ठूला सहरमा स्वतन्त्र उम्मेदवार अघि बढेकाेमा कांग्रेस प्रवक्ता भन्नुहुन्छ : अपवादलाई लिएर पार्टीहरू असफल भए भन्न मिल्दैन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले देशका केही ठूला सहरमा स्वतन्त्र उम्मेदवार अघि बढेको कुरालाई लिएर पार्टीहरू असफल भए भन्ने निस्कर्ष निकाल्न नसकिने बताउनु भएको छ ।

‘केही अपवाद जहिले पनि हुन्छ निर्वाचनमा । यतिधेरै स्थानीय तहहरु छन् । केही अपवादलाई लिएर पार्टीहरु असफल भए, नेपाली कांग्रेस असफल भयो भन्ने निस्कर्षमा पुग्न सकिदैन,’ सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता महतले भन्नुभयो ।

अपवाद काठमाडौं महानगरपालिकामा पनि देखिएको उहाँले जनाउनु भयाे । काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साह नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारभन्दा निकै अगाडी रहनु भएको छ ।

धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार विजयी बनिसक्नुभयाे । धनगढी उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार विजयी बन्नुभएकाे छ । जनकपुर उपमहानगरपालिकामा पार्टीका उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार निकै अगाडि छन् ।

‘के काराणले दलहरुसीत असन्तुष्ट छन्, खासगरी युवापुस्ता किन असन्तुष्ट छन् । उहाँहरुको भावनाहरु कसरी पार्टीले सम्बोधन गर्नुपर्छ । के कुराले उहाँहरुलाई बिझाइरहेको छ । कांग्रेस गतिशिल पार्टी हो, हामीले अनुभवबाट सिक्छौं । सिक्न र पाठ लिन कांग्रेस कहिल्यै चुक्दैन,’ प्रवक्ता महतले भन्नुभयो ।

स्वतन्त्र उम्मेदवार अघि बढेको कुरालाई नेपाली कांग्रेसले नोटिसमा लिएको उहाँले जनाउनु भयो । कहाँ-कहाँ कमजोरी भए निर्वाचनको सम्पूर्ण परिणाम आएपछि समिक्षा गरिने उहाँले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?