वडाबाट अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 4 mins

नवलपरासी । पश्चिम नवलपरासीमा पहिलो पटक स्थानिय तहका वडाहरुमार्फत अनलाईन प्रणाली बाट नागरिकता सिफारिस गर्ने व्यवस्था सुरु गरिएको छ । वडाका जनप्रतिनिधि र कर्मचारीलाई गृह मन्त्रालयको टोलीले तालिम दिएपछि केन्द्रिय नागरिकता सुचना ब्यवस्थापन प्रणाली (सिसिआईएमएस) मार्फत नागरिकता सिफारिस गर्ने व्यवस्था स्थानिय तहका केही वडाबाट सुरु गरिएको हो । जिल्लाको बर्दघाट र सुनवल नगरपालिकाका वडाहरुबाट अनलाइन प्रणाली बाट सिफारिस दिने काम सुरु भएको छ ।

फारम भर्दा निवेदकका आवश्यक कागजात स्क्यान गरि अनलाईमा प्रविष्ठ गरिनुका साथै सबै बिवरणहरु खुलाएर भरिन्छ । जनप्रतिनिधिले तोक आदेश गरेका फारम मात्रै जिल्ला प्रशासनम पठाईने हुँदा बिवरणमा कैफियत नहुने बताईएको छ । स्थानीय तहको वडा कार्यालयबाटै अनलाइन प्रणाली मार्फत नागरिकता सिफारिस गर्ने व्यवस्थाले सिफारिस प्रकृयामा झुठा र दोहोरो सिफारिस जस्ता गैरकानूनी कार्य नियन्त्रण हुने, प्रशासन कार्यालयहरू, स्थानीय तह र वडा कार्यालय तथा सेवाग्राहीको समयको बचत हुनुका साथै, केन्द्रिय अभिलेख ब्यवस्थापनमा पनि सहयोगी हुने जनाईएको छ ।

"वडामा एउटा फारम प्रविष्ट गर्न १५ देखि ३० मिनेट लाग्ने रहेछ तर यहाँ समय लागेपनी अनलाइन प्रणालीले प्रशासन कार्यालयमा चाहिँ चाडो काम बन्ने हुँदा सेवाग्राहीलाई दुबै ठाउँमा कुर्नु पर्दैन," बर्दघाट नगरपालिका वडा नम्बर १४ का वडा सचिव टंकनाथ भण्डारीले भन्नूभयो । कागजात नपुगे पनि सेवग्राहीले तत्काल जानकारी पाउनसमेत यो प्रणालीले सहज हुने भण्डारीको भनाइ छ ।

केहि वडाबाट सुरु भएको र तालिम पछि सबै वडामा ब्यवस्थापन मिलाईने बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले जानकारी दिनुभयो ।पुराना नागरिकता जारी भएका धेरै विवरण जिल्ला प्रशासन कार्यालयमा अहिले नभएको अवस्थामा यस्तो विद्युतिय व्यवस्थाले सबै प्रणालीलाई एकिकृत गर्न र दस्तावेज कायम गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले बताउनुभयो ।

यसअघि वडा बाट नागरिकताका लागी सिफारिस मात्रै हुने गरेकोमा अब केन्द्रिय नागरिकता सुचना व्यवस्थापन प्रणालीमै वडा बाटै सबै कागजात अनलाईनमा प्रविष्ट गरी त्यसको जनप्रतिनिधिले पुष्टि गरेको विवरण मात्रै प्रशासन कार्यालयमा पठाईने भएकाले प्रशासन कार्यालयले तत्कालै नागरिकता जारी गर्न सक्ने छ । यो व्यवस्थाले जनप्रतिनिधि र कर्मचारीलाई पनि सहज हुने भएकाले सबै वडाबाट केहि दिन भित्रै अनलाईन प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था लागु हुने सुनवल नगरपालिका प्रमुख बिमला अर्यालले बताउनुभयो ।

गृहमन्त्रालयको टोलीले जिल्लाका सातै स्थानिय तहमा यस सम्बन्धि अनुशिक्षण प्रदान गर्दैछ । जेठ भित्रै सबै पालिकाले अनलाईन प्रणाली मार्फत नागरिकता सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी पन्थीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?