काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निरन्तर संसद्को विश्वास गुमाउँदै गएको छ । तेस्रो कार्यकालमा पहिलोपटक विश्वासको मत लिँदा झण्डै शतप्रतिशत मत पाउनुभएका उहाँको पक्षमा चौथो पटकसम्म आइपुग्दा मुस्किलले बहुमत सांसदको विश्वास छ । २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्ड तीन-तीनपटक सत्ता समीकरण फेरेर सरकारको नेतृत्वमा कायम रहनुभएको छ । तर, सांसदहरूको विश्वास भने क्रमशः घट्दै गएको छ । सुरुमा एमालेसहित ६ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रचण्डले पुस २६ गते पहिलोपटक विश्वासको मत लिनुभएको थियो ।
त्यतिबेला विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो । बैठकमा कुल २७० सांसदले मतदान गरेका थिए । तर, अहिले चौथोपटक विश्वासको मत लिनै लाग्दा संसद्मा बहुमत सांसद जुटाउनै सकस पर्ने स्थिति छ । उसो त संसद्को मात्रै होइन उहाँ नेतृत्वको सरकारमाथि जनविश्वास पनि घट्दै गएको छ । समीकरण फेरेर सरकार टिकाउने र विश्वासको मत लिनेबाहेक प्रचण्ड सरकारले कुनै जनपक्षीय काम गर्न सकेको छैन । उहाँले सरकारको नेतृत्व गर्दा राम्रो काम गर्नबाहेक आफूसँग कुनै विकल्प नै नभएको बताउनुभएको थियो । तर, समय बित्दै जाँदा सरकार टिकाउनेबाहेक जनभरोसा जगाउने कुनै काम गर्न नसकेको टिप्पणी भइरहेको छ ।
सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि उहाँले सोमबार एउटै कार्यकालमा चौथोपटक विश्वासको मत लिँदै हुनुहुन्छ । संविधानको धारा १०० को उपधारा १ मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव पेस गर्नसक्ने व्यवस्था छ । यसैगरी उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव पेस गर्नसक्ने भनिएको छ ।
सरकार गठन भएको तीन महिना नपुग्दै सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले चैत ६ गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । त्यतिबेला प्रतिनिधि सभामा उपस्थित संख्या २६२ रहेकोमा विश्वासको मतको पक्षमा १७२, विपक्षमा ८९ मत परेको थियो । २०८० वैशाख २२ गते रास्वपा सरकारबाट बाहिरिएपछि भने उहाँले विश्वासको मत लिनुभएन । गत वर्षको फागुन तेस्रो साता नयाँ समीकरण बनेपछि फागुन ३० गते उहाँले तेस्रोपटक विश्वासको लिनुभएको थियो । त्यतिबेला प्रधानमन्त्री प्रचण्डको पक्षमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा नेपालका १५७ सांसदले पक्षमा मतदान गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डलाई माओवादी केन्द्रसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) लगायतले समर्थन गरेका छन् । सरकार कायम रहन कम्तीमा १३८ मत चाहिन्छ । एमालेसँग टोपबहादुर रायमाझी निलम्बित हुँदा ७८ सांसद छन् । माओवादीका ३२, रास्वपाका २१ र जसपाका सात गर्दा १३८ जनाको बहुमत पुग्छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि प्रचण्ड सरकारकै पक्षमा हुनुहुन्छ । नाउपाका चार सांसद छन् । तर, प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति (नाउपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी (लोसपा) लगायतका दलहरूलाई पनि समेट्ने प्रयास गरिरहनु भएको छ । तर, सरकारमै रहेको एकीकृत समाजवादी भने अन्योलमा छ । ३० दिनभित्र विश्वासको मत लिन सकिने व्यवस्था भए पनि प्रधानमन्त्रीले हतार गरेको कतिपयको टिप्पणी छ । समीकरणमा असन्तुष्ट माधव नेपाललाई तर्साउन र उपेन्द्र यादवको रिटमा अदालतको फैसलाअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेको कतिपयको टिप्पणी छ । उपेन्द्रको पार्टीको ८ गते फैसलाको लागि छलफल पेसी तोकिएको छ । अदालतले उपेन्द्रको पक्षमा आदेश दियो भने समीकरणमा संख्या पु¥याउन सकस पर्छ ।
कांग्रेस नेता कोइरालाको प्रश्न- कतिपटक विश्वासको मत लिनुहुन्छ ?
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री ‘प्रचण्ड’ले पटकपटक विश्वासको मत मात्रै लिइराखेको बताउनुभएको छ । प्रचण्डले चौथोपटक विश्वासको मत लिने तयारी गरिरहेका बेला नेता कोइरालाले काम के गरे ? भन्ने प्रश्नको उहाँसँगै जवाफ नभएको टिप्पणी गर्नुभयो । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्रीलाई कतिपटक विश्वासको मत लिने ? भन्दै प्रश्नसमेत गर्नुभयो । ‘मुलुकको राजनीतिक अवस्था अत्यन्त नाजुक छ । राजनीतिक दलहरू को प्रधानमन्त्री हुनेमा नै सीमित भइरहनु भएको छ । सबैको प्रधानमन्त्री हुने, कसरी जाने सोच बनाएर अगाडि बढिरहनु भएको छ । केको लागि प्रधानमन्त्री बन्ने ? प्रधानमन्त्री बनेर गर्ने के ? प्रचण्डजीलाई नै गएर सोध्नुभयो भने पनि उहाँले पनि भन्नसक्ने अवस्था छैन,’ कोइरालाले भन्नुभयो, ‘म यसो गर्छु, उसो गर्छु त भन्नुहुन्छ । तर, कतिचोटि विश्वासको मत लिनुहुन्छ ? सरकारमा प्रधानमन्त्री उहाँ नै हुनुहुन्छ । तीनचोटि त भइसक्यो । यही तरिकाले सरकार चल्ने हो भने अझ दुई/चारचोटि सरकार फेरिरहन्छ ।’ निर्वाचन प्रणालीका कारण मुलुकमा राजनीतिक अस्थिरता भएकाले त्यसलाई परिवर्तन गरेर अघि बढ्ने कुरामा ठूला दल कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने उहाँले दोहोर्याउनुभयो ।
घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ : प्रचण्ड
प्रधानमन्त्री प्रचण्डले चौथोपटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउनुभएको छ । शनिबार माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते आफूले चौथोपटक विश्वासको मत पाउने बताउनुभयो । अब जतिपटक लिनुपरे पनि विश्वासको मत लिन तयार नै हुनुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो । विश्वासको मत आउँछ कि आउँदैन भनेर चिन्ता नलिनसमेत उहाँले आग्रह गर्नुभयो । ‘७ गते फेरि एकपटक विश्वासको मत लिने भनेर संसद् सचिवालयमा विश्वासको मतको लागि पत्र पठाएको छु । ७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दै छु भनेर कांग्रेसको एकजना नेताले भन्नुभएको थियो, अहिले चौथोपटक लिनुपरेको हुनाले यो पाँचौँ, छैटौँपटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ,’ उहाँले भन्नुभयो, ‘तर जतिपटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन । कहिले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ ।’
प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ : योगेश
एमालेका सांसद योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने बताउनुभएको छ । काठमाडौंको बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद भट्टराईले सत्ता समीकरण सुविधाजनक बहुमतमा भएको बताउनुभयो । प्रधानमन्त्रीले सुविधाजनक बहुमतका साथ विश्वासको मत पाउने उहाँको भनाइ थियो । ‘७ गते विश्वासको मत लिने एजेण्डा छ । अहिलेको राजनीतिक समीकरण, सत्ता समीकरणसँग संसद्मा सुविधाजनक बहुमत छ । त्यो सुविधाजनक बहुमत ७ गते पनि प्रकट हुन्छ,’ उहाँले भन्नुभयो, ‘७ गते पुनः प्रधानमन्त्रीमाथि विश्वासको मत छ भन्ने कुरा संसद्ले जायर गर्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच