भर्खरैको कुरा हो मेरा एकजना छिमेकी बा हाम्रो टोलको चोकमा उभिएर दुईचारजना अरू छिमेकीका माझमा आफ्ना सन्ततिको प्रगतिका बारेमा गौरवका साथ भनिरहनुभएको थियो ‘मेरी नातिनीको पनि अमेरिकाको भिसा लाग्यो । बयान्नब्बे प्रतिशत ल्याएर प्लस टु गरेकी थिई, सोधेका कुरा फटाफट भनिछ । ट्याक्क पहिल्यै पटकमा भिसा हानिदियो । हामी बुढाबुढीको पनि भिसा भइसक्यो । अब मेरो परिवारका एकदुई जनाबाहेक अरू सबै जनाको विदेशको भिसा भइसक्यो । छोरीज्वाइँ दुईजनाको बाँकी छन् । उनीहरूको पनि नातिनीले टोपी लगाउने बेला भिसा लागिहाल्छ ।’
यसो भनिरहँदा उहाँको अनुहार विजयी योद्धाको जस्तो देखिन्थ्यो । मैले भनेँ ‘राम्रो भए छ बा । अनि त्यति धेरै प्रतिशत ल्याएकी रहिछन् नातिनी छात्रवृत्तिमा जानेभइन् कि ?’ अनि उहाँले अलि हच्केर भन्नुभयो ‘छात्रवृत्ति त होइन । त्यस्तै तीस-चालीस लाख जति लाग्छ अरे ।’ उहाँ प्रफुल्लित नै हुनुहुन्थ्यो त्यसपछि म भनेँ गम्भीर भएँ । उहाँको खुशी खोइ केमा अडिएको हो कुन्नि ? चालीस लाख बुझाएर अमेरिका पस्ने खबरले मानिस कसरी खुशी हुन सकेको होला ?
त्यही देश हो मेरो जहाँ विदेशको भिसा लाग्दा हजुरबाहरू खुसीले गद्गद् हुन्छन् । बाआमा त झन् हर्षले धर्तीमा टेक्नै बिर्सिन्छन् । विदेशी टोपी लगाउने हतारोमा कुन सड्को नेपाली टोपी शिरबाट धुलोमा खसेको पत्तै पाउँदैनन् ।
मैले त्यही दिन केही अलमलमा परेर बुझेँ पढिसकेर दीक्षान्तमा भाग लिने कुरालाई चल्तीको भाषामा टोपी लाउनु भनिँदो रहेछ । कति सजिलो गरी दीक्षान्त शब्दलाई बुझाइँदै आएको रहेछ हाम्रा समाजमा । सायद यो टोपी शब्द तिनै बाँकी नातिनीजस्तै विदेशिँदै गरेका सन्तानका बाआमाले जुराएको शब्द होला । जसलाई दीक्षान्तको गरिमाका बारेमा भन्दा बढी टोपी लगाउने अवसरका बारेमा चासो छ । सन्तान विदेश पठाउने अनि त्यसको दुई वर्षपछि आफूहरू टोपी लगाउन जाने एकसूत्रीय सपनाले देश नै रित्तिएको यो असजिलो समयमा टोपीको गरिमाका बारेमा पनि खोइ कसलाई बुझाउन सकिएला र ?
छिमेकी बाले बुझ्नुभएको टोपी जो विदेशमा पढ्न गएका सन्तानले स्नातक, स्नातकोत्तर डिग्री वा विद्यावारिधि उपाधि लिएपछि दीक्षान्तका समयमा लगाउने गर्दछन् अनि हाम्रो टोपी जसलाई हामीले स्वयम् दीक्षान्तको टोपीभन्दा धेरै चहकिलो, धेरै गाढा, धेरै गरिमामय र धेरैअग्लो ठान्दछौँ ती दुईका बीचको अन्तरका बारेमा के हामीले कुनै दिन सोच्न सकौँला ? संसारकै चलन हो दीक्षान्तका समयमा परिवारका सदस्यलाई सामेल गराउने गरिन्छ । त्यही चलनको सदुपयोग गरेर धेरै सन्तानका पितामाता वा अन्य नजिकका आफन्तजन विदेश जाने गरेको कुरा हामी धेरैलाई थाहा छ । अहिले आएर स्वदेशीभन्दा विदेशी टोपीको चलन बढी छ । कि सन्तानले दीक्षान्त लिँदा टोपी भिसामा कि विदेशमै बसेका सन्तानले बच्चा जन्माउँदा तेलभिसामा हामी नेपालीहरू विदेश जाने अवसर पाउँछौँ र त्यसलाई हामीले गौरवका रूपमा लिने गरेका छौँ ।
कुरा त दुवै गौरवकै हुन् । टोपी भिसा होस् वा तेल भिसा होस् जोरीपारिलाई धाक लाउन हामीलाई चाहिएको भिसा हामीले पाइहाल्छौँ । तर, विडम्बना त्यही अवसरकै वरपरबाट हाम्रा सन्तानहरू हाम्रो काखबाट उम्किएर परदेशी बनिसकेको हामीलाई हेक्कै हुँदैन । हेक्का तब हुन्छ जब आफूलाई सन्तानको सहारा चाहिन्छ । बिरामी पर्दा पानी खान दिने वा अस्पताल लैजाने मानिसको खाँचो हुन्छ । बाआमालाई अस्पताल लैजानुपर्छ भनेर को सन्तान आफ्नो भविष्य बिगारेर बस्छ त ? कुरा साँचो हो बाआमाले त आफ्नो हिस्साको जीवन जेजसरी भए पनि बिताइसके । अब सन्तानले पनि त्यसरी नै बाको सेवा गरेर जीवन बर्बाद गर्नु ? निश्चय पनि यस्तो कुरा स्वीकार्य हुँदैन ।
त्यही बुझेर नै त पचहत्तर वर्षका हजुरबा नातिनीको अमेरिका भिसा लाग्दा खुसी हुन सकेका छन् । हो ! त्यही देश हो मेरो जहाँ विदेशको भिसा लाग्दा हजुरबाहरू खुशीले गद्गद् हुन्छन् । बाआमा त झन् हर्षले धर्तीमा टेक्नै बिर्सिन्छन् । विदेशी टोपी लगाउने हतारोमा कुन सड्को नेपाली टोपी शिरबाट धुलोमा खसेको पत्तै पाउँदैनन् । राष्ट्रियता झल्काउने उद्देश्यले होस् वा प्राज्ञिकता टल्काउने उद्देश्यले होस् टोपी लगाउनु राम्रो हो । हामी नेपालीको हकमा त टोपी झन् विशिष्ट हुनैपर्ने हो ।
हामी शिरमा टोपी र मुटुमा देश सजाएर हिँड्नुलाई उपाधिमा लगाइने टोपीभन्दा फरक मान्दछौं । हामी रैथानेका कुरा छोडौँ हिजो माओत्सेतुङ्को जस्तो माथिपट्टि जुल्पी फर्काएर कोर्ने हाम्रा सम्माननीयहरू पनि आज टोपीमा सजिनुलाई गौरव अनुभव गर्न थालेका छन् । विश्वमै पृथक् पहिचान बोकेको हाम्रो टोपी अनि दीक्षान्तमा संसारले लगाउने टोपीमा पनि केही फरक त छ । हामी टोपी लगाउनुलाई उपाधि पाउनुभन्दा ठूलो मान्दछौँ । चारतिर टुँडा फर्किएको त्यो दीक्षान्तको टोपी जसले आज आधा नेपालीलाई विदेशी बनाएको छ तैपनि सन्तोष गरौँ त्यही टोपीले विश्व घुमाएको छ साथै नेपालमा बसेर नेपाली टोपीलाई टोपी स्वीकार्न नसकेकाहरूलाई पनि शिरमा टोपी लगाइदिएको छ ।
टोपीले राष्ट्रियताको पहिचान हुन्छ भनेर बुझेका हामी पनि टोपी लागाउनकै निम्ति संसारभरि पुगेका छौँ । छोराछोरीलाई विदेश पठाएरै भए पनि शिरमा टोपी लगाएका छौँ । कुरा सन्तोषकै पनि हो तर कता कता मन बिझाउने गरी आउने यस्तै हौसे अभिव्यक्ति र टोपीका भित्र रहेको अन्तर्यका बारेमा जब गहिरिएर सोच्न थालिन्छ कुरा त्यति सुखद् लाग्दैन । स्वदेशमा होस् वा विदेशमा दीक्षान्तको टोपी शिरमा सजिनु गौरवको कुरा हो । मलाई पनि दीक्षान्तको टोपीको ठूलै रहर थियो । धेरै वर्ष प्रतीक्षा गरेर हालसालै मात्र दीक्षान्तको टोपी लगाएको थिएँ । त्यस दिनको आनन्दलाई व्यक्त गर्ने मसँग पनि शब्द छैनन् ती हजुरबालाई जस्तो । तर, के हामी स्वदेशको दीक्षान्तको टोपी लगाउन पनि त्यत्तिकै लालायित हुन सकेका छौँ त ? निश्चय पनि त्यस्तो छैन ।
यस्तो किन भयो होला भनेर सोच्दा हालसालै बसेको नेपाल संस्कृत विश्वविद्यालयको सत्सठ्ठीऔँ सभामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री माननीय सुमना श्रेष्ठले सभालाई सम्बोधन गर्दैगर्दा भनेका केही कुराको सम्झना भयो । उहाँको भनाइको सार थियो हामी पढेलेखेकाहरू, देशका विभिन्न निकायमा नेतृत्व गरेका व्यक्तिहरूले समाज र राष्ट्रका सामु आफ्नो विश्वास गुमाएको प्रतिफलस्वरूप विभिन्न संस्थाको अवस्था निराशाजनक बन्दै गइरहेको छ । विद्वान्हरूबाट भरोसा हट्दै गएको छ । संस्थाहरूको साख गिर्दै गएको छ । नेतृत्वमा व्यक्तिहरूलाई पठाउनका निम्ति उनीहरूको योग्यताको परीक्षा लिनुपर्ने बाध्यता सिर्जना भएको ।
जसरी बालेन दृष्टिकोणसहित अगाडि बढेका छन् सफलता पनि उनलाई पछ्याउँदै आइरहेजस्तो लाग्दैछ । देश बनाउने हो भने केही चुनौतीहरूको सामना हामीले गर्नैपर्ने हुन्छ । परम्पराको साङ्लो चुँडाउन सक्नुपर्छ । हेरिरहेको चश्मामा कतै धुवाँधुलो लागेको पनि हुनसक्छ । आवश्यक पर्यो भने चश्मा पुछ्न अप्ठ्यारो मान्नुहुन्न ।
विद्वान्हरूलाई उनीहरूको व्यक्तिगत विवरणका साथै उनीहरूको विश्वास पनि मागेर नियुक्त गर्ने प्रक्रियाको थालनी गर्नुपरेको छ । कृपया विद्वान्हरूले चित्त नदुखाउनुहोस् जुन दिन हामीले समाजलाई पुनः विश्वास दिलाउन सक्नेछौँ त्यस दिन लाइन लगाएर विद्वान्हरू छान्ने अवस्थाको अन्त्य हुनेछ । हामी पुनः समाजमा स्थापित हुनेछौँ । त्यस दिन त उहाँका कुरा असाध्यै राम्रा लागे तर जब विदेशी टोपी थाप्न यो देशका प्रबुद्धदेखि सर्वसाधारणसम्म पनि लाइन लागेर प्रतीक्षा गरिरहेको दृश्य सामु आउँछ शिक्षामन्त्रीजीकै कुरामा मात्र भर गर्न मलाई गाह्रो परेको छ ।
नेपालको हकमा आजसम्मको आमधारणा पनि के छ भने कुनै विदेशी विश्वविद्यालयबाट डिग्री लिएको, अङ्ग्रेजी फरर बोल्न सक्ने अनि सभासमारोहमा जाँदा विदेशकै कुरा बढी गर्ने व्यक्तिलाई योग्य र विज्ञ मान्ने परम्परा छ । इतिहास त हामी धेरैका सुनौला अक्षरले कुँदिएकै थिए तर वर्तमान फलामका अक्षरले पनि लेख्न सकेको लाग्दैन । तपाईंहरूले हावामा लेखेका अक्षर पढ्नसक्ने आँखा ईश्वरले नदिएकाले अहिले नागरिकहरू खिन्न छन् । सबैमा यस्तो दृष्टान्त लागु नहोला । केही गरौँको हुटहुटी, विदेशी योग्यता र स्वदेशी मन लिएर आएका धेरै प्रतिभाहरू अहिले देशमा छन् । विदेशको टोपी लगाउनु नराम्रो हुँदैहोइन तर मन पनि विदेशमा अड्याएर स्वदेशी भएको ढोङ गर्नु नराम्रो हो । हाम्रा वर्तमान शिक्षामन्त्रीज्यू पनि विदेशकै टोपी लगाएर विज्ञ बन्नुभएको वर्गमा पर्नुहुन्छ ।
तर, उहाँको दृष्टिकोण स्पष्ट रहेको जस्तो लाग्छ । मिडियामा आएका केही समाचारहरू सत्य नहोऊन् । वषौँदेखि जुन प्रवृत्ति र परम्परालाई हामीले स्वीकार्दै र भोग्दै आएका छौँ त्यसमा तलमाथि हुँदा हामीलाई असजिलो लाग्नसक्छ । नयाँ कुरा र काम पचाउन गाह्रो पर्नसक्छ । वषौँदेखिको अव्यवस्थालाई सुव्यवस्थामा परिवर्तन गर्न काठमाडौंका मेयर बालेनलाई अहिले जति हम्मे परेको छ वर्तमान शिक्षामन्त्रीलाई पनि सोही असजिलो भइरहेको होला भन्ने लाग्छ । तर, जसरी मेयर बालेन दृष्टिकोणसहित अगाडि बढेका छन् सफलता पनि उनलाई पछ्याउँदै आइरहेजस्तो लाग्दैछ । देश नै बनाउने हो भने केही चुनौतीको सामना हामीले गर्नैपर्ने हुन्छ । परम्पराको साङ्लो चुँडाउन सक्नुपर्छ । हेरिरहेको चश्मामा कतै धुवाँधुलो लागेको पनि हुनसक्छ । आवश्यक पर्यो भने चश्मा पुछ्न अप्ठ्यारो मान्नुहुन्न ।
केही नयाँ काम गर्दा बलियो गरी उभिने आँट गर्नैपर्छ । कसैलाई क्षमताले साथ दिँदैन, कसैलाई समयले साथ दिँदैन । केही गर्ने उत्साह लिएकाहरूलाई अहिले समयले साथ नदिन पनि सक्छ । कहिले सहयोगी हात हुँदाहुँदै पनि सङ्गत राम्रो नहुनाले दुःख हुन्छ । कतिपय काम गर्नसक्नेहरूलाई अहिले पनि साथ र सुसङ्गतको कमी अनुभव भइरहेको छ । यही र यस्तै मान्यता रहिआएसम्म र नेपालको विद्यमान शिक्षाको अवस्थामा परिवर्तन नआएसम्म हामी पनि नातिनी विदेश पठाउँदा हजुरबा प्रसन्न भएजस्तै प्रसन्न र विदेशी टोपी लाउन आशावादी रहनु नै कल्याण हुने देखिन्छ ।
प्रश्न के मात्र हो भने यसरी देशप्रति नागरिकहरू निराश बन्दै जाने, विदेशकै टोपीको आकर्षणमा युवाहरू पलायन हुँदै जाने अनि हामी गुणस्तरको राग अलापेर सत्तामा बसिरहने हो भने केही वर्षपछिको देशको अवस्था कस्तो होला ? या त विदेशीहरू जसलाई देशको टोपीमा कत्ति भरोसा छैन तिनीहरूकै हातमा देश जाने या त असफल राष्ट्रको सूचीमा देशलाई दर्ता गराएर हामीले अरूलाई गाली गरिरहनेभन्दा बढ्ता केही होलाजस्तो लाग्दैन । आगे हजुरहरूकै मर्जी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच