![आजको शिक्षाले दिमागी काम घटाउँदै](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Ramesh-Prasad-Gautam-Hita-article.jpg)
✍️ सुदर्शन अधिकारी
शिक्षा समग्र विकासको आधार भएकाले यसको विकासका लागि हरेक देशले विशेष ध्यान दिने गर्छन् । कुनै पनि देशको विकासको मापनको मुख्य आधार शिक्षा नै हो । मानव विकास सूचकांक निकाल्दा प्रतिव्यक्ति आम्दानी, औसत आयु र साक्षरता दरसमेत समावेश गरी निकालिन्छ । तसर्थ शिक्षा हरेक सन्दर्भमा ज्यादै महत्वको रहन्छ । शिक्षा समयानुकूल, सीपमूलक र व्यावसायिक हुनुपर्छ भनेर धेरै चर्चा हुने गर्छ । शिक्षाले मानवलाई कुनै समस्याको सामना गर्नसक्ने बनाउँछ । व्यत्तिमा अन्तरनिहति प्रतिभा प्रष्फुटन, सीप विकास र क्षमता अभिवृद्धिमा समेत महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आज हाम्रो विद्यालयको शिक्षाको गुणस्तर खस्कँदै गयो भनेर व्यापक चर्चा र चिन्ता व्यक्त गर्ने गरिन्छ ।
शिक्षाको गुणस्तर के कारणले खस्कियो भनेर त्यसको मूलकारण भने खोजेको देखिँदैन । हाम्रो शिक्षा प्रणाली विसं २०२८ सालको सेरोफेरोमा घुमिरहेको छ । समयानुकूल, वैज्ञानिक र प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्नेमा कसैको दुई मत रहँदैन । शिक्षाको गुणस्तर विकासका सवालमा बहस भएको पनि लामो समय बितिसक्यो तर ठोस पहल गर्न भने सकिएको छैन । शिक्षाविद्हरूले राज्यले शिक्षाको विकासका लागि देशको कूल बजेटको बीस प्रतिशत रकमको विनियोजन हुनुपर्छ भन्दै आएका छन् । तर, राज्यले भने जम्मा एघार प्रतिशत मात्र बजेटको विनियोजन गरेको अवस्था छ । शिक्षामा देखिएको चरम निराशालाई चिर्न विभिन्न कार्य प्रभावकारी रूपमा सम्पादन गर्नुपर्ने खाँचो छ ।
शिक्षण सिकाइलाई प्रभावकारी र उपलब्धिमूलक बनाउन शिक्षकलाई उपयोगी र प्रभावकारी तालिमको व्यवस्था गर्नुपर्छ । पुरानै पाराको शिक्षण कार्यले अबका दिनमा कुनै काम दिँदैन । न त्यस्तो शिक्षणले नवीन सिकाइ हुन्छ न त ठोस उपलब्धि हासिल गर्न सकिन्छ ।
नेपालको सविधान २०७२ को धारा ३१ मा स्पष्ट उल्लेख गरिएको छ । शिक्षलाई मौलिक हकअन्र्तगत राखिएको छ । उक्त हक अनुसार प्रत्येक नागरिकलाई आधारभूत शिक्षाको पहुँच हुने आधारभूत तहको शिक्षा अनिवार्य, निःशुल्क तथा आर्थिक रूपले विपन्न र अपांगले उच्च शिक्षा निःशुल्क प्राप्त गर्ने विषय जोडदार रूपमा उल्लेख गरिएको छ । तर, व्यवहारमा सरकारी विद्यालयमा अहिले पनि विभिन्न शीर्षकमा शुल्क अशुल्ने गरिएको छ । यसतर्फ सरोकारवाला सबैको ध्यान जान जरुरी छ । राज्यले सरकारी विद्यालयमा अध्ययन गर्ने हरेक विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था गरेको छ ।
तालिमको प्रभावकारिता : शिक्षण सिकाइलाई प्रभावकारी, उपलब्धिमूलक बनाउनका लागि शिक्षकलाई उपयोगी र प्रभावकारी तालिमको व्यवस्था गर्नुपर्छ । पुरानै पाराको शिक्षण कार्यले अबका दिनमा कुनै काम दिँदैन । न त्यस्तो शिक्षणले नवीन सिकाइ हुन्छ न त ठोस उपलब्धि हासिल गर्न सकिन्छ । हाल कार्यरत शिक्षलले सेवाकालीन (टिपिडी) तालिम मात्र लिएका छन् । दश वर्षअगाडि जुन पुरानो र उपलब्धिविहीन बनेको देखिन्छ । तालिमको प्रतिबिम्बन कक्षामा हुन सकेमात्र त्यसको औचित्य रहन्छ । शिक्षकले तालिममा सिकेका तरिका, विधि र प्रभावकारिताले विद्यार्थीको सिकाइमा परिवर्तन ल्याउनुपर्छ तबमात्र तालिमको औचित्य पुष्टि हुन्छ । शिक्षाको गुणस्तर सुधारमा थप महत्व राख्ने खालको तालिमको आवश्यक्ता देखिन्छ ।
पूर्वाधारको विकास : देशका कतिपय सरकारी विद्यालयमा कक्षाकोठा, शौचालय र खानेपानीको सहजता छैन । कक्षाकोठाको मापदण्ड विद्यार्थीमैत्री छैन भने न शौचालयको व्यवस्था छ न त स्वच्छ खानेपानीको उपलब्धता छ । यस्ता समान्य पूर्वाधारको समेत अभावमा प्रभावकारी शिक्षण कार्य हुन सक्दैन । साथै विद्यार्थीलाई अत्यावश्यक पर्ने खेल मैदानको समेत खास गरी शहरी क्षेत्रका विद्यालयमा अभाव छ जसले पठनपाठनमा प्रत्यक्ष रूपमा प्रभाव पारेको हुन्छ । विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा खेलकुदको महत्व ज्यादा रहन्छ । त्यसैले यस्ता पूर्वाधारको विकासमा जोड दिनुपर्छ जसले शिक्षाको गुणस्तरमा टेवा दिन्छ ।
प्रविधिको विकास : आजको समय भनेको प्रविधिको भएकाले शिक्षामा प्रविधि अत्यन्तै आवश्यक हुन्छ तसर्थ स्मार्ट बोर्ड, कम्प्युटर, ल्यापटप, स्लाइड जस्ता ज्यादै उपयोगी क्षैशिक सामग्रीहरूको व्यवस्था हरेक विद्यालयमा हुनुपर्छ । कतिपय शिक्षण कार्यमा माथि उल्लेख गरिएका प्रविधि अनिवार्य हुन्छन् । विभिन्न सूचना तथा अन्य सामग्रीहरूको प्रयोग तिनै प्रविधिको प्रयोगबाट गरिन्छन् । प्रविधिको प्रयोगबाट शिक्षण गर्दा विद्यार्थीमा सिकाइ पनि प्रभावकारी र चिरस्थायी हुने भएकाले विद्यालयमा प्रविधिको उपयोग अत्यन्तै जरुरी हुन्छ । सुनेको भन्दा देखेको विषय लामो समयसम्म स्मरणमा रहन्छ । साथै प्रविधिको माध्यमबाट कक्षा ज्यादै रोचक बन्ने भएकाले प्रविधिको महत्व धेरै छ । विद्यालयमा श्रव्य तथा दृश्य सामग्रीको उपयोग कम भएकाले सिकाइमा प्रभावकारिता कम भएको गुनासा पनि बेलाबेलामा आउने गरेका छन् ।
शिक्षण पेशालाई मर्यादित र आकर्षणको क्षेत्र कसरी बनाउने भन्ने विषयमा बहसको खाँचो रहेको छ । हाल रहेको कहीँ जागिर नपाएपछि शिक्षक बन्ने हो भन्ने सोचको अन्त्य गरी प्रभावकारी नीतिनिर्माण गरी त्यसको प्रभावकारी रूपले कार्यान्वयन गर्नुपर्छ ।
विभिन्न कारणले अहिले ती सामग्रीको व्यवस्था सरकारी विद्यालयमा गर्न सकिएको अवस्था छैन । मूल्यांकनको व्यवस्था आज पनि सरकारी विद्यालयका हजारौं शिक्षक कार्य गरेको बीस वर्षसम्म बढुवा हुन सकेका छैनन् । कम्तीमा योग्यता पुगेका शिक्षक जसले लामो समय शिक्षण कार्यमा बिताइसकेका छन् तिनलाई दश वर्षमा एक तह बढुवा गर्नु जरुरी रहेको देखिन्छ । तबमात्र तिनलाई शिक्षणप्रति थप रुचि, हौसला बढ्छ । आफ्नो काममा इमानदारी र मिहिनेतका साथ काम गर्ने हरेक शिक्षकलाई समय पुगेपछि बढुवा गर्ने व्यवस्था राज्यले गर्न सके शिक्षाको गुणस्तर सुधारमा थप सहयोग पुग्ने देखिन्छ । आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्ने पेशाप्रति इमानदार शिक्षकहरूलाई राज्यले विभिन्न अवसर पारेर पुरस्कृतसमेत गर्नुपर्छ तर त्यो हुनसकेको छैन ।
अझ कति शिक्षकहरू त बीस वर्षसम्म अस्थायी नै रहेर पेशाबाट बाहिरिन बाध्य भएको अवस्था छँदैछ । यस्तो अवस्थाको अन्त्य गरी शिक्षामा सक्षम जनशक्तिको आकर्षण वृद्धि गर्न ध्यान दिनुपर्छ । राजनीतिक हस्तक्षेपबाट मुक्त विद्यालय सरस्वतीको पवित्र मन्दिर हो त्यहाँ पठनपाठनमात्र हुनुपर्छ भन्ने गरिन्छ तर व्यवहारमा भने त्यस्तो देखिँदैन । कतिपय विद्यालयमा आज पनि विद्यालय व्यवस्थापन समितिको गठन गर्दा चरम राजनीतिक हस्तक्षेप भएको देखिन्छ जसले शैक्षिक वातावरणमा प्रतिकूलता सिर्जना हुने गरेका अनेकौं दृष्टान्त छन् । संसद्को निर्वाचनझैँ ताझामका साथ व्यवस्थापन समितिको गठन गरिन्छ ।
कहिले त विद्यालयमा प्रधानाध्यापकको छनोटमा उच्च राजनीतिक हस्तक्षेप हुने गरेका छन् । यस्ता क्रियाकलापले विद्यालयको वातावरण थप बिग्रन जान्छ । व्यक्ति जो रहे पनि र जुन विचारधाराको भए पनि विद्यालयको शिक्षाको गुणस्तरमा व्यापक मात्रामा सुधार आउनुपर्छ । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न राज्यले अनेक प्रयास भने गर्दै आएको छ । विगत तीन वर्षदेखि देशभरका सामुदायिक विद्यालयमा दिवाखाजा कार्यक्रमको थालनी गरिएको छ । जसले सकारात्मक नतिजा देखाएको छ । प्रतिविद्यार्थी १५ रुपैयाँका दरले खाजाखर्च राज्यले उपलब्ध गराउँदै आएको छ । त्यसमा नगरपालिका तथा गाउँपालिकाले केही रकम थप गरी विद्यार्थालाई खाजा खुवाउँदै आएको छ ।
विद्यार्थीको अनुपस्थित संख्या कम भएको छ । उनीहरूको स्वास्थ्यमा समेत सुधार आएको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिका विपन्न वर्गका हुने भएकाले यस कार्यक्रमले ज्यादै सकारात्मक परिणाम दिलाएको छ । कतिपय परिवारका गरिबीका कारण भाइबहिनीको रेखदेख गर्न विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय जान सक्दैनन् । आमाबाबु कामका लागि जान्छन् भने ससाना बच्चाहरूको स्याहार सुसार गर्न पनि उनीहरूका दिदीदाजु विद्यालय नगई बस्नुपर्ने अवस्था छ ।
शिक्षाको गुणस्तरमा कमी आउनु भनेको अधिकांश अभिभावक अशिक्षित र अञ्जान हुनु हो । उनीहरूले आफ्ना बालबालिकाहरूलाई गृहकार्यमा सहयोग गर्न सक्दैनन् । घरमा पठनपाठनका सवालमा केही पनि गर्न नसक्दा उनीहरूको अध्ययन अध्यापनमा थप समस्या आएको देखिन्छ । राज्यले भने गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्ने गरेको छ । साथै दलित, अल्पसख्यक, अपांग, आदिवासी, जनजातिलगायत विद्यार्थीलाई पनि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । अनेकौं प्रयासका बाबजुत किन गुणस्तर भने कम भएर गएको छ ? भन्ने विषय गम्भीर रूपमा उठ्ने गरेको छ ।
शिक्षक बन्न शिक्षक सेवा आयोगबाट परीक्षा उत्तीर्ण गरेरमात्र आउने परिपाटी छ । त्यसका लागि निश्चित मापदण्ड पूरा गरेरमात्र शिक्षण पेशामा आबद्ध हुने अवसर प्राप्त हुन्छ । अब प्रश्न आउँछ कि उच्च अंक ल्याएका सक्षम, दक्ष व्यक्तिमात्र शिक्षण कार्यमा आउने व्यवस्था भएर वातावरण भने किन सिर्जना हुन सकेन ? यस्तो व्यवस्था गर्नुपर्छ । यसका लागि शिक्षण पेशालाई मर्यादित र आकर्षणको क्षेत्र कसरी बनाउने भन्ने विषयमा बहसको खाँचो छ । हाल रहेको कहीँ जागिर नपाएपछि शिक्षक बन्ने हो भन्ने सोचको अन्त्य गरी प्रभावकारी नीतिनिर्माण गरी त्यसको प्रभावकारी रूपले कार्यान्वयन गर्नुपर्छ ।
समाजमा शिक्षकलाई हेर्ने दृष्टिकोणसमेत सकारात्मक छैन । विकसित देशमा शिक्षकप्रतिको दृष्टिकोण ज्यादै सकारात्मक र उच्च सम्मानको रहन्छ । हाम्रोमा त्यसो हुन सकेको छैन । सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि सरोकारवाला सबैको गम्भीर ध्यान जानु आवश्यक छ । राज्यले शिक्षामा गरेको लगानी बालुवामा पानी सरह भएको अवस्थालाई चिर्दे हरतरहले सुधारका खातिर एकजुट बन्नुको विकल्प देखिँदैन । शिक्षाको महिमा बुझेर समयानुकूल शिक्षालाई परिमार्जन गर्न हातेमालो गर्नु जरुरी छ, अब हामीले त्यसै गर्ने गरौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच