काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले वैकल्पिक गठबन्धन निर्माणको प्रयासलाई तीव्रता दिनुभएको छ । देउवाले बुधबार सत्तारूढ नेकपा एकीकृत समाजवादीसहित विपक्षी दलहरू जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसँग छलफल गर्नुभएको हो । नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूसँग देउवाले आफ्नै निवासमा छलफल गर्नुभएको हो । मुख्य विषय मधेश प्रदेशको सरकारसँग सम्बन्धित भए पनि राष्ट्रिय राजनीतिका अन्य पाटोहरूमा पनि छलफल भएको बताइन्छ । विश्वस्त सूत्रका अनुसार प्रदेशदेखि संघसम्म नयाँ राजनीतिक कोर्स अगाडि बढाउनेबारे छलफलमा सहभागी दलहरूबीच अधिकतम सहमति बनेको छ ।
हाल मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार छ । मुख्यमन्त्री सरोजकुमार यादवलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने बाध्यता छ । मधेश सरकार सहितका अन्य सम्भावित सहकार्यबारे सभापति देउवाले नेताहरूसँग परामर्श गर्नुभएको थियो । ‘सभापतिजीले मुख्यतः मधेश प्रदेश सरकारबारे छलफल गर्न चाहनुभएको हो । मधेशमा दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा रहेको सरकार जोगाउने र सबैभन्दा ठूलो दल नेकपा एमाले नेतृत्वमा सरकार बन्ने वातावरण बन्न नदिने विषयमै छलफल भएको छ’, कांग्रेसका एक नेताले हिमालय टाइम्ससँग भन्नुभयो । संवादको थालनी मात्रै भएकाले परिणामको लागि अझै पर्खनुपर्ने उहाँको भनाइ थियो ।
बैठकमा सहभागी जसपालाई मधेशमा आफ्नो नेतृत्वको सरकार जोगाउनु छ । लोसपा मधेशमा एमाले, माओवादी र जनमतसँगको गठबन्धनमा सहभागी भइसकेको छ भने नेकपा एस केन्द्रमा सत्ता गठबन्धनमा भए पनि मधेशबारे अनिर्णित छ । यस्तो बेला कांग्रेस सभापति देउवाले थाल्नुभएको प्रयत्नलाई अर्थपूर्ण मानिएको छ ।
मधेशमा एमाले सरकार रोक्ने प्रयास
अहिले मधेश प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बनेको सरकार रहेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत गुमाएमा संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेले मुख्यमन्त्री प्राप्त गर्नेछ । यही परिस्थिति टार्न कांग्रेसले रणनीतिक छलफल थालेको हो । सर्वोच्च अदालतको फैसलासँग गण्डकीमा कांग्रेस नेतृत्वको सरकार फर्किएको छ । मधेशमा पनि सरकारको पकड एमालेमा जान नदिन कांग्रेसले लिएको पहलले सार्थकता पाउने सम्भावना देखिन्छ । ‘अहिले सबै कुरा भनिहाल्ने बेला भएको छैन । तर, मधेशमा एमाले नेतृत्वको सरकार बन्न नदिने गरी परिस्थिति बनिरहेको छ’, बैठकमा सहभागी एक प्रभावशाली नेताले बताउनुभयो ।
उहाँले मधेशमा एमाले रोक्ने निश्चित हुनासाथ अन्य प्रदेश सरकार र संघीय गठबन्धनमा पनि धक्का पुग्ने दाबी गर्नुभयो । मधेश प्रदेश सभामा १०७ जना सदस्य छन् । सरकार गठनका लागि ५४ जनाको समर्थन आवश्यक पर्दछ । मधेशमा एमालेका २३, कांग्रेसका २२, जसपाका १६, जनमतका १३, लोसपाका नौ, माओवादीका आठ र एकीकृत समाजवादीका सात सदस्य छन् । बैठकमा सहभागी कांग्रेस, जसपा, लोसपा र एकीकृत समाजवादी मात्रै मिलेमा पनि ५४ जनाको समर्थनमा सरकार बन्न सक्छ ।
माधवको भूमिका निर्णायक
विपक्षी गठबन्धनमा रहेका दलहरू सँगको बैठकमा सत्ता गठबन्धनको मुख्य घटक नेकपा एसका अध्यक्ष माधव नेपाल नै सहभागी हुनु यसै पनि अर्थपूर्ण छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा नेकपा एसका दुई मन्त्री छन् । सुदूरपश्चिम सरकार उसैको नेतृत्वमा छ । यस्तो बेला मधेशमा संघको विपरीत गठबन्धन बनाउने छलफलमा नेपालको उपस्थितिले सम्भावित राजनीतिक उथलपुथलको संकेत गर्छ । देउवा निवासको बैठकमा अध्यक्ष नेपालले मधेश सरकारबारे आफ्नो पार्टीले निर्णय लिन बाँकी नै रहेको र आफूहरू अस्थिरताको विरुद्धमा रहेको बताएका थिए । संघीय गठबन्धनमा पनि सन्तुष्ट नदेखिएका नेपालको पछिल्लो कदमलाई एमाले र माओवादीले कुन रूपमा व्याख्या गर्छन् त्यसैमा नेकपा एसको आगामी कदम भरपर्ने बताइन्छ । ‘अहिले प्रारम्भिक छलफल भएको छ । हामीले लिने निर्णय अस्थिरताको पक्षमा हुँदैन’, नेकपा एसका एक नेताले बताउनुभयो । उहाँले प्रदेश वा संघ जता पनि नेकपा एसका अध्यक्ष नेपालले लिने निर्णय नै निर्णायक हुने दाबी गर्नुभयो । बैठकमा अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध सत्तारूढ दलहरूबाटै षड्यन्त्र भइरहेकाले उपयुक्त समयमा प्रतिवाद गर्ने मनसाय व्यक्त गर्नुभएको थियो ।
नयाँ ढंगले जान्छौँ : उपेन्द्र यादव
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ राजनीतिक परिस्थिति निर्माणका लागि सकारात्मक छलफल भएको बताउनुभएको छ । देउवा निवासको बैठकबाट बाहिरिने क्रममा यादवले मधेश सरकार जोगाउने विषयसँगै राष्ट्रिय राजनीतिका अन्य विषयमा पनि छलफल भएको बताउनुभयो । ‘मधेश सरकार जोगाउन हामी एक ठाउँ उभिन्छौँ । आवश्यकता परे केन्द्रमा पनि नयाँ ढंगले जानेबारे छलफल भएको छ’, यादवले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच