन र परिवारको मात्र होइन नेतृत्वमा रहँदा भए गरेको काम, राजनीतिक परिवेशसम्मको एकसरो जानकारी पाउन सकिन्छ । त्यतिमात्र होइन उनीहरूको कार्यकालमा केन्द्रीय समितिमा रहेका पदाधिकारी र सदस्यहरूको नामसमेत पुस्तकमा छ ।
अरूका बारेमा लेख्ने तर आफ्नो र आफ्नाका बारेमा भने नलेख्ने प्रचलनलाई तोड्दै नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले एउटा सकारात्मक प्रयासको सुरुवात गरेको छ । कुनै पनि व्यक्ति वा सङ्गठनहरूले गरेको कामको मेमोरी (दस्तावेजीकरण) गर्ने प्रचलन नभएका बेला प्रदेश समितिले प्रकाशन गरेको पुस्तकले नेपालको पत्रकारिता र महासङ्घका बारेमा जान्न चाहनेका लागि एकसरो जानकारी प्राप्त हुन्छ ।
पुस्तकले तत्कालीन राजनीतिक, आर्थिक र सामाजिक अवस्थाका साथै पत्रकारिताको अवस्थाको चित्रण गर्नेछ । पत्रकारिता अध्ययन तथा यस क्षेत्रका प्रवेश गर्ने तयारीमा रहेका वा रुचि राख्ने जोकसैका लागि पनि न्यूनतम जानकारी प्राप्त हुनेछ ।
विभिन्न १७ जना व्यक्तिहरूले महासङ्घका पूर्वसभापति÷अध्यक्ष वा उनीहरूका परिवारका सदस्यसँग कुरा गरेर त्यसलाई तयार गरिएको छ । त्यसले उनीहरू बारेमा थप जान्नका लागि खोज्ने र पुग्ने बाटो पहिल्याइदिएको छ । उनीहरूले फरक पेसा र व्यवसायमा आफ्नो स्थान बनाइसकेका छन् ती पनि अभिव्यक्ति स्वतन्त्रताका पक्ष बलियो तुल्याउन पत्रकारितामा लागेको पुस्तकबाट जान्न सकिन्छ ।
त्यसैले नेपाल पत्रकार सङ्घदेखि महासङ्घसम्मका २३ जनाका बारेमा जान्ने मात्र होइन नेपाल पत्रकार महासङ्घ र नेपाली पत्रकारिता मात्र होइन नेपालको राजनीतिक अवस्थालाई साङ्गोपाङ्गो जानकारी पाउनका लागि उक्त पुस्तक निकै उपयोगी हुने देखिन्छ । २०१२ सालमा नेपाल पत्रकार सङ्घ स्थापना यता पञ्चायतपूर्वका दुई, पञ्चायतकालका दश, बहुदलकालका छ र सङ्घीय गणतन्त्र स्थापना भएपछि पाँच अध्यक्षहरूले पत्रकारको पेसागत अधिकार, व्यावसायिक पत्रकारिताको विकास र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा कसले कति योगदान दिएका छन् भन्ने विषयलाई पुस्तकले समेटेको छ ।
पुस्तकले तत्कालीन राजनीतिक, आर्थिक र सामाजिक अवस्थाका साथै पत्रकारिताको अवस्थाको चित्रण गर्नेछ । पत्रकारिता अध्ययन तथा यस क्षेत्रका प्रवेश गर्ने तयारीमा रहेका वा रुचि राख्ने जोकसैका लागि पनि न्यूनतम जानकारी प्राप्त हुनेछ । सम्पादक अधिकारीले महासङ्घका बारेमा पुस्तक प्रकाशन यो अन्त्य होइन, आगामी दिनमा थप अध्ययन र खोजीका लागि सुरुआत मात्र हो । आगामी दिनमा महासङ्घले पत्रकार बैंक नै स्थापना गर्नुपर्छ । त्यसमा सबै पत्रकारको न्यूनतम जानकारी हुनुपर्ने उल्लेख गरेका छन् ।
यो आजका लागि होइन भविष्यमा पत्रकार र पत्रकारिताको अध्ययन गर्न चाहनेका लागि महत्वपूर्ण योगदान हुने कुरा प्रा.रामकृष्ण रेग्मीले पुस्तकबारे लेखेको टिप्पणीबाट पनि बुझ्न सकिन्छ । रेग्मीले पुस्तकमा लेखेका छन्, ‘सतहमा हेर्दा यो किताब अनेक पत्रकारको व्यक्तित्व-परिचय हो, पत्रकार महासङ्घको एक किसिमको इतिहास हो तर सारवस्तुलाई केलाउँदा नेपालको विविध राजनीतिक कालखण्ड, सामाजिक-सांस्कृतिक परिवेशमा नेपाली पत्रकारको यात्रा कसरी अघि बढ्दै आएको रहेछ भन्ने तथ्यको जीवन्त प्रमाण हो ।’ नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले प्रकाशनमा ल्याएको ‘अग्र अनुहार’ अहिले विभिन्न पुस्तक पसलमा किन्न सकिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच