९० प्रतिशत स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक, कांग्रेसले जित्यो ३०० पालिका

नारायण भण्डारी
Read Time = 9 mins

शनिबारदेखि जारी मतगणनामा ६७१ पालिकाहरूको नतिजा आइसकेको छ । शुक्रबार राति ११ बजेसम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसले ३०० स्थानमा विजयी भएको छ भने २४ पालिकामा अग्रता लिइरहेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले १८५ पालिकाको प्रमुख हात पारेको छ भने जारी मतगणनामा १७ स्थानमा अग्रता लिइरहेको छ । उता माओवादी केन्द्र ११५ स्थानमा विजयी र आठ स्थानमा अग्रता कायम गर्दै तेस्रो स्थान ओगट्न सफल छ ।

मतगणनाको परिणाम सार्वजनिक हुने क्रममा चार उपमहानगरपालिकाको नतिजा पनि आइसकेको छ । जसमा जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रले जित हात पारेको छ भने दाङको घोराही र बाराको कलैया उपमहानगरमा एमाले विजयी भएको छ । नेपाली कांग्रेसले पनि नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा जित हासिल गरेको छ । तर, देशका ६ वटा महानगरपालिकामा र सात उपमहानगरपालिकामा भने मतगणना जारी नै छ । कतिपय उपमहानगरपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरपालिका अहिलेसम्म ५० प्रतिशत समेत मतगणना भएको छैन । बिहीबार राति यो समाचार तयार पार्ने बेलासम्म काठमाडौंमा ८० हजारको हाराहारीमा मत गणना भइसकेको छ ।

महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ( बालेन) अग्रस्थानमा हुनुहुन्छ । अग्रस्थान मात्र होइन उहाँको मतान्तर झन् झन् फराकिलो हुँदै गएको छ । बालेनले ३० हजार ८५८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितले १६ हजार ३३७ मत ल्याउनुभएको छ । त्यस्तै नेपाली (कांग्रेस) की उम्मेदवार सृजना सिंहले १५ हजार ९६० मत पाउनुभएको छ ।

त्यस्तै सबैभन्दा चर्चाको रूपमा हेरिएको भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल अगाडि हुनुहुन्छ । दाहालले २४ हजार १०७ मत ल्याउनुभएको छ । एमालेका उम्मेदवार विजय सुवेदीले २० हजार३५० मत ल्याउनुभएको छ । कांग्रेसबाट बागी उठ्नुभएका जगन्नाथ पौडेलले आठ हजार ७१५ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । यता उपत्यकाभित्रको अर्को महानगर ललितपुरमा कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन अघि हुनुहुन्छ । महर्जनले सुरुवातदेखि नै आफूलाई अग्रता दिलाउँदै आउनुभएको छ । उहाँको प्रारम्भिक मत परिणाम हेर्दा पुनः ललितपुरको महानगर प्रमुखमा दोहोरिने निश्चितजस्तै देखिन्छ । चिरीबाबुले २२ हजार ८२० मत पाउँदा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १३ हजार १२४ मत पाउनुभएको छ ।

त्यस्तै पोखरा महानगरमा गठबन्धनका उम्मेदवार धनराज आचार्य अगाडि देखिनुभएको छ । उहाँले २९ हजार ८०७ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले २६ हजार ३७५ मत ल्याउनुभएको छ । विराटनगर महानगरमा कांग्रेसका नागेश कोइराला अग्रस्थानमा हुनुहुन्छ । कोइरालाले पछिल्लो मत परिणाम अनुसार २७ हजार २६४ मत ल्याउनुभएको छ । एमालेका सागरकुमार थापाले २०हजार ७९ मत ल्याउनुभएको छ । वीरगंज महानगरपालिकामा गठबन्धनका उम्मेदवार अगाडि रहनुभएको छ । जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले २४ हजार ३९६ मत ल्याएर अगाडि हुनुहुन्छ । एमालेका विजयकुमार सरावगीले १२ हजार ४८९ मत पाउनुभएको छ ।

इटहरी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार हेम कर्ण पौडेल २५,८१६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । पौडेललाई पछ्याइरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का यामकुमार चुंगवाङ सुब्बाले २१,८११ मत ल्याउनुभएको छ । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रका हर्कराज राई अघि हुनुहुन्छ । उहाँले १२,८०५ मतसहित अग्रता लिइरहनुभएको छ । उहाँलाई नेपाली कांग्रेस उम्मेदवार किशोर राई १२,२०५ मतका साथ पछ्याइरहनुभएको छ । यस्तै एमालेकी मञ्जु भण्डारी ९,११८ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी ७,७०८ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । सुडीलाई पछ्याइरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शिवशंकर साहले ५,२८० मत प्राप्त गर्नुभएको छ ।

बाराको कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका विनोदप्रसाद साह २४,१३९ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजेश राय यादवल१८,५४० मत प्राप्त गर्नुभयो ।

जितपुर सिमरा उपमहानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) उम्मेदवार राजन पौडेल निर्वाचित हुनुभएको छ । उहाँले १८,७४३ मतका साथ विजय प्राप्त गर्नुभयो । पौडेलका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सरस्वतीदेवी चौधरीले १७,७७९ मतमा रोकिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेपाल कम्युनिष्ट पार्टीकी (एकीकृत समाजवादी) उम्मेदवार मीनाकुमारी लामाले २१,८०२ मतका साथ अग्रता लिइरहनुभएको छ भने दोस्रोमा(एमाले)का अनन्तप्रसाद पौडेलले १९,७०१ मत ल्याउनुभएको छ ।

बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस उम्मेदवार खेलराज पाण्डेय २३,४३३ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । पाण्डेयलाई पछ्याइरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बाबुराम भट्टराईले १७,०१९ मत ल्याउनुभएको छ ।

दाङको घोराही उपमहानगरपालिकाको मेयरमा एमालेका नरुलाला चौधरी विजयी हुनुभएको छ । चौधरीले ३१,७२८ ल्याएर नेकपा माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेललाई पराजित गर्नुभयो ।

दाङकै अर्को उपमहानगरपालिका तुलसीपुरमा एमालेका टिकाराम खड्काले झिनो मतको अग्रता लिइरहनुभएको छ । खड्काले ८,७७२ मत ल्याउँदा कांग्रेसका गेहेन्द्र गिरीले ८,७१५ मतसहित पछ्याइरहनुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट २३,४६० मतका साथ निर्वाचित हुनुभएको छ । उहाँलाई पछ्याइरहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पशुपति दयाल मिश्राले ११,६७५ मतमा रोकिनुभयो । उता, धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल २०,००६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । हमाललाई पछ्याइरहनुभएका नेपाली कांग्रेसका नृपबहादुर वडले ९,९२९ मत ल्याउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?