![लेभरकुसन जर्मन कप च्याम्पियन](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/levercusan.jpg)
नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को उपाधि कोलकाता नाइट राइडर्सले जितेको छ । फाइनलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाताले तेस्रोपटक उपाधि जितेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । कोलकातालाई तेस्रो उपाधि जित्न १० वर्ष लाग्यो ।
११४ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाताले १०.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । मिचेल स्टार्क खेलको प्लेयर अफ द म्याच घोषित हुनुभयो । टस जितेर पहिले ब्याटिङ गर्ने हैदराबादको निर्णय गलत साबित भयो । प्रतियोगिताभर ठूलो स्कोर बनाएको हैदराबाद फाइनल इतिहासमा सबैभन्दा कम स्कोरमा सीमित भयो । कोलकाताको जितमा वेंकटेश ऐर २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५२ रनमा नट आउट रहनुभयो । रहमान उल्लाह गुरबाज ३२ बलमा ५ चौका र २ छक्कासहित ३९, सुनिल नारायण र श्रेय ऐरले ६/६ रन बनाउनुभयो । हैदराबादका शहबाज अहमद र प्याट कमिन्सले एक/एक विकेट लिनुभयो ।
कोलकाता नाइट राइडर्सको जितमा गौतम गम्भीरको महत्वपूर्ण भूमिका छ । धेरै वर्षसम्म कोलकाताका कप्तान रहनुभएका गम्भीर यस सिजन मेन्टरका रूपमा देखा पर्नुभएको थियो । सन् २०१२ र २०१४ मा शाहरूख खानको टोली गौतम गम्भीरको कप्तानीमा च्याम्पियन बनेको थियो ।
विगत दुई वर्षजस्तै यस वर्ष पनि आइपिएल विजेता टोलीलाई २० करोड रुपैयाँ दिइएको छ । कोलकातालाई ग्लिमिङ ट्रफीसँगै २० करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । फाइनलमा पराजित हुने टोलीको पुरस्कार राशिमा भने कुनै वृद्धि भएको छैन । गत वर्ष यो रकम १२.५ करोड थियो, जसलाई यथावत् राखिएको छ ।
लिगमा कोलकाता १४ खेलमा नौमा जित र तीनमा हारसहित २० अंकका साथ शीर्ष स्थानमा थियो । हैदराबाद १४ खेलमा आठमा जित र पाँचमा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रहेको थियो । कोलकाताले पहिलो क्वालिफायरमा हैदराबादलाई हराउँदै फाइनलमा पुगेको थियो । हैदराबादले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
सुनिललाई तेस्रोपटक ‘मोष्ट भ्यालुएबल प्लेयर अवार्ड’
कोलकाता नाइट राइडर्सका स्पिन अलराउण्डर सुनिल नारायणले आइपिल २०२४ मा मोष्ट भ्यालुएबल (सर्वोत्कृष्ट) खेलाडीको अवार्ड जित्नुभएको छ । कोलकातालाई तेस्रोपटक च्याम्पियन बनाउन सुनिलले सानदार अलराउण्ड प्रदर्शन गर्नुभएको थियो । सुनिलले यस सिजनको आइपिएलमा १७ विकेट लिनुका साथै ४८८ रन बनाउनुभयो । नारायणले यसअघि २०१२ र २०१८ मा मोष्ट भ्यालुएबल प्लेयरको अवार्ड जित्नुभएको थियो । रोयल च्यालेन्जर्स बेंगलुरुका विराट कोहलीले ७४१ रन बनाउँदै ओरेन्ज क्याप जित्नुभयो । त्यस्तै, पञ्जाब किंग्सका हर्षल पटेलले २४ विकेटका साथ पर्पल क्याप जित्नुभयो । सनराइजर्स हैदराबादले फेयर प्ले अवार्ड जितेको छ । त्यस्तै, हैदराबादका नितेशकुमार रेड्डीले इमर्जिङ प्लेयर अवार्ड उपाधि जित्नुभयो ।
कसले कुन अवार्ड पाए ?
ओरेन्ज क्याप (सर्वाधिक रन)- विराट कोहली
पर्पल क्याप (सर्वाधिक विकेट)- हर्षल पटेल
मोष्ट भ्यालुएबल प्लेयर अफ द सिजन- सुनिल नरेन
सर्वाधिक चौका- ट्राभिस हेड
सर्वाधिक छक्का- अभिषेक शर्मा
इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट- नितिश रेड्डी
उत्कृष्ट स्ट्राइक रेट- जेक फ्रेजर-म्याकगुर्क
क्याच अफ द सिजन- रमनदीप सिंह
फेयर प्ले अवार्ड- सनराइजर्स हैदराबाद
पिच र ग्राउन्ड अवार्ड्स- हैदराबाद
प्लेयर अफ द फाइनल- मिचेल स्टार्क ।
एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच