पोखरा । प्रथम राष्ट्रपति डा. रामवरण यादवले कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियाको गिरफ्तारी संविधान र विधिको शासनविपरीत भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ कास्कीको १७औँ साधारणसभा तथा १२औँ अधिवेशन शनिबार उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले यस्तो जिकिर गर्नुभएको हो । ‘कान्तिपुर मिडिया हाउसका मान्छेलाई सरकारले जुन प्रकारले समातेको छ, त्यो विधिको शासनअनुसार छैन’, उहाँले भन्नुभयो, ‘त्यसलाई चिठीपत्र काटेर, भूल भएछ भनेर सिडिओ अफिसले एक पत्र काटिदिन्थ्यो । यति गते हाजिर हुनुस् भन्थ्यो । त्यो दिन सच्याइदिन्थ्यो ।’
आफू पनि जनकपुरकै बासिन्दा भएकाले सिरोहिया परिवारलाई नजिकबाट चिनेको उहाँको भनाइ थियो । डा. यादवले भन्नुभयो, ‘उस (कैलाश)को दाजु गोपाल सिरोहिया मसँग पढ्थ्यो । बीचको एउटा गोविन्द सिरोहिया र त्यसपछि कैलाश सिरोहिया । उनीहरू जेनुन सय वर्ष पहिले आएको यहीँका नागरिक हुन् ।’
पञ्चायतको बेला अरू मारवाडीले रातारात नागरिकता बनाए पनि सिरोहियाको पिताले पछि मात्रै नागरिकता पाएको डा. यादवले सुनाउनुभयो । ‘मैले राजनीति जनकपुरबाट सुरु गरेको । त्यो मान्छे पनि जनकपुरबाट । त्यस (कैलाश)को पिताजी घासीराम मारवाडी सज्जन मान्छे थियो । अरू मारवाडीको रातारात नागरिकता भयो । उसले नागरिकता पाएन’, उहाँले भन्नुभयो, ‘हेमराज ज्ञवाली नाम सुन्नुभएको होला, कान्तिपुरमा सुरु गरेर, नागरिक (पत्रिका)को विनोदका बुवा । पञ्चायतको बेलामा ऊ सिडिओ भएर गएको थियो । पछि हेमराजले नागरिकता दिनुभयो ।’
मिडियाको विकास भए पनि देशको राष्ट्रिय चरित्र नफेरिएको भन्दै उहाँले दुःखेसो पोख्नुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हरिहर विरहीले कैलाश सिरोहियाको गिरफ्तारी प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको बताउनुभयो । उहाँले कानुनविपरीत सरकारले गरेको धरपकडले सर्वसाधारणमा भय सिर्जना गरेको जिकिर गनुभयो । पत्रकार महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रमेश विष्टले कान्तिपुरले शृखंलाबद्ध रूपमा सहकारी ठगीको घटना उजागर गर्नेगरी रिपोर्टिङ गरेकै कारण गृहमन्त्रीले प्रतिशोध साँधेको धारणा राख्नुभयो ।
सिरोहिया अस्पताल भर्ना
चार दिनदेखि धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनुभएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना हुनुभएको छ । नागरिकता प्रकरणमा गत मंगलबार साँझ काठमाडौंस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरी धनुषा (जनकपुर) पु¥याइनुभएका सिरोहिया स्वास्थ्यमा समस्या आएपछि शुक्रबार राति अस्पताल भर्ना हुनुभएको हो । उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुःखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उहाँलाई थप उपचारका लागि काव्या अस्पतालमा भर्ना गरिएको छ ।
अनुसन्धान नसकिएको भन्दै थप म्याद मागेपछि प्रहरीले शुक्रबार जिल्ला अदालतबाट थप तीन दिन सिरोहियालाई हिरासतमा राख्न अनुमति पाएको छ । शुक्रबार अदालत पेस गरिनुअघि सरकारी वकिलको कार्यालयमा सिरोहियासँग तीन घण्टा लामो बयान लिइएको थियो । पहिलोपटक बुधबार पनि अदालतले सिरोहियाविरुद्ध तीन दिन नै म्याद थपेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच