काठमाडौं । नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस संक्रमित ४२ जना जिन सिक्वेन्सिङ गर्दा ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी ४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार गत अप्रिल र मे महिनामा सातवटै प्रदेशबाट नमुना संकलन गरी जिन सिक्वेन्सिङ गरिएको थियो । तीमध्ये १२ जनामा ‘केपी १’, १७ जनामा ‘केपी २’, एक जनामा ‘केपी ३’ र एक जनामा ‘केपी ४’ देखिएको उनले जानकारी दिनुभयो । ‘यो नयाँ भेरियन्ट होइन । ओमिक्रोन भेरियन्टकै सव भेरियन्ट हो । यसलाई नयाँ नाम मात्र दिइएको हो’, उहाँले भन्नुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ‘केपी’ प्रजातिको भेरियन्ट संक्रामक नभएको बताउनुभयो । ‘केपी प्रजातिको भेरियन्ट त्यति संक्रामक छैन । यसको प्रभाव खासै छैन’, उहाँले भन्नुभयो । ४२ वटा परीक्षणमा प्रयोगशालाका ओमिक्रोन (जेएन १) सात जनामा ओमिक्रोन (बिए २), दुई जनामा देखिएको छ ।
विज्ञहरूले दीर्घरोगी र वृद्धावृद्धलाई विशेष सावधानी अपनाउन सुझाव दिएका छन् । संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले दीर्घरोगी र वृद्धवृद्धालाई विशेष सावधानी अपनाउन सुझाव दिनुभएको हो । ‘कडा छैन भनेर हेलचेक्र्याइँ गर्न भएन,’ उहाँले भन्नुभयो, ‘दीर्घरोगी र वृद्धवृद्धालाई विशेष सावधानी अपनाउनुपर्छ, जसका लागि परिवारको जो सदस्य भिडमा जानु हुन्छ, उहाँले कोरोनाको स्वास्थ्य मापदण्ड अपनाउनुपर्छ ।’
डा. पुनका अनुसार ‘केपी-१’ र ‘केपी-२’ ले बाहिरी मुलुकमा खासै असर गरेको देखिँदैन । ‘गत सातादेखि हेर्दै छु, सिंगापुर र चाइनामा व्यापक फैलिएको थियो,’ उहाँले भन्नुभयो, ‘कडा देखिएको छैन, तर संक्रामक छ । वृद्धवृद्धा र दीर्घरोगीलाई जोखिम हुनसक्छ, उहाँहरूले यसलाई विशेष ध्यान दिनुपर्छ ।’ डा. पुनका अनुसार भाइरसका सब भेरियन्टहरू विभिन्न हुन्छन् ।
५७ जिल्लामा फैलियो डेंगु
मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेंगु रोगको संक्रमण पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ५७ जिल्लामा ९०४ जनामा यसको संक्रमणमा देखिएको छ । पानी पर्न थालेपछि मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेंगुको जोखिम बढेको उहाँले बताउनुभयो । ‘पानी पर्न थालेपछि डेंगु रोगको संक्रमण पनि बढ्छ’, उहाँले भन्नुभयो, ‘त्यसैले संक्रमणको रोकथाम र नियन्त्रण गर्न पानी जम्न नदिने र लामखुट्टे मार्न अभियान सञ्चालन गर्नुपर्दछ ।’
गत वर्ष ७७ जिल्लामा ५१ हजार १४३ जनामा डेंगु रोगको संक्रमण देखिएको थियो । डेंगु हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् । लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच