म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलु खेती, एक करोड बढीको बीउ विक्री

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 5 mins

म्याग्दी । म्याग्दीमा यस वर्ष करिव नौ सय रोपनी जग्गामा व्यवसायिक रुपमा खायन जातको बर्खे आलु खेती गरिएको छ ।

जिल्लाका विभिन्न १३ ओटा कृषक समूहका दुई सय कृषकले कृषि ज्ञान केन्द्र म्याग्दीबाट रु एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ मूल्यको आलुको बीउ खरिद गरेर व्यवसायिक रुपमा आलु खेती गरेकाे कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्राविधिक सहायक नवराज भुषालका अनुसार समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजना अन्तर्गत खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम मार्फत म्याग्दी जिल्ला भित्रका १३ वटा कृषक समूहले एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ रुपैयाँ मुल्यको आलुको बीउ खरिद गरेर लगाएका हुन् ।

१३ वटा कृषक समूहका करिब दुई सय परिवारले म्याग्दीको रघुगंगा गाउँपालिका, धवलागिरी गाउँपालिका, मंगला गाउँपालिका, धवलागिरी गाउँपालिका र बेनी नगरपालिकाको ८ सय ९८ रोपनी क्षेत्रफलमा उक्त मूल्य बराबरको आलु लगाइएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष वर्षे आलुका लागि विभिन्न १५ वटा कृषक समूह छनौट भएको भए पनि कार्यक्रमका लागि सम्झौता गर्न १३ वटा समूह मात्रै आएका थिए ।

ज्ञान केन्द्रले आलु प्रवर्द्धन कार्यक्रम अन्तर्गतको खायन आलु उत्पादन प्रवर्द्धन अन्तर्गत आलु लगाइएको क्षेत्रको अनुगमन गर्दा उत्पादकत्व राम्रो हुने देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बाँस्तोलाले बताउनुभयो ।

“जिल्लाको आलुको उत्पादकत्वको हिसाबले हेर्दा यस वर्ष सात सय ६५ मेट्रिकटन आलु उत्पादन हुने देखिन्छ” केन्द्र प्रमुख वास्तोलाले भन्नुभयो “आठ सय ९८ रोपनी भनेको ४५ हेक्टर क्षेत्र फल हो र प्रति हेक्टर म्याग्दीमा १७ मेट्रिकटन उत्पादन हुने देखिन्छ । आलुको बोटको हाल सम्मको गुणस्तर हेर्दा अन्य कुनै रोग किराको समस्या भएन भने यस वर्ष करिब आठ सय मेट्रिकटन सम्म आलु उत्पादन हुने हामीले अनुमान गरेका छौ ।”

यस वर्ष पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकम, धवलागिरी गाउँपालिका-४ मुदीको बगर, उत्तरी म्याग्दीको अन्नपुर्ण गाउँपालिका-६ को खिबाङ, रघुगंगा गाउँपालिका-६ ठाडाखानीलगायतको क्षेत्रमा बर्खे आलु लगाइएको छ । त्यस्तै बेनी नगरपालिका-३ को भुकभुके, मंगला गाउँपालिका-२ हिदी गायतको क्षेत्रमा पनि आलु उत्पादन राम्रो हुने भएकाले त्यस क्षेत्रमा आलु उत्पादनका लागि अनुदान वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

यस पटक २५ प्रतिशत कृषकको र ७५ प्रतिशत अनुदान गरी प्रति रोपनी ११ हजार पाँच सय ५३ रुपैयाँ बराबरको बीउ खरिद गरेर आलु खेती गरिएको हो । कृषि ज्ञान केन्द्रको ७५ प्रतिशतमा कृषकले आफ्नो २५ प्रतिशत थप गरेर कुल एक करोड ३ लाख ७४ हजार पाँच सय ९४ रुपैयाँ मूल्य बराबरको आलुको बीउ खरिद गरेर खेती गरिएको ज्ञान केन्द्रको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?