सदनको अवरोध अन्त्यका लागि आज पनि शीर्ष नेताबीच छलफल

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । संसद्मा उत्पन्न अवरोध अन्त्य गर्न शीर्ष राजनीतिक तहमा आज पनि छलफल भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतासँग आज बिहान छलफल गर्नुभएको छ भने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आज दिउँसो प्रधानमन्त्री दाहाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेतासँग छलफल गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीसँगको भेटपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमतिका आधारमा निकास खोज्न प्रधानमन्त्री दाहाल सकारात्मक हुनुभएको बताउनुभयो । हरेक जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रममा छलफल गरेर पारित गर्नुपर्ने भएकाले संसद्मा प्रतिनिधित्व गरेका दलहरुलाई सहमति जुटाउन दबाब परेको छ ।

सहकारीको रकम दुरुपयोगका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै नेपाली कांग्रेसले सङ्घीय संसद्का दुवै सदनका बैठकमा लगातार अवरोध गर्दै आएको छ । शुक्रबारको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी कांग्रेसको आग्रहमा सभामुख घिमिरेले आइतबारका लागि सार्नुभएको थियोभने राष्ट्रियसभाको बैठक गत वैशाख २८ गते सुरु भएको चालु अधिवेशनको पहिलो दिनदेखि नै विपक्षीले अवरोध गर्दै आएको छ ।

यही जेठ १ गतेको सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा राष्ट्रपतिप्रति कृतज्ञता ज्ञापन गर्ने संसदीय परम्परा पनि अवरुद्ध भएको छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?