
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपक्षी दलका सांसदहरूलाई वेलमा घेरेर संसद्बाट विश्वासको मत लिनुभएको छ । वेलसम्म पुगेका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरूलाई मर्यादापालकले चारैतिरबाट घेरेर राखेका थिए । विपक्षी दलहरूले वेल घेरेका कारण प्रधानमन्त्री प्रचण्ड भिड छिचोल्दै रोष्ट्रमसम्म पुग्नुभएको थियो । विपक्षी दलका सांसदहरूको नाराबाजी र वेल घेराउबीच प्रधानमन्त्री प्रचण्डले चौथोपटक विश्वासको मत पाउनुभएको हो । तेस्रो कार्यकालमै प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट चौथोपटक विश्वासको मत लिनुभएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले १५७ मत पाउनुभयो । त्यस्तै, प्रचण्डलाई मत दिन्नँ भन्नेमा १ मत परेको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी दिनुभएको थियो । सोमबारको बैठकमा १५८ सांसद उपस्थित रहेका थिए । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिनुभएको हो । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्दछ । जनता समाजवादी पार्टी (जसपा) नेपालले वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
यसअघि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिनुभएको थियो । तेस्रोपटक विश्वासको मत लिँदा प्रचण्डको पक्षमा १५७ सांसद थिए । २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि प्रचण्ड नेतृत्वमा २०७९ पुस १० मा सरकार गठन भएको थियो । एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरू संलग्न सरकारको नेतृत्व गर्दै प्रचण्डले पहिलोपटक प्रतिनिधि सभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिनुभएको थियो । त्यतिबेला प्रतिपक्षको बेञ्चमा बसेको कांग्रेस समेतले विश्वासको मत दिएको थियो । प्रचण्डले राखेको पहिलो विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ ले पक्षमा मत दिएका थिए । त्यतिबेला उहाँको विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले मात्रै मत राख्नुभएको थियो । राष्ट्रपति निर्वाचनसँगै प्रचण्डले २०७९ फागुन दोस्रो साता एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सत्तायात्रा सुरु गर्नुभयो ।
एमालेसँगको गठबन्धन तोडिएपछि प्रचण्डले दोस्रोपटक २०७९ चैत ६ मा प्रतिनिधि सभामा विश्वास पाऊँ भनेर प्रस्ताव पेस गर्नुभएको थियो । दोस्रोपटक विश्वासको मत लिँदा प्रचण्डको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायत उभिएका थिए । दोस्रोपटक विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डको पक्षमा सदनमा उपस्थित २६२ सांसदमध्ये १७२ सांसदले भोट हालेका थिए । प्रचण्डको विपक्षमा ८९ सांसदले मत राखे भने नेमकिपा ‘मत दिन्नँ’ भन्ने पक्षमा उभिएको थियो ।
सभामुखले पदीय गरिमाअनुसार भूमिका निर्वाह नगरेको कांग्रेसको निष्कर्ष
प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले पदीय गरिमाअनुसार भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । कांग्रेसको अवरोधबीच घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढाएपछि कांग्रेसले आपत्ति जनाएको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भन्नुभयो, ‘सभामुखको पदीय गरिमाअनुसार भूमिका भएन । सभामुख पदमा आसिन व्यक्तिले त्यो गरिमा राख्नुपर्छ । कुनै पार्टी विशेषको जस्तो रूपमा प्रस्तुत हुन हुँदैन । सभामुखलाई मर्यादित भूमिका कायम गर्न हामीले ध्यानाकर्षण गराएका छौँ । नेपालको संविधानअनुसार विश्वासको मत लिने ३० दिन छ । विपक्षी दलले संसदीय छानविन समिति माग गरिरहेको अवस्थामा समितिको कार्यादेश टुंगोमा पुर्याएर अन्य काम अघि बढाउनुपर्नेमा सरकारले बहुमतको दम्भमा बलमिच्याइँ गर्यो ।’
कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनी- ‘तपाईंहरूले गलत गर्नुभयो, यसको मूल्य चर्को पर्नेछ’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले संसद्मा देखाएको व्यवहार गलत भएको भन्दै यसको मूल्य चर्को पर्ने चेतावनी दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्तावको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा कांग्रेसलाई चेतावनी दिँदै भन्नुभयो, ‘तपाईंहरू (नेपाली कांग्रेस)ले आज बहुत गलत गर्नुभयो भन्ने मलाई लागेको छ । नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईंहरूलाई पटक-पटक साथ दियो, त्यसलाई संविधानअनुसार विश्वासको मत लिन नदिएर तपाईंहरूले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो म त्यसका निम्ति गहिरो दुःख व्यक्त गर्दछु । र, तपाईंहरू नेपाली कांग्रेसका लागि मूल्य धेरै चर्को पर्नेछ ।
आजको यो तपाईंहरूको गतिविधि नेपालको इतिहासमा राम्रैसँग कलंकको रूपमा स्थापित हुनेछ ।’ सोमबार विश्वासको मत पाएपछि संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेको प्रश्नको जवाफमा पनि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसले कस्तो मूल्य चुकाउनुपर्छ भन्ने कुरा आगामी चुनावमा देखिने चेतावनी दिनुभयो ।
सरकार फेर्ने कोसिस असफल भएपछिको असर सदनमा : पौडेल
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकार परिवर्तनको खेल असफल भएपछि त्यसको असर संसद्मा देखिएको टिप्पणी गर्नुभएको छ । सोमबार प्रधानमन्त्रीको विश्वासको मत माथिको छलफलका क्रममा पौडेलले भन्नुभयो, ‘सरकारलाई कमजोर पार्ने, पर्दा भित्रबाट सरकार बदल्ने खालका कोसिस माकुराको जालोजस्तो च्यातियो । त्यसका प्रतिक्रिया प्रतिनिधि सभामा देखिएका छन् । प्रमुख प्रतिपक्षबाट जे जस्ता गतिविधिहरू देखिएका छन्, त्यो खेल असफल भएपछिको हो । संविधानले निर्धारण गरेको कर्तव्यअन्तर्गत सम्मानीय प्रधानमन्त्रीज्यू विश्वासको मत लिन अग्रसर हुनुभएको छ । यो प्रक्रियालाई समेत अवरुद्ध गरेर कांग्रेसले कस्तो प्रकारको लोकतन्त्रको अभ्यास गरेको हो ?’
कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्यो : गृहमन्त्री लामिछाने
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसद्मा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको तर संसद्को विधिअनुसार विश्वासको मत लिँदासमेत कांग्रेसले अवरोध गरेको टिप्पणी गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘प्रधानमन्त्रीले विश्वासको मतका लागि सरकारमा भएको दलले विश्वासको मत छैन भनेपछि विश्वासको मत दिने संवैधानिक व्यवस्थालाई अवरुद्ध गर्नु लोकतन्त्रको भद्दा मजाक हो ।’ गृहमन्त्री लामिछानेले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारीका समस्या समाधान गर्नतिर लाग्ने बताउनुभयो । आइतबार आफूले संसद्मा बोल्दा प्रतिपक्षका नेताहरूलाई कुनै आरोप लगाउने र धम्क्याउने काम नगरेको उहाँको जिकिर छ ।
सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ : शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीले सभामुख देवराज घिमिरे सभामुखको रूपमा नभई पार्टीको कार्यकर्ताको रूपमा प्रस्तुत भएको टिप्पणी गर्नुभएको छ । सभामुख घिमिरेले सभामुखको रूपमा भूमिका निर्वाह नगरेको आरोप लगाउँदै शाहीले भन्नुभयो, ‘आज हामीले सभामुख देखेनौँ । कुर्सीमा बसेको मान्छे देख्यौँ । तर, कुन पार्टीको कार्यकर्ता देख्यौँ । एउटा पार्टीको कार्यकर्ता त्यहाँ बसेको देख्यौँ । सभामुखज्यूलाई भन्छु तपाईं सभामुख हो कि अमुक पार्टीको कार्यकर्ता हो ? यो प्रश्नचिन्ह खडा भएको छ ।’ प्रमुख प्रतिपक्ष दल लगायतका अन्य प्रतिपक्ष दलहरूले अवरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भूमिकाप्रति प्रश्न उठेको उहाँको भनाइ छ ।
सत्ता र शक्तिका लागि यिनीहरूले जे पनि गर्छन् : केसी
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता र शक्तिका लागि अहिलेका सत्तारूढ दलले जे पनि गर्नसक्ने बताउनुभएको छ । सत्ता र शक्तिको लागि सत्तारूढ दलले लोकतन्त्र र गणतन्त्र खतरामा पार्न पनि पछि नपर्ने टिप्पणी गर्दै अध्यक्ष केसीले भन्नुभयो, ‘सत्तामै बस्नको लागि यो हद सम्मको बेइमानी, बदमासी गर्न हुन्छ ? यिनीहरूले त सत्ता पाइन्छ भनेपछि लोकतन्त्र र गणतन्त्र मास्न पनि बेर लाउँदैनन् । त्यत्रो ठूलो संख्याको विपक्षीको आवाजलाई नसुनेर सभामुखले कसको लागि यो गरेको ? यस्तो भद्दा काम पनि गर्न हुन्छ ?’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच