काठमाडौंं । नेपाली उद्योगी व्यापारीले मूल्यवृद्धिलाई नै आफ्नो व्यवसाय प्रवद्र्धनको मुख्य अस्त्रका रूपमा लिने प्रवृत्ति बढ्दै गएको छ । उत्पादन लागत घटाएर प्रतिस्पर्धी मूल्यमा उपभोक्तालाई आफ्ना वस्तु तथा सेवाप्रति आकर्षित गर्नुपर्नेमा उनीहरू उपभोक्तालाई महँगोमा उत्पादन खरिद गर्न बाध्य पार्ने र बढी मूल्यका कारण उपभोक्ताले वस्तु उपभोग गर्न छाडेमा आफ्नो व्यवसाय टिकाउन सरकारसँग विभिन्न सहुलियत र अनुदान माग गर्ने उनीहरूको प्रवृत्ति देखिन्छ । डेरी उद्योगमा देखिएको यस्तो समस्या अब कुखुराको मासु र अण्डामा समेत फैलिएको छ । पछिल्लो समय उत्पादकहरूले एकलौटी मूल्य निर्धारण गर्न सुरु गरेपछि उपभोक्ता अण्डाको मूल्यमा ठगिन पुगेका छन् । नयाँ वर्ष २०८१ को सुरुवातसँगै नेपाली बजारमा अण्डाको मूल्यमा तीनपटकसम्म बढेपछि उपभोक्ता मर्कामा परेका हुन् । देशभर अण्डाको एउटै मूल्य लागू गर्न चितवनलाई आधार मानिँदै आएको छ ।
नयाँ वर्ष २०८१ को सुरुवातसँगै अण्डाको उत्पादक संघले अण्डाको भाउ तीनपटकसम्म बढाएपछि उपभोक्ता मर्कामा परेका हुन् ।
नयाँ वर्ष सुरु भएपछि नेपाल लेयर्स कुखुरापालक संघले पहिलोपटक वैशाख १९ गते अण्डाको मूल्य निर्धारण गरेको थियो । जसअनुसार मध्गम अण्डा प्रतिक्रेट तीन सय ३० रुपैयाँ थियो भने ठूलो अण्डा प्रतिक्रेट तीन सय ७५ र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट तीन सय ९५ रुपैयाँ थियो । त्यसअघि संघले मध्यम अण्डा प्रतिक्रेट तीन सय ७५, ठूलो अण्डा प्रतिक्रेट तीन सय ९० र सबैभन्दा ठूलो अण्डाको समर्थन बिक्री मूल्य प्रतिक्रेट चार सय पाँच रुपैयाँ थियो । संघले वैशाख २४ गतेदेखि लागू हुनेगरी फेरि मूल्य बढायो । नयाँ मूल्यअनुसार मध्यम आकारको अण्डा प्रतिक्रेट तीन सय ५०, ठूलो अण्डा प्रतिक्रेट तीन सय ९५ र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट चार सय १० रुपैयाँ रहेको थियो । त्यसपछि पनि संघले गत जेठ ५ गतेदेखि लागू हुने गरी मूल्य बढाएर मध्यम अण्डा प्रतिक्रेट चार सय ५०, ठूलो अण्डा प्रतिक्रेट चार सय ६५ र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट चार सय ८० रुपैयाँ पु¥याएको छ ।
पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याका कारणले अण्डाको मूल्य बढेको व्यवसायीको दाबी छ । सरकारको नीति तथा कार्यक्रमले व्यवसायीको हकमा विभिन्न कार्यक्रम ल्याए पनि कार्यान्वयनमा नआउँदा विभिन्न व्यवसाय पलायन हुनुपर्ने अवस्था रहेको र किसानले लागत मूल्य पाउन नसकेको उनीहरू बताउँछन् ।
पछिल्लो समय नेपालमा लगभग ७० देखि ८० प्रतिशत अण्डाको उत्पादन घटेको नेपाल कुखुरा व्यवसायी मञ्चको दाबी छ । मञ्चका अनुसार विगतमा ५० लाख अण्डा उत्पादन गरे पनि पछिल्लो समय २५ देखि २६ लाख मात्र उत्पादन भएको छ । अण्डा उत्पादनका लागि गरिने लगानीको ७५ प्रतिशत हिस्सा दानामा खर्च हुने र दाना मूल्य बढ्दै गएका कारण समस्या पर्दै गएको छ । तर, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन पछिल्लो समय व्यवसाय क्षेत्रमा अराजकता देखिँदै आएकाले व्यवसायीले आफूखुसी जथाभावी मूल्य निर्धारण गर्दै आएको बताउनुहुन्छ । डेढ महिना अवधिमा अण्डाको मूल्य तीनपटकसम्म बढाउनु उचित नरहेको भन्दै सरकारले नियमन गर्नुपर्ने उहाँको भनाइ छ । संघमा आबद्ध व्यवसायी मिलेर अण्डाको मूल्य तोकिनु अवैध र कार्टेलिङ भए पनि सरकारी निकाय रमिते बन्दै आएको महर्जनले गुनासो गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच