काठमाडौं । बागमती प्रदेशका रात्रिकालीन व्यवसायी पाँच प्रतिशत मनोरञ्जन करविरुद्ध उत्रिएका छन् । आइतबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेललाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले पाँच प्रतिशत मनोरञ्जन कर तिर्दा व्यवसायीलाई भार पर्ने भएकाले रोजगारीमा संकट आई व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने बताएका छन् । व्यवसायीले आर्थिक ऐन २०८० को दफा ५ बमोजिम अनुसूची ३ मा रात्रिकालीन व्यवसायलगायतमा पाँच प्रतिशत मनोरञ्जन कर तोकेकोमा मुख्यमन्त्री जम्मरकट्टेललाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
व्यवसायीहरूले सभामुख भुवन पाठक, अर्थमन्त्री, पर्यटनमन्त्री, कानुनमन्त्री, मुख्य सचिवलगायतका विभिन्न निकायका सचिवलाई समेत ज्ञापनपत्र बुझाएका छन् । प्रदेशसभाबाट आर्थिक ऐन जारी गर्दा विद्यमान कानुनी व्यवस्था र व्यवसायीलाई मध्यनजर गरी आर्थिक भार नपर्ने तथा निरूत्साहित नहुने गरी कानुन बनाइनुपर्ने उनीहरूको माग छ । प्रदेश सरकारको पाँच प्रतिशत कर तिर्न नसक्ने हुँदा मनोरञ्जन कर वार्षिक १५ सय र दुई हजार रुपैयाँ तिर्नेगरी कानुन संशोधन गरिनुपर्ने व्यवसायीले बताएका छन् ।
रात्रिकालीन व्यवसायकै कारण २० हजार बढीले रोजगार पाएको बताइएको छ । विगतमा व्यवसायीले मनोरञ्जन करबापत क्लबले दुई हजार र डान्सबार, दोहोरीलगायतका अन्य व्यवसायले १५ सय रुपैयाँ तिर्दै आएका थिए । ठमेल पर्यटन परिषद्का अध्यक्ष भवी शर्माको नेतृत्वमा परिषद्का उपाध्यक्ष सहदेव धमला, नेपाल रात्रिकालीन व्यवसायी संघका अध्यक्ष रूपेश गुरुङ, नेपाल क्लब तथा डिस्को संघका अध्यक्ष राजु दनाई, उपाध्यक्ष भुपेन कुँवर, महासचिव आयुश ठकुरी र नेपाल लोकदोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठलगायतले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच