‘बसाइसराइ रोक्न शिक्षा, स्वास्थ्य र रोजगारको प्रबन्धन गर्छौं’

हिमालय टाइम्स
Read Time = 9 mins

-रामचन्द्र अधिकारी

पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदी नेकपा एमालेबाट निर्वाचित पालिका अध्यक्ष हुनुहुन्छ । यसअघि स्वास्थ्यकर्मीका रूपमा रहनुभएका उहाँ एकाएक राजनीतिमा आउनुभएको हो । नेपाली कांग्रेसको गढ मानिएको माथागढीमा कांग्रेसबाट उम्मेदवार बन्नुभएका सन्तोष थापालाई हराउँदै चिदी अध्यक्ष बन्नुभएको हो ।  सादा जीवन, उच्च विचार, शालीन एवं भद्र स्वभावका धनी उहाँ यही व्यक्तित्वले यसपटकको निर्वाचनमा विजयी हुनुभयो । आगामी पाँच वर्षमा पालिकाको समृद्धि र विकासका लागि के–कस्ता योजनाहरू छन् भन्ने विषयमा केन्द्रित रहेर नवनिर्वाचित अध्यक्ष यमबहादुर चिदीसँग हिटा पाल्पा संवाददाता रामचन्द्र रायमाझीले गरेको कुराकानी :

तपाईंका योजना र प्राथमिकता के–के हुन् ?

हामी निर्वाचित भएर आएसँगै पालिकाको समृद्धि र विकासका क्षेत्रमा बढी चिन्तित छौँ । पाल्पाको सबैभन्दा बढी मगर समुदाय रहेको र भौगोलिकरूपमा समेत पछाडि रहेको यो पालिकाको विकासमा लागि सक्रिय भएर अगाडि बढेका छौँ । विशेष गरी हामीले यहाँ शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेका छौँ । यहाँ रहेका सामुदायिक विद्यालयलाई स्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गर्नेछौँ । विद्यालयको स्तरोन्नति स–साना कुराबाट हामी सुरु गर्नेछौँ । विद्यालयमा पूर्वाधारको विकास गरिनेछ । अभिभावकविहीन सबै बालबालिकालाई निःशुल्क शिक्षा दिइनेछ । माथागढीवासीलाई स्वस्थ र सुखी बनाउन स्वास्थ्यका सूचकहरू माथि ल्याउने गरी योजना बनाएर कार्यान्वयन गर्नेछौँ । जनतालाई सर्वसुलभरूपमा स्वास्थ्यको पहुँचमा पु¥याउने, स्वास्थ्यचौकी टाढा रहेका सबै स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्ने योजना बनाएका छौँ । कृषि तथा पशुपालनलाई आधुनिकरण, व्यवसायीकरण गर्दै आयआर्जनमा वृद्धि गर्ने, निःशुल्क बिउबिजन वितरण गर्ने, कृषि औजारमा अनुदान दिने, प्राविधिक सहयोगदेखि तालिमको व्यवस्था गर्नेछौँ । नगदेबाली, मौरी, तरकारी, खुर्सानी, दूध, मासु, फलफूल, अण्डालगायतको पकेट क्षेत्र घोषणा गरी उत्पादन बढाउनेछौँ । महिलालाई उद्यमशील बनाउन तालिमदेखि आवश्यक सहयोग प्रदान गर्ने र स्वरोजगार बनाउने, विदेशिएका युवालाई विभिन्न किसिमको तालिममार्फत् स्वदेशमै स्वरोजगार बनाउने योजना हामीसँग छ ।

बसाइसराइ रोक्न योजना के छ ?

हो, पछिल्लो समय बसाइसराइ बढेको छ । अधिकांश मानिसहरू अवसरको खोजीमा शहर पस्ने गरेका छन् । माथागढीमा पनि मानिसहरूको बसाइसराइ हुने गरेको छ । यसलाई रोक्न पालिकाले दीर्घकालीन योजना बनाएर अगाडि बढ्नेछ । मानिसहरू शिक्षादीक्षा, स्वास्थ्य तथा रोजगारका लागि बजार खोज्दै जाने गरेका छन् । गाउँमै गुणस्तरीय शिक्षा, पालिकामै १५ बेडको अस्पताल, प्रत्येक वडामा व्यवस्थित सुत्केरी, ल्याब सेवासहित स्वास्थ्य चौकी, विभिन्न किसिमको तालिमबाट गाउँमै रोजगारी, घर–घर, टोल-टोलमा यातायातको सुविधा प्रदान गर्नेछौँ । गाउँमा उद्यमी बन्न चाहने युवा, महिला, दलित, अल्पसंख्यकलाई आवश्यक सहयोग गर्नेछौँ । कृषि तथा पशु फार्म सञ्चालनका लागि पालिकाबाट आवश्यक ऋण सहयोग प्रदान गर्ने, गाउँको उत्पादन विभिन्न सहकारीमार्फत् बिक्री गराउने र कृषकलाई उत्पादनका आधारमा सहयोग र सहुलियत कर्जा प्रदान गर्ने कार्यक्रम ल्याउनेछौँ ।

स्वास्थ्यमा के–कस्ता योजना तथा कार्यक्रम छन् ?

हो, हामीले स्वास्थ्यलाई पनि प्राथमिकतामा राखेका छौँ । म आफू स्वास्थ्यकर्मी भएकै कारण पनि यहाँ स्वास्थ्य क्षेत्रलाई बढी नै प्राथमिकतामा राखिएको छ । सुविधासम्पन्न अस्पताल होस्, सहजरूपमा स्वास्थ्य सेवा प्राप्त होस् भन्ने आमबुझाइ छ । त्योभन्दा पनि मानिसलाई निरोगी बनाउने, रोगी भइहाले तत्काल गाउँठाउँमै उपचार सेवा पाउने गरी काम गर्नेछु । रोग लागेर निको पार्नुभन्दा रोग लाग्न नदिने गरी प्रवद्र्धनात्मक कार्यलाई पहिलो प्राथमिकता दिनेछु । पोषण, सुरक्षित मातृत्व, खोप सेवालाई प्रभावकारी बनाउने, कुनै पनि बालबालिका कुपोषित हुनबाट रोक्ने, शिशु तथा मातृ मृत्युदरलाई रोक्ने, स्वस्थ जनशक्ति उत्पादन गर्ने, पोषणमैत्री वडा, पोषणमैत्री पालिका घोषणा गर्दै जानेछौँ । गर्भावस्था, सुत्केरी अवस्थासम्मको समयमा ध्यान दिनुपर्ने कुरा, पोषिलो खानपिनका लागि जनचेतनाका साथै पालिकाबाट आवश्यक सहयोगका कार्यक्रमहरू ल्याउनेछौँ ।

पर्यटन क्षेत्रका योजना के छन् ?

माथागढीमा थुप्रै पर्यटकीय क्षेत्रहरू रहेका छन् । ती क्षेत्रहरूको पहिचान गरी पर्यटकीय क्षेत्रको विकासमार्फत् पालिकाको आर्थिक विकास गरिनेछ । यहाँका कौडे लेक, माथागढी र बहादुरपुरलाई मुख्य पर्यटकीय केन्द्र मानेर पर्यटन विकास गर्ने गरी काम गर्नेछौँ ।

घोषणापत्रमा उल्लेख गरेका कुराहरू नीति, कार्यक्रममा समावेश हुन्छन् त ?

घोषणापत्रलाई व्यावहारिकरूपमा कार्यान्वयन गर्न सकिने गरी नेकपा एमाले माथागढीले निर्वाचनको समयमा घोषणापत्र बनाएको थियो । सोही घोषणापत्र लिएर हामी जनताको घरदैलोमा पुगेका हौँ । घोषणापत्रका आधारमा जनताले हामीलाई विश्वास गरेर जिताउनुभयो । घोषणापत्रअनुसार नै आगामी नीति, कार्यक्रम तथा बजेट निर्माण गरेका छौँ । हामीले गर्न सकिने कुरामात्र घोषणापत्रमा राखेका छौँ ।

अन्त्यमा

मलाई माथागढीवासीले मत दिएर पालिकाको नेतृत्व गर्ने अवसर दिनुभएको छ । पक्कै पनि उहाँहरूको मप्रति ठूलो विश्वास छ । म त्यसलाई घट्न दिने छैन । एक्लो प्रयासले मात्रै विकास सम्भव हुँदैन । त्यसैले सबैसँग सहकार्य गरी सामूहिक अवधारणाका आधारमा अगाडि बढ्नेछौँ । हामी जनप्रतिनिधि शासक होइन, सेवक हौँ भन्ने भावनाले काम गर्नेछौँ । हामीले माथागढीलाई नमुना बनाउन सकेमा देशका अन्य पालिकाहरूलाई पनि प्रेरणा हुनेछ । विगतबाट पाठ सिक्दै भविष्यलाई परिणाममुखी बनाउन सबैको साथ र सहयोग प्राप्त हुने नै छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?