काठमाडौं । सातै प्रदेशका कलाकारलाई पुरस्कृत गरिएको छ । काठमाडौंमा भएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ का अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले विविध विधामा योगदान पुर्याउने सातै प्रदेशका कलाकारलाई पुरस्कार प्रदान गर्नुभएको हो ।
कार्यक्रममा यस वर्षको ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान’ पूर्वकुलपति किरण मानन्धर र श्यामवदन श्रेष्ठलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि एक लाख ५० हजार नगद र सम्मानपत्र रहेको छ । यस्तै, एक लाख राशिको ‘सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार’ सुरेश लवट तुलाधरलाई प्रदान गरिएको छ । तीन दशकदेखि नेपाली ललितकलाका क्षेत्रमा सक्रिय रहँदै आउनुभएका कलालेखक ज्ञानेन्द्र विवशलाई नगद राशि ६० हजारसहित ‘राष्ट्रिय ललितकला लेखन पुरस्कार’ प्रदान गरिएको छ ।
राष्ट्रिय ललितकला पुरस्कार समसामयिकतर्फ कृष्ण लामा (चित्रकला), श्रवणकुमार महर्जन (मूर्तिकला), परम्परागततर्फ महेश्वर डंगोल (चित्रकला), सुमन शाक्य (मूर्तिकला), विनोदकुमार वज्राचार्य (हस्तकला), विजयकुमार दत्त कायस्थ (लोककला), वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत प्रतिस्थापन कलातर्फ टासी सलाका र फोटोग्राफीतर्फ रामगोपाल वैद्य पुरस्कृत हुनुभएको छ । सो पुरस्कारको राशि जनही ६० हजार रुपैयाँ छ ।
प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार सामना राई (कोशी), विगुल ढकाल (मधेस) अनमोलरत्न तुलाधर (बागमती), मीमबहादुर रानामगर (गण्डकी), आकाश बुढामगर (लुम्बिनी), टोपेन्द्र डाँगी (कर्णाली), महेन्द्र पुन (सुदूरपश्चिम)लाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि जनही ५० हजार रुपियाँ छ । यस्तै, सुकृत नेपाल र रेणुका ढकाललाई ललितकला पत्रकारिता पुरस्कार-२०८१ प्रदान गरिएको छ । सो पुरस्कारको राशि जनही ३० हजार रुपैयाँ छ ।
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ मंगलबारबाट सुरु भएको हो । प्रज्ञा-प्रतिष्ठानको नक्सालस्थित ग्यालरीमा सुरु भएको प्रदर्शनीमा ४८२ कलाकारका चित्रकला, मूर्ति, हस्तकलालगायत ५२२ कलाकृति राखिएका छन् । मन्त्री तामाङले उक्त प्रदर्शनीको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला सिर्जनामा परिणाम देखिए पनि गुणात्मक रूपमा अझै परिष्कृत हुन बाँकी रहेको बताउनुभयो । प्रतिष्ठानका उपकुलपति एवं ‘राष्ट्रिय ललितकला प्रदर्शनी-२०८१’ कार्यकारी समितिका संयोजक लालकाजी लामाले प्रतिष्ठानको स्थापनाकालदेखि नै हुँदै आएको यस ‘राष्ट्रिय ललितकला प्रदर्शनी’ को विशेष महत्व रहेको बताउनुभयो । प्रदर्शनी जेठ ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच